सन्ध्यामा ‘पुष्पलालको विचार र दर्शन बारे चर्चा र कविगोष्ठी

२३ असार २०८१

काठमाडौं , असार १ गते शनिबार । साहित्य सन्ध्याकोे अविश्रान्त यात्राको ४५२ औँ शृङ्खलामा ‘पुष्पलालको विचार, दर्शन, व्यवहार र नेपाली राजनीतिमा उनले पुर्याएको योगदान’ विषयमा विशद चर्चासहित विशेष कविगोष्ठीको आयोजना गरी सम्पन्न गरियो ।

सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न उक्त विशेष गोष्ठीमा प्रमुख अतिथि एवम् विषय प्रस्तोताका रूपमा पुष्पलाल जन्मशताब्दी समारोह समितिका संयोजक र राजनीतिक–सामाजिक रूपान्तरण अभियानका अभियन्ता लोककृष्ण भट्टराई उपस्थित हुनुहुन्थ्यो । अतिथिहरूमा मधेसी आयोगकी सदस्य माननीय आभा सेतु सिंह, पुष्पलाल जन्मशताब्दी समारोह समितिका सदस्य-सचिव मुकुन्द आचार्य, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा.फणीन्द्रराज निरौला, चीनका लागि पूर्व ने पाली राजदूत डा.महेश मास्के लगायतको उपस्थिति रहेको थियो ।

‘नेपाली वामपन्थी राजनीतिक आन्दोलनका शिखर पुरुष पुष्पलालको विचार, दर्शन, वयवहार र उनले नेपाली राजनीतिमा योगदान’का बारेमा मा प्रमुख अतिथि लोककृष्ण भट्टराईले विशद चर्चा गर्नुभएको थियो । सादा जीवन, उच्च विचार राख्ने पुष्पलाल दर्शनका हिसाबले द्वन्द्वात्मक दृष्टिकोण राख्ने, अत्यन्त स्पष्ट आर्थिक दृष्टिकोण भएका र बत्तिस ओटा पुस्तक नै लेखेका विशिष्ट विद्वान् हुन् । पुष्पलालले आर्थिक समृद्धिका आधार तथा गर्नुपर्ने कार्यादेशका बारेमा अत्यन्त स्पष्टताका साथ दृष्टिकोण दिएका छन् । वि.सं.२००७ सालमा दिल्लीमा गरिएको धोकापूर्ण सम्झौताले हाम्रो देश र देशवासीको समृद्धि सम्भवै छैन भन्ने विचार सहित चेतना फैलाउने अभियानमा पनि उनी समर्पित भएर लागेका हुन्, भन्नुभयो ।

विशेष समारोहमा सरस्वती चिमौरिया, बैरागी जेठा, डा.राजेन्द्रप्रसाद अधिकारी, डम्बर पहाडी, खेमराज निरौला, दिल पौडेल, लक्ष्मण तिमिल्सिना, गायत्रीकुमार चापागाईँ, गोपाल नेपाल, कुमार नेपाल, नवराज श्रेष्ठ, कणाद महर्षि, रेणु अधिकारी ‘मौनता’, रामकुमार पण्डित क्षेत्री, त्रिलोचन आचार्य, लीलाराज दाहाल, डा.मनोज जोशी र जगन्नाथ आचार्यले आआफ्ना सिर्जना वाचन गर्नुभएको थियो । वरिष्ठ गायक तथा सङ्गीतकार माधव प्रधानले गीत गाउनुभएको थियो । वाचित रचनामाथि डा.कृष्ण सुवेदीले टिप्पणी गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्: