निबन्ध

इडन ब्रिज एकेडेमीमा कथा लेखन कार्यशाला गोष्ठी समापन

२३ असार २०८१

काठमाडौँ, असार १ गते शनिबार । इडन ब्रिज एकेडेमी, धापासी, काठमाडौंले विद्यालयका भाइबहिनीहरूको लागि तीन दिने कथा लेखन कार्यशाला गोष्ठी सञ्चालन गरी एक समारोहको बीच समापन गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण श्रेष्ठको सभाध्यक्षमा सुरू भएको कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. शैलेन्द्रप्रसाद नेपाल र अतिथिहरूमा संसाक मासिकका सम्पादक/प्रकाशक उमेश पाण्डे, साहित्यकार तारा के.सी, अभिभावक तथा सामाजिक अभियन्ता चिरञ्जीवी अधिकारी, बालसाहित्यकार विजय राज आचार्य लगायत रहनु भएको थियो ।

कथा लेखन कार्यशाला गोष्ठीमा भाग लिएका २४ जना विद्यार्थी भाइबहिनीहरूमध्ये करुणा राई, रचना बुढा मगर, स्वस्तिका श्रेष्ठ, कृष्ण रे, प्रतीक पौडेल, ईशान राई र रियाज कर्माचार्य लगायत ७ जनाले कथा वाचन गर्नुभएको थियो । त्यसैगरी लेखन कार्यशालामा भाग लिएका मध्ये विनिशा श्रेष्ठ, आरुशी महर्जन, निरुधा निरौला, सक्षम पण्डित र स्वर्णिम के.सी.लगायत ५ जनाले कार्यशालामा भए/गरेका विविध अनुभवहरू सुनाउनुभएको थियो । भाइ रोशन न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा शिक्षिका कल्पना चापागाईंको साथै विद्यार्थीद्वय प्रतिष्ठा पौडेल र एलेक्स राईले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

विद्यार्थी भाइबहिनीहरूले प्रस्तुत गरेका प्रायजसो कथाहरूले घरेलु हिंसा, पढ्न नपाएका विषयवस्तु र संवाद, बाबुआमाले सम्बन्ध बिच्छेद गर्दा सन्तानमा पर्ने मानसिक असर, पारिवारिक द्वन्द, असम्भवलाई सम्भवमा कसरी बदल्ने, सामाजिक कार्यक्रममा बालबालिकालाई कसरी ल्याउने भन्ने जस्ता गहन र कारुणिक विषयहरूलाई उठान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. नेपालले, पहिलो पटक नै यति राम्रा कथा लेख्न सक्ने खुवी भएका विद्यार्थी भाइबहिनीहरूलाई विद्यालय र घर परिवार मिलेर उत्प्रेरणा र हौसला दिने हो भने पक्कै पनि यी बाबुनानीहरू स्थापित कथाकार बन्ने छन् भन्दै हिमाली सौगात र संसाक मासिकमा तिमीहरूका कथाहरूलाई हामी स्थान दिनेछौँ, भन्नुभयो । उहाँले विद्यार्थीहरू कस्तो र के बनाउने भन्ने कुरा बाबुआमाको भन्दा विद्यालय र शिक्षकको हातमा बढी रहन्छ, भन्ने बताउनुभयो ।

कार्यक्रमका सभाध्यक्ष हरिकृष्ण श्रेष्ठले हरेक विद्यालयले आफ्ना विद्यार्थीहरू भाइबहिनीहरूलाई मायालु वातावरण दिएर विना शारीरिक सजाय पढाउनुपर्ने बताउँदै कहीँ कतै विद्यार्थी भाइबहिनीहरूका केही गल्ती, कमी-कमजोरीहरूमा शिक्षकहरूले सामान्य हप्काए वा गाली गरेछन् भने त्यसलाई अर्ती, उपदेश वा शिक्षाको रूपमा लिनुपर्ने बताउनुभयो । उहाँले शिक्षक भनेका आमाबाबु सरह देवताका रूप हुन्, विना गल्ती, कमजोरी कसैलाई पनि हप्काउने वा गाली गर्ने गर्दैनन्, भन्नुभयो ।

विद्यालयका प्राचार्य प्रेम राईले अभिभावकहरूले पनि आफ्ना बच्चाहरूको के मा अभिरुचि छ भन्ने बुझेर त्यसैमा हौसला र प्रेरणा दिनुपर्छ, भन्नुभयो । ‘अभिभावक र विद्यालय मिलेर बच्चाहरूको भविष्य बनाउने हो, बच्चाहरूको रुचि अनुसार हामी अघि बढ्छौँ र उनीहरूको प्रतिभा प्रस्फुटन गर्न हौसला प्रदान गर्छौं’ उहाँले भन्नुभयो, ‘आगामी दिनमा कविता लेखन कार्यशाला गोष्ठी गर्ने कुरा भएको छ, त्यसमा शिक्षक, विद्यार्थी, अभिभावक सबै को सक्रिय सहभागिताको हामी आशा गर्दछौँ ।’

संसाकका सम्पादक उमेश पाण्डेले साहित्यका विविध विषयमा विद्यार्थी र साहित्यकारहरूबीच अन्तरक्रिया र सम्वादका माध्यमबाट विद्यार्थी भाइबहिनीहरूमा साहित्यिक कृति पढ्ने पठन संस्कृतिको विकास गराएर संसाकले साहित्यमा विद्यार्थीहरूको अभिरुचि जगाउदै आएको कुरा बताउनुभयो ।

साहित्यकार तारा के . सी.ले आफूलाई विद्यालयकालदेखि नै रेडियोको बालकार्यक्रम सुनेर कविता लेखनमा मोह जागेको कुरा बताउँदै बाल्यकालको स्मृति सुनाउनुभएको थियो । उहाँले विद्यार्थी भाइबहिनीहरूलाई अग्रजहरूको निरन्तरको हौसला र प्रेरणाले अघि बढ्न सकिने बताउँदै शुभकामनासमेत दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्: