– गङ्गा कर्माचार्य पौडेल
गङ्गा कर्माचार्य पौडेल नेपाली भाषा साहित्यमा स्थापित साहित्यकार हुन् । साहित्यको गद्यपद्य दुवै विधामा कलम चलाउने उनको जन्म विसं. २०११ साल भदौ २० गते स्याङ्जा जिल्लाको दहथुम दार्सिङ् गाविस अहिलेको भिर्कोट नगरपालिका वडा नं १ मा भएको थियो । पिता पूर्णलाल कर्माचार्य माता कृष्णा देवी कर्माचार्य की सुपुत्री उनले पृथ्वीनायण कलेज पो खराबाट राजनीति शाश्त्रमा स्नातक उत्तीर्ण गरेकी छन् । हाल काठमाडौं बूढानिलकण्ठ नगरपालिका वडा नं १० शिवपुरी चोकमा अवस्थित आफ्नै निवासमा बसोबास गदै आएकी छन् ।
स्कूल जीवनदेखि नै साहित्यमा रुचि राख्ने गङ्गा कर्माचार्य पौडेलको विवेक शीर्षकमा पहिलो रचना २०३२ सालमा साप्ताहिक देशान्तरमा प्रकाशित भएको थियो ।
त्यसपछि २०३३ सालमा गङ्गाका केही छालहरू कविता कृति प्रकाशित भएपश्चात् हालसम्म बालसाहित्यका २६ ओटा, किशोर साहित्यका ३ ओटा प्रौढ साहित्यका ७ ओटा गरि जम्मा ३६ थान कृतिहरू प्रकाशित भइसकेका छन् । गङ्गा कर्माचार्य पौडेल बाल, किशोर , प्रौढ सबै खाले उमेरका पाठकका लागि रचना गर्न सक्ने क्षमता राख्दछिन् । उनका बाल उपन्यास पञ्चवली र किशोर उपन्यास सरस्वती पुरस्कृत कृतिहरू हुन् ।
विभिन्न २२ ओटा साहित्यक संस्था, केही सामाजिक संघसंंस्था र ३ ओटा साहित्यिक पत्रिकारितामा संलग्न उनको योगदानको कदर गरि नेपाल सरकार बाट गण्डकी प्रतिभा पुरस्कार २०७७, बाल प्रज्ञा पुरस्कार २०८० सहित २० ओटा संस्थाले नगद सहितको पुरस्कारबाट पुरस्कृत गरिसकेकाछन् भने १८ ओटा संस्थाबाट सम्मनित, ८ ओटा पदकबाट विभूषित भइसकेकी छन् ।
उनी आफैले पनि आठ लाखभन्दा बढी रकमको अक्षय कोषको पुरस्कार स्थापना गरेकी छन् । छ ओटा किताबको सोधकार्य भइसकेको र १० ओटा बाल रचना कक्षा २ देखि ७ सम्मको पाठ्यपुस्तकमा समावेश गरिएका छन् । यिनै बहुप्रतिभाशाली, बहुआयामिक व्यक्तित्व वरिष्ठ बालसाहित्यकार गङ्गा कर्माचार्य पौडेलसँग नेशनल ब्लुमिङ फ्लावर एकेडेमी (एनबीएफए), बुढानीलकण्ठ–४, रुद्रेश्वर चोक, काठमाडौँका भाइबहिनीद्वय आर्नव नेपाल (कक्षा: ८) र आकृति राना मगर (कक्षा: १०) ले साहित्यका विविध विषय, पाटा र प्रसङ्गहरूमा गरेका कुराकानीका सारसङ्क्षेप यहाँ प्रस्तुत गरिएको छ:
आर्नव: तपाईको कृतिहरूका प्रमुख विषयहरू के के हुन ?
गङ्गा: म नेपाली भाषासाहित्यको गद्य, पद्य दुवै विधामा कलम चलाउँछु । कथा, लघुकथा, नियात्रा, निबन्ध, उपन्यास, कविता, मुक्तक, गजल लेख्छु । यसमा प्रमुख विषय समसमायिक नै हुने गर्दछन् । वर्तमान समयमा समाजमा कस्तो घटना घटिरहेको छ । न्याय, अन्याय, विकृति, विसङ्गती पो बढिरहेको छ कि ? आफूलाई कुन घटनाले बढी छुन्छ, आफ्नो रचनामार्फत त्यस्ता कुराहरूलाई बाहिर ल्याउने गर्दछु । विषय छनौट घटनाको प्रकृति हेरी एउटै नभइ फरक फरक हुने गर्दछ ।
आर्नव: तपाई नेपाली भाषा, साहित्यको भविष्य कस्तो देख्नुहुन्छ ?
गङ्गा: म नेपाली भाषा, साहित्यको भविष्य उज्ज्वल देख्दछु । किनभने यसमा युवा पुस्ताको रुचि लोभलाग्दो गरी बढिरहेको छ र उनीहरूबाट सिर्जना गरिएका नयाँ नयाँ कृतिहरू दिनहुँ विमोचन भइरहेका छन् । अध्ययनशील युवाहरूका पुस्तक अँग्रेजीमा अनुवाद पनि हुने गरेकाले विस्तारै विदेशी बजारमा पनि स्थान पाउन थालेका छन् । त्यसकारण नेपाली भाषा, साहित्य सम्बन्धी गतिविधिहरू पनि बढि नै रहेका छन् ।
आर्नव: साहित्य सिर्जनाका लागि हाम्रो भाषा कस्तो हुनुपर्दछ ?
गङ्गा: साहित्य सिर्जनाका लागि भाषा सरल र शुद्ध हुनुपर्दछ भन्ने मलाई लाग्दछ । अप्ठ्यारा शब्द र क्लिष्ट भाषामा लेखिएका रचना पाठकलाई बुझ्न गाह्रो पर्दछ । किताब पढ्न थाल्यो कि शब्दकोष पल्टाएर हेर्नपर्यो भने पाठकलाई झन्झट लाग्न सक्छ र त्यो कृति नपढी त्यसै राखिदिन्छन् । त्यसैले भाषा शुद्ध, सरल सबैले बुझ्नसक्ने हुनुपर्दछ ।
आर्नव: लेखनको लागि प्रेरणाको स्रोत के हुनसक्छ ?
गङ्गा: लेखनका लागि सबै सर्जकको निम्ति एउटै प्रेरणा हुन्छ भन्ने छैन । कसैलाई अरूका रचना हुनसक्छ । कसैलाई समाजमा देखेका घटना हुनसक्छ । कसैलाई अग्रज व्यक्तित्व पनि हुनसक्छ । मेरो प्रेरणाको स्रोत भन्नुपर्दा कक्षा ६ मा पढ्दै गरेको बेला पाठ्यपुस्तकमा भएका कविशिरोमणी लेखनाथ पौड्यालाले लेख्नु भएको पिँजडाको सुगा शीर्षकको कविता थियो, त्यतिबेला । हाल मैले प्राप्त गरेका पुरस्कार, सम्मानहरू मेरा प्रेरणाका स्रोत बनिरहेका छन् ।
आर्नव: साहित्यमा अलङ्कार भने को के हो ?
गङ्गा: अलङ्कार साहित्यमा नभइ नहुने एउटा शैली अर्थात् श्रृङ्गार हो । जस्तै एउटी नानीलाई कोरीबाटी गरेर गाजल, टीका लगाइदिँदा कति सुन्दर देखिन्छन् । तर टीका निधारमा नलगाइ नाकमा लायो भने, आँखामा लाउने गाजल गालामा पोत्यो भने कुरूप देखिन्छ । त्यस्तै लेख रचनामा शब्द चयन राम्रो भएन भने, वाक्य गठनमा तलमाथि पर्यो भने त्यो रचना राम्रो हुँदैन र पाठकले पढ्दैनन् ।
xxx
आकृति: तपाईंको विचारमा नेपाली साहित्यिको वर्तमान अवस्था कस्तो छ ?
गङ्गा: मेरो विचारमा नेपाली साहित्यको अवस्था राम्रो छ । किनभने आदिकवि भानुभक्तदेखि कविशिरोमणि लेखनाथ पौड्याल हुँदै राष्ट्रकवि माधव घिमिरेसम्म आइपुग्दा नेपाली भाषा साहित्यले ठुलै फड्को मारिसकेको छ । मैले स्कूल पढ्दा पाठ्यपुस्तक बाहेक अरू किताब पाउनै मुस्किल हुन्थ्यो । लेख्ने सर्जक थोरै थिए । त्यसैले किताब पनि थोरै लेखिन्थे तर अहिले थुप्रै जना साहित्यिक सिर्जनामा लागिरहेका छन् । बाल, किशोर, युवा, प्रौढ सबै खाले उमेरका लागि लेखिएका थरिथरिका किताबहरू पाइन्छन् । दिनहुँ जसो नयाँ किताब विमोचन भइरहेका छन् ।
आकृति: तपाईंको विचारमा साहित्यले समाजमा परिवर्तन ल्याउन सक्छ ?
गङ्गा: अवश्य सक्छ । किनभने तरबारको धार भन्दा कलमको धार शक्तिशाली हुन्छ । संसारमा जति पनि ठुला क्रान्तिहरू भएका छन्, त्यसमा साहित्यको ठुलो भुमिका रहेको हुन्छ । नेपालमा पनि २०३६ सालको राजनीतिक परवर्तनमा साहित्यकारको महत्वपूर्ण भूमिका रहेको थियो । त्यसैगरी ०४६ सालको आन्दोलनमा पनि साहित्यकारहरू अग्रस्थानमै थिए । त्यस्तै २०६२/०६३ सालको आन्दोलन भयो ।
आकृति: मलाई कवितामा रुचि छ, स्तरीय कविता रचना गर्न मैले के गर्नु आवश्यक छ ?
गङ्गा: कविता लेख्न चाहनेले सबै भन्दा पहिला अरूका थुप्रै कविता कृतिहरू पढ्नुपर्छ । त्यसपछि यत्तिको कविता त म पनि लेख्नसक्छु भन्ने आँट पलाएर आएपछि कविता लेखनका सिद्धान्त पढेर लेख्ने अभ्यास गर्नुपर्दछ । त्यसको अलावा तपाईंभित्र प्रतिभा पनि हुनु जरुरी छ । तर अरू जेजति भए पनि लेख्ने अभ्यास सबैभन्दा ठुलो कुरा हो । स्तरीय भन्ने कुरा त अध्ययन र अभ्यासमै भर पर्दछ ।
आकृति: छन्द भनेको के हो ? कसरी छन्दबद्ध कविता रचना गर्न सकिन्छ ?
गङ्गा: छन्द भनेको कविताको लय हो । सामान्य त पद्य छन्द भन्नु र लय भन्नु एउटै हो । छन्दबद्ध र मुक्त गरी दुई प्रकार का लय हुन्छ । शास्त्रीय, वर्णमात्रिक, लोकछन्द र बहर आदि बद्ध छन्द हुन् । गद्य कवितामा प्रयोग हुने चाहिँ मुक्त छन्द हुन् । मुक्त छन्दको कविता सजिलै लेख्न सकिन्छ तर शास्त्रीय छन्दमा लेख्नलाई सिद्धान्तको अध्ययन गर्नुपर्ने हुन्छ । त्यसको ज्ञान भएपछि मात्र छन्दबद्ध कविता रचना गर्न सकिन्छ ।
आकृति: नयाँ पुस्ताका लेखकले कसरी आफ्नो पहिचान स्थापित गर्न सक्छन् ?
गङ्गा: नयाँ पुस्ताका लेखकमा मिहिनेत गर्ने बानी हुनुपर्दछ । प्रशस्त अध्ययन र लेखन अभ्यास गर्नुृपर्दछ । त्यसपछि आफूले लेख्ने विषयगत रचना मौलिक हुनुपर्दछ, अनि जहिले पनि रचनामा अरूको भन्दा भिन्न, नयाँपन दिने प्रयास गर्नु पर्दछ । स्वतः पहिचान स्थापित हुँदै जान्छ ।
नारी पीडा, बेदना, देशप्रेमका साथै बालसाहित्यमा लेखिएका प्रा.डा. गार्गी शर्मा, रञ्जुश्री पराजुली, गङ्गा लिगल, गङ्गा पौडेल, मायादेवी शर्मा, कवि तारा के.सी., भवानी मैयाँ पन्त, रेणु अधिकारी मौनता, यशोदा अधिकारी, ज्ञान्दरी कैनी, राधादेवी राजवंशी र गङ्गा खड्काका कथा, कविता, गीत, गजल र मुक्तकका जीवनोपयोगी कृतिहरू खोजेर पढौं ।
प्रतिक्रिया दिनुहोस्: