जीवनमा आउने अप्ठेरासँग डटेर सामना गर्ने हो, निराश भएर भाग्ने होइन ।

२४ असार २०८१

– डा. दामोदर पुडासैनी ‘किशोर’

डा. दामोदर पुडासैनी ‘किशोर’ वरिष्ठ साहित्यकार हुनुहुन्छ । उहाँका कविता, नियात्रा र दर्शन विधाका अठार कृतिहरू प्रकाशित छन् । साझा प्रकाशनबाट प्रकाशित उहाँको नियात्राकृति डोल्पो ! ओ डोल्पो !! ले हालै वर्षभरिमा प्रकाशित कृतिहरूमध्ये सर्वोत्कृष्ट कृति पुरस्कार पाउन सफल भयो । उहाँको सिमानाका रङ्ग: सिमानाका तरङ्गग्रीष्मको नीलो बतास जस्ता पुस्तकहरू मदन पुरस्कार गुठीको सर्वोच्च सूचीमा पर्न सफल कृतिहरू हुन् । त्यसबाहेक उहाँको नमेटिएका चित्रहरू नामक पुस्तकले सन् २०१५ मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अमेरिकाबाट सर्वोत्कृष्ट पुस्तक पुरस्कार पाउन सफल भएको थियो । त्यस बाहेक उत्तम शान्ति पुरस्कार, शंकर लामिछाने निबन्ध पुरस्कार , व्यथित काव्य पुरस्कार जस्ता सयौँ पुरस्कार समेत उहाँका कृतिहरूले पाइसकेका छन् । मन र व्यवहार दुवै खुलस्त र सबैसँग हँसिलो रसिलो व्यवहार गर्ने डा. पुडासैनीलाई २०८१ को जेठ महिनाको प्रचण्ड गर्मीमा नेशनल ब्लुमिङ फ्लावर एकेडेमी, ग्रीन स्कुल बुढानीलकण्ठ, काठमाडौँका कक्षा १० की छात्रा बिहानी गुरुङ र कक्षा ९ कि छात्रा दक्षिणा अधिकारीले आफ्नै विद्यालय परिसरमा साहित्यमा केन्द्रित भएर केही कुराकानी गरे । कुराकानीको सहजिकरण साहित्यकार एवं संसाक मासिकका प्रधान सम्पादक उमेश पाण्डेले गर्नुभएको थियो । उहाँसँग गरिएका कुराकानीका केही अंश यहाँ प्रस्तुत छ:

बिहानी: एउटा महान कवि बन्न के गर्नुपर्दछ ?
उत्तर: कवि त्यो पनि महान कवि बन्न उच्चस्तरका कविता लेख्न जरुरी छ । हरेक पक्षको गहिरो अध्ययन, समाज र संसार लाई मिहिन ढङ्गले बुझ्ने र त्यसलाई अत्यन्त कलात्मक र काव्यात्मक ढङ्गले कविता तयार गर्न सकियो भने त्यो उच्चस्तर को बन्छ । उत्कृष्ट शैली र विषयलाई फरक र सुललित ढङ्गले लेखिएका कविता सबैले रुचाउँछन् । यसरी लेख्न सक्ने कवि नै महान् कहलाउँछन् ।

बिहानी: विद्यार्थीहरूले अन्तर्राष्ट्रिय साहित्य अध्ययन गर्न जरुरी छ ?
उत्तर: संसार राम्रो सँग बुझ्न सक्नेले नै जीवन र जगतलाई राम्रोसँग विश्ले षण गर्न सक्तछ । वर्तमान समयमा विश्व एकै गाउँ (वान भिलेज) को रूपमा रहेको छ । संसारका कुना कुनामा घटेका घटना थाहा पाउने र त्यसबाट शिक्षा लिएर सजगतापूर्वक अघि बढ्न सक्नेहरू नै सफल बन्न सक्तछन् । विद्यार्थीहरूले राष्ट्र मात्र बुझेर पुग्दैन । संसारभर को भूगोल, इतिहास, संस्कृति, विज्ञान, विकास, राजनीति, कला, साहित्य र सङ्गीतलाई सही ढङ्गले अध्ययन गरियो भने मात्र सही दृष्टिकोण बन्दछ । त्यसले सही सिर्जना गर्न पनि सजिलो हुन्छ ।

बिहानी: साहित्यले व्यक्ति र समाजलाई के प्रभाव पार्दछ ?
उत्तर: साहित्यले व्यक्तिलाई अनुशासित, सिर्जनशील र गतिशील बनाउँन मद्दत गर्दछ र समाजलाई सुसंस्कृत बनाउँने बाटो देखाउँछ । साहित्यले व्यक्ति र समाजलाई अँध्यारोबाट उज्यालोतिर अघि बढ्न मार्गप्रशस्त गर्दछ ।

बिहानी: के कस्तो विषयमा साहित्य लेख्नु पर्दछ ?
उत्तर: यो र यस्तै विषयमा मात्र साहित्य लेख्नुपर्छ भन्ने छैन । संसारमा रहेका कतिपय भौतिक विषयहरू र श्वैरकल्पनाका माध्यमबाट संसारमै नभएका विषयहरूमा समेत साहित्य सिर्जना गर्न सकिन्छ । संसारमा जे जति वस्तुहरू छन् ती सबैको आआफ्नै अस्तित्व छ । त्यस्ता प्रत्येक वस्तु र त्यससँग सम्बन्धित घटनाहरूको साहित्य लेख्न सकिन्छ ।

बिहानी: तपाईं ने पालको प्रसिद्ध साहित्यकार हुनुहुन्छ । साहित्यमा लागेर के पाउनुभएको छ ?
उत्तर: साहित्य धेरै हदसम्म व्यापारको विषय होइन । त्यसै भएर साहित्यमा लागेवापत प्रत्यक्ष आर्थिक लाभ हासिल गर्ने ठुलो अभिलाषा राख्नु बेकार हो जस्तो लाग्दछ । साहित्य सिर्जना गर्नु भनेको स्रष्टाले सामाजिक दायित्व पुरा गर्ने प्रयास गर्ने पनि हो । त्यस्तो दायित्व पुरा गरेवापत स्रष्टाले समाजमा पहिचान पाउँछ । मैले पनि यसवापत धेरै मान्छेहरूको माया पाएको छु ।

xxx

दक्षिणा अधिकारी: तपाईंका प्रिय नेपाली साहित्यिक कृतिहरू कुन हुन् र किन?
उत्तर: कुनै पनि एउटै कृति सबै हिसाबले पूर्ण हुँदैन । नेपाली साहित्य भण्डारमा रहेका कथा, कविता, नियात्रा, निबन्ध, उपन्यास जस्ता विधाका धेरै कृतिहरू मलाई मन पर्दछन् । तर, एक दुईवटा कृतिहरू असाध्यै मन पर्ने तर अरु कृतिहरू भने मन नपर्ने भन्ने चाहिँ छैन ।

दक्षिणा अधिकारी: हामी विद्यार्थीहरूले राम्रो साहित्यकार बन्न के गर्नुपर्दछ ?
उत्तर: अध्ययन र सिर्जनशील लेखनमा समर्पणले राम्रो लेखक बन्न सकिन्छ । संसार र संसारमा रहेका प्राणी एवं वनस्पतीको स्वभाव आनीबानी र त्यसलाई सही ढङ्गले परिचालन गर्ने उपाय पत्ता लाग्ने विषयवस्तुको यथार्थ अध्ययन गर्ने र तिनीहरूलाई अझ आकर्षक एवं फलदायी प्रयोग गर्ने नयाँ विचार सहितका कृतिहरू लेख्न सकियो भने राम्रो साहित्यकार बन्न सकिन्छ ।

दक्षिणा अधिकारी: तपाईं झण्डै पाँच दशकदेखि साहित्य लेखनमा लागिरहनु भएको छ । यो क्षेत्रमा लागिरहँदा सधैँ रमाइलो मात्र हुन्छ कि दुःख र पीडा पनि पाइन्छ ?
उत्तर: जीवनमा गरेका कुनै पनि कार्यमा सधैं खुशी मात्र मिल्छ भन्ने छैन । राम्रो र फलदायी कार्य गर्दा कुनै अप्ठेरो आइपर्दछ भने डटेर त्यसको सामना गर्नुपर्दछ, निराश भएर भाग्ने होइन । साहित्य लेखनको यो अवधिमा मैले धेरै भन्दा धेरै माया, खुशी र उपलब्धी नै हात पारेको छु । तर , कहिलेकहीँ दुःख र हण्डर पनि खप्न नपरेको भने होइन ।

दक्षिणा अधिकारी: भविष्यमा नेपाली साहित्यको क्षेत्रमा के कसरी योगदान पुर्याउने सोच्नु भएको छ ?
उत्तर: जीवन रहेसम्म मैले साहित्यिक कृतिहरू लेख्न छोड्ने छैन । बढीभन्दा बढी स्तरीय कृतिहरू अध्ययन गरेर, आफैले स्तरीय नवीन कृतिहरू लेखेर र साहित्य, साहित्यिक वाद, सिद्धान्त र दर्शन बारेमा धेरै भन्दा धेरैलाई सुसूचित गरेर साहित्य क्षेत्रमा थप योगदान पुर्याउने प्रण गरेको छु मैले । दक्षिणा अधिकारी: साहित्य लेखनको सन्दर्भमा हामीजस्ता विद्यार्थीहरूलाई कस्तो सन्देश दिन चाहनुहुन्छ ?
उत्तर: जीवनमा सही ढङ्गले अध्ययन गर्ने, सही काम गर्ने र संसार र प्राणीहरूलाई विगतमाभन्दा उपलब्धीमूलक ढङ्गले अघि बढाउँन मद्दत पुग्ने खालको वातावरण निर्माण गर्नसक्नु महत्वपूर्ण कार्य हो । यसको लागि विद्यार्थीहरूले सही ढङ्गले अध्ययन गर्ने, निरन्तर सिर्जनशील लेख, कथा, कविता लेख्ने, वैज्ञानिक उपलब्धी ग्रहण गर्ने एवं विज्ञानसम्मत ढङ्गले अघि बढ्ने र सधैं जीवन र जगतप्रति आशावादी ढङ्गले क्रियाशील बन्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्: