संसाक मासिकका सम्पादक उमेश पाण्डे दाइ प्रायः संसाकका कार्यक्रमहरूमा नयाँ किसिमको प्रयोग गर्न रूचाउँनुहुन्छ । कहिले साहित्यलाई खेलसँग जोडेर , कहिले साहित्यलाई कला, संस्कृतिसँग जोडेर, कहिले साहित्यलाई भ्रमण र अवलोकनसँग जोडेर ।
काठमाडौँको उत्तरी भेगमा उमेश दाइको आफ्नै पहिचान छ । संसाकको आफ्नै इतिहास छ । संसाकसँग आबद्ध भएर यस्ता कार्यक्रमहरूको आयोजना गर्न पाउँदा खुशीको अनुभूति हुन्छ र सिर्जनशील हुन मन लाग्छ ।
संसाकमा आबद्ध विद्धान् व्यक्तित्वहरू डा.सत्यराज थपलिया, डा.शैलेन्दुप्रकाश नेपाल, डा.दामोदर पुडासैनी, संस्कृतविद्/साहित्यकार रत्नप्रसाद अनामणि श्रेष्ठ, साहित्यकार भवानी मैयाँ पन्त र म लगाएत हामी सबैले उमेश दाइको नेतृत्वमा साथ
र समर्थन गरिरहेका छौँ ।
भाषा, साहित्य, कला पक्षमा निरन्तर अगाडि बढिरहेको छ संसाक । ‘नयाँलाई स्थान र प्रोत्साहन : अग्रजलाई आदर र सम्मान’ भन्ने नाराका साथ हरेक वर्ष संसाकको वार्षिकउत्सवमा विभिन्न विधामा कलम चलाउने सर्जकहरूलाई सम्मान गर्दै आएको छ । यसबाट नेपालका विभिन्न जिल्लाबाट साधनारत स्रष्टाहरू सम्मानित हुनुभएको छ । यो गौरवको कुरा हो ।
यसै वर्षदेखि उमेश दाइको परिकल्पनामा संसाकले विभिन्न विद्यालयमा अध्यनरत विद्यार्थीसँग सर्जकलाई प्रत्यक्ष भेटघाट गराएर उनीहरूलाई साहित्यमा रुचि जगाउँदै, उनीहरूको साहित्यिक जिज्ञासा मेट्ने कामको सुरूवाट गरेको छ ।
यसै अनुरूप २०८० फागुन महिनामा ‘इडन ब्रिज एकेडमी, धापासीका विद्यार्थी भाइबहिनीहरूसँग साक्षतत्कार हुनुभएको थियो डा.शैलेन्दुप्रकाश नेपाल सर । उहाँले विद्यार्थी भाइबहिनीहरूको साहित्यप्रतिको जिज्ञासा मेटाउनु भएको थियो । आफूले पाठ्यपुस्तकमा पढ्दै आएका लेखकसँग यसरी प्रत्यक्ष भेटेर साहित्यिक बहस गर्न पाउँदा उनीहरू धेरै हौसिएको पाएँ मैले ।
जेठ महिनाको अन्तरक्रिया कार्यक्रममा हामी जोडिएका थियौं, प्यारामउण्ट एकेडेमी, गोंगबुका विद्यार्थी भाइबहिनीहरूसित कवि/नियात्राकार डा.दामोदर पुडासैनी दाइ र म । डा.दामोदर पुडासैनी दाइले बडो रोचकसाथ साहित्यका विभिन्न विधामा विद्यार्थी भाइबहिनीले राखेका सवालको जवाफ दिनुभएको थियो ।
पढाइको अलावा हरेक बच्चाहरूमा केही न केही प्रतिभा लुकिरहेको हुन्छ । यसलाई कसैले बाहिर ल्याउँछन् भने कसैले मनभित्रै दबाएर राख्छन् । केही नयाँ गरौँ भन्ने हुट्हुटी र जिज्ञासा हरेक बालबालिकामा हुने गर्छ । कसैलाई खेलकुदप्रति, कसैलाई लेखनप्रति, कसैलाई नृत्य र गायनप्रति, कसैलाई भ्रमण र चित्रकारिताप्रति, कसैलाई पाककलाप्रति केही न केही रूचि त अवश्य हुन्छ ।
मैले यति बेला मेरो बाल्यकालको स्मरण गरें । मलाई पढाइको अलवा कविता/कथा लेख्न अनि चित्र बनाउन, गाउन रुचि थियो । अरू दुई कुरालाई मैले निरन्तरता दिन सकिन बीचैमा हरायो । साहित्यलाई भने आजसम्म निरन्तरता दिइरहेकी छु ।
२०८१ जेठ २८ गते बूढानिलकण्ठ–४, रूद्रेश्वरचोक बुद्धकोलनीमा रहेको विद्यालय प्राङ्गणमा पुग्दा दिउँसोको १ बजेको थियो । ग्रुपमा हाम्रो साहित्यिक टोली थियो– डा.दामोदर पुडासैनी, डा.शैलेन्दुप्रकाश नेपाल, बालसाहित्यकार गङ्गा कर्माचार्य पौडेल, साहित्यकार उमेश पाण्डे र म ।
हरियाली वातावरणमा १४ रोपनी क्षेत्रफलमा फैलिएको रहेछ विद्यालय । विद्यालयलाई यति सुन्दर / वातावरण मैत्री र हरियाली बनाउनुमा विद्यार्थीहरूको ठुलो योगदान रहेको कुरा विद्यालयका कोअर्डिनेटर विकास खड्का सरले बताउनु भयो । ‘प्रत्येक विद्यार्थीले आफ्नो जन्मदिनमा एउटा बिरुवा ल्याएर रोप्नुपर्ने नियम छ विद्यालयको’ उहाँले भन्नुभयो ।
विद्यालयमा हामीलाई विद्यालयकी प्रिन्सिपल शर्मिला के.सी. कुँवर र निर्मला मिसले विद्यार्थी भाइबहिनीहरूसित भेटघाट र कार्यक्रमको सहजिकरणको व्यवस्था मिलाउनु भएको थियो ।
विद्यार्थीहरूले साहित्यका विविध विषय र सन्दर्भमा अग्रज विद्वानहरू समक्ष आआफ्ना प्रश्न र जिज्ञासाहरू राखेका थिए । जिज्ञासा राख्ने विद्यार्थीहरूमा, आर्नव नेपाल, कक्षा–८, अपर्णा दाहाल, कक्षा–८, अश्रीता राई, कक्षा–१०, बिहानी गुरूङ, कक्षा–१०, दक्षिणा अधिकारी, कक्षा–९, आकृति राना मगर, कक्षा–१० मा अध्यनरत विद्यार्थीहरू थिए ।
प्रत्येक विद्यालयले नेपाली भाषा, साहित्यको विकासको निम्ति पठन संस्कृतिमा लाग्न र साहित्य पढ्न विद्यार्थीहरूलाई प्रेरित गर्नुपर्दछ ।
‘आफुले सिकेका ज्ञानलाई जीवनमा प्रयोग गर्न सकियो भने जीवन सफल र समृद्ध बन्छ भन्दै आफूसँग भएका प्रतिभाहरूलाई अरूसामु प्रस्फुटन गर्दै जानुपर्छ । जीवन भनेकै सिक्ने कला हो , भन्दै विद्यार्थीसामु आफ्नो विचार राख्नुभएको थियो , डा.दामोदर पुडासैनी सरले ।
पढ्नको लागि पढ्नुमात्र भने को जागिर खान सर्टिफिकेट लिनको लागि मात्र हो । पढाइको साथसाथै अरू विधा कला, साहित्य, खेलकुदमा रुचि राख्नु भनेको नाम र दाम दुवै कमाउनु हो । विश्वमा चर्चित व्यक्तिहरूको उदाहरण दिँदै पढाइ र प्रतिभा दुवैलाई साथसाथै लिएर जाने सल्लाह दिनुभयो , डा.शैलेन्दुप्रकाश नेपाल सर ले ।
अहिले धेरै विद्यार्थीहरू टी.भी. र मोबाइलमा झुम्मिन्छन् । फुर्सदको समय साहित्य लेखनमा लगाउने हो भने भोलि राम्रो साहित्यकार बन्न सकिने कुरा बताउनु भयो, साहित्यकार गङ्गा कर्मचार्य पौडेल म्यामले ।
हामी शिक्षकले विद्यार्थीहरूलाई कसरी बोल्ने ? कसरी दिइएको विषयमा आफ्ना तर्कहरू राख्ने । कुनै विषयमा वर्णन कसरी गर्ने जस्ता कुराहरूमा पनि जानकारी दिनुपर्छ भन्नुहुँदै आफ्ना तर्कहरू राख्नुभएको थियो, उमेश पाण्डे सरले ।
वास्तवमा यो कार्यक्रमले विद्यार्थीहरूलाई थप उर्जा र हौसला बढाएको महसुस गरें मैले ।
प्रतिक्रिया दिनुहोस्: