फुन्टिन– यो शब्दले मेरो अतीत सम्झाउँछ । म सानै थिएँ, मेरा बाबा पं.गोविन्दराज शर्माले भारतमा नोकरी गर्नुहुन्थ्यो । उहाँ भारतीय पल्टनको धर्मगुरु हुनुहुन्थ्यो । उहाँ वर्षमा एकपटक दुई महिनाको बिदामा घरमा आउनुहुन्थ्यो । बाबा आउँदा एक, दुई जना भरियालाई भारी बोकाएर ल्याउनुहुन्थ्यो । ती भारी टिनका बाकस र गुन्टा हुन्थे । बाबा घरमा आएपछि घर को वातावरण फेरिन्थ्यो । घरमा रमाइलो हुन्थ्यो । बाबालाई घरमा देखेपछि म खुसी भएर यताउता दगुर्थेँ ।
प्रायः गोधूलिको बेलामा बाबा घरमा आइपुग्नुहुन्थ्यो । बेलुका खाना खाएर सबै आआफ्नो ओछ्यानमा गइन्थ्यो । भोलिपल्ट बिहान बाबाले भरियालाई पारिश्रमिक दिएर बिदा गर्नुहुन्थ्यो । यति बेलासम्म मलाई भरियाले ल्याएका बाकस र गुन्टा खोल्न हतार भइसकेको हुन्थ्यो । म बाबाको छेउमा बसेर ‘बा बाकस खोल्नुहोस्’ भनेर अत्याउँथे । उहाँले मलाई काखमा राखेर कपाल र गाला सुम्सुम्याउनुहुन्थ्यो ।
आमा यताबाट ‘यो मायालाई बाकस फोसल्न महामारी आँतुरी हुन्छ’ भन्दै हाँस्नुहुन्थ्यो । ‘हुन्छ नि’ भन्दै म पनि मुस्काउँथेँ । ती टिनको बाकसमा र गुन्टामा टनाटन सामान कोचिएका हुन्थे । तीमध्ये केही सामान बाबाले आफन्तलाई उपहार भन्नुहुन्थ्यो । धेरै घरकै लागि हुन्थे । हरेक वर्ष दुःखसित बाबाले ओसारेका कपडा, काम्ला, भाडाकुँडा, किताबलगायत थुप्रै मालसामानले मेरो जन्मघर भरिभराउ थियो ।
अचेल मेरो मनमा लाग्छ– बाबाले भारतको कुन कुनाबाट लिएर हिँडेका ती बाकस बेडिङ थिए । कति दिन रेल र मोटरमा गुडे । अनि कति दिन व्यक्तिको ढाडमा बोकिएर बल्ल मेरो जन्मघर आइपुगे होलान् ? मलाई के थाहा ? हरेक वर्ष यसरी यात्रा गर्दा बुबालाई कति गाह्रो भयो होला ? मलाई अहिले अनुमान गर्न पनि भारी भएको छ ।
आमा घरमा हुनुहुन्थ्यो । बाआमाका सन्तान हामी आठ जना जन्मेका थियौँ । हामीलाई नाना, खाना र छानाको लागि बाबाले विदेशमा अनेक दुःख झेल्नुभएको होला । आमाले नेपालमै अनेक कष्टसित हामीलाई शारीरिक बलमात्रै होइन मनोबल दिएर हुर्काउनुभयो । बाबा र आमाको त्याग र तपस्याबाट हामी छ जना सन्तान आआफ्नो कर्म गर्ने भयौँ । दुई जना सानै उमेरमा बिते । आमाले पनि यो संसार बाट
चिर निद्रामा आराम लिनुभयो । बाबा पनि आमा गएपछि डेढ दशकको विधुर जीवन बिताउनुभयो र यो दुनियाँ र हामीलाई छोडेर कहिल्यै नफर्कने गरी जानुभयो ।
बाआमाले त्यो दुःखले जोडेको सम्पत्तिको के हाल भए होला भन्ने कुराको यादले मलाई बेलाबेलामा घच्घच्याइरहन्छ । एक दिन भाइले मेरो गोत्र परिवर्तन भएको घर र त्यहाँ वरिपरिको जमिनको फोटो सञ्जालमा राखेको थियो । त्यहाँ अचेल कोही छैनन् । त्यति मायाँसित सिहारेको त्यो आवासको दुरावस्था देखेर मेरो मन भक्कानियो । मै ले त्यो घर को स्याहार – सम्भार गरेकी हुँ । ती फुन्टिन जोगाएर राखेकी हुँ । मलाई त्यो निवासको छानामुनि बिताएका दिनको सम्झना आइरह्यो । छोरीलाई जन्मघर र कर्मघर दुवैतिरको मायाँ लाग्छ । जन्मघरमा भूतकाल बढी जोडिन्छ, कर्मघर मा आफ्नो भविष्य बढी जोडिएको छ । आफू कर्मघरको कुलमा आमा बन्ने हो । माइतमा आमाबाबा हुन्छन्, आफ्नो रगत हुन्छ । हामी महिला दुवैतिरका गौरवमा गर्व गर्छौं ।
त्यो निवासले त्यस भेककै ऐतिहासिक गौरव बोकेको छ भनेको मैले सुनेकीछु । शिक्षाको केन्द्र थियो त्यो भवन । मेरा हजुरबाले जग राखेका घरमध्येमा अब त्यही मात्रै घर छ भन्ने पनि मैले थाहा पाएकी
छु । मेरो मस्तिष्कले अतीतका पाना पल्टायो । बाआमा, प्यारी बहिनी प्रिया अनि बाले ओसारेका फुन्टिन लगायत अन्य सामानको पनि सम्झना आएर मेरो मनलाई थाम्न गाह्रो भएको थियो । मैले आएका आँसु रोकिनँ । झर्न दिएँ । भक्कानिएँ । म अब फुन्टिनतिरे आउँछु ।
बा एकपटक बिदामा घरमा आउँदा यस्तै सामान निकाल्ने क्रममा थुप्रै फुन्टिन (मसी भरेर लेख्ने कलम) निकाल्नुभयो । ती सबै फुन्टिन लामा र मोटा अनि माटे रङ्का थिए । म छक्क परेँ । मैले बासित प्रश्न गरें – यति धेरै कलम के गर्ने हो र बा ?
उहाँले हाँस्तै भन्नुभयो – हेर छोरी ! यी कलम एकजनालाई मात्रै कहाँ हो त नि ? केही यहीँ राख्ने हो । तिमीहरूलाई चाहिन्छन् । बाँकी यहाँका बालबालिकालाई बाँडिदिने हो । हाम्रो घर यसरी नै कलम र अक्षर बाँड्ने घर हो । हाम्रा पालामा हामीले यस्ता कलम देखेनौं । काठको फलेकमा रातो माटो पिसेर राखिन्थ्यो । बाँसको कलम बनाएर अक्षर लेख्न सिकिन्थ्यो । सिकाइन्थ्यो । अहिले फुन्टिनले ले ख्ने जमाना आए । सन्तानहरू स्कूल जाने भए । त्यसैले यति धेरै फुन्टिन ल्याएको, कुरा बुझ्यौ ?
यी कुरा पुराना भए । हाम्रा अग्रज पुस्ताले आफ्नो बाल्यकालमा फुन्टिन देखेनन् । उनीहरूले धुलौटे पाटीमा अक्षर चिनेर आफूलाई अघि बढाए । समाजमा गण्यमान्य भएर स्थापित भए । मैले बाले भारीमा ल्याएको कलमले लेखेर कापीमै अक्षर चिनेँ । मलाई धुलौटो र खरी पनि थाहा छ । मेरो कर्मघरमा ससुराले पिँढीमा बसेर केटाकेटीहरूलाई अक्षर चिनाउनुहुन्थ्यो । त्यसका लागि मैले लेख्ने पाटी त्यसमाथि राख्ने मसिनो माटो र गैरापानीबाट खरी ल्याएर तयार पारि दिने गर्थें । उहाँले भन्ने गर्नुहुन्थ्यो – ‘हेर दुलही साइँली ! मैले बाँसको सुप्लामा यस्तै माटो राखेर अक्षर चिनेको हुँ । अहिले खरीले लेख्न पाइयो ।’
मेरा बाबा पं.गोविन्दराज शर्मा उपाध्याय र ससुरा पं.हरिदत्त शर्मा उपाध्यायका कुरा सुन्दा मलाई हाम्रो पुस्ता त भाग्यमानी रहेछ जस्तो लाग्थ्यो । भाग्यमानी हौँ पनि । हामीले पुरानो युगका कुरा धेरै सुन्यौँ । थोरै भोग्यौं । अहिले कुरा सुन्दा कथा जस्तै लाग्ने जमाना हाम्रा अग्रज पुस्ताले भोगेर जानुभयो । यहाँ त मैले फुन्टिनको प्रसङ्ग ल्याएकी छु । यस्ता थुप्रै भोगाइ छन् । जुन हाम्रा अग्रजले बेहोरेर जानुभयो ।
अहिले फुन्टिनको युग पनि पुरानो भइसक्यो, जुन हाम्रो पालाको अब्बल वस्तु थियो । मैले नै समयसित अघि बढ्दै जाँदा फुन्टिनलाई छोडे र चाइनिज फुन्टिनले विद्यालयका गृहकार्यलगायत अन्य काम गरेकी छु । त्यो चाइनिज फुन्टिन मसी भर्न बाले ल्याएका फुन्टिनभन्दा सजिलो हुन्छ । त्यसपछि डट्पेन आए । तिनमा मसी भर्न नपर्ने । मसी सकिएपछि मसी भएको सुइरो किने पुग्ने । तिनले लेख्न झन् सहज झैँ गराए । हाम्रा पुर्खाले अक्षर चिनेका पाटी, हामीले अक्षर चिनेका कलमको महत्त्व त आफ्नै ठाउँमा छँदै छ । समय नै बलवान् रहेछ । यसैले व्यक्तिलाई रिंगाएको छ । अहिलेको समयमा कम्प्युटर, ल्यापटप, ट्याप्लेट, मोबाइल आदिको बजार र उपयोग व्यापक देखिन्छ । मैले पनि मेरो माइतीघरमा बाले ल्याएका फुन्टिनको कहानी लेख्न बस्ता ल्यापटपमा औँला घुमाएँ ।
प्रतिक्रिया दिनुहोस्: