काठमाडौं, भाद्र १९ गते । पारामाउण्ट एकेडेमी, गोँगबुँले तीज विशेष कार्यक्रम – २०८१ को आयोजना गर्यो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा संविधान सभाका सदस्य जगदीश्वर नरसिंह के.सी.को सभापतित्व र पूर्व मन्त्री तथा संघीय प्रतिनिधि सभाका सदस्य माननीय श्री अर्जुन नरसिंह के.सी.को प्रमुख आतिथ्यमा तीज विशेष विविध कार्यक्रमहरू आयोजना गरिएको थियो ।
कार्यक्रममा आफ्नो भनाइ राख्दै प्रमुख अतिथि माननीय के.सी.ले तीज हाम्रो संस्कृति हो, यसका आफ्ना शिष्टता, मर्यादा र यसका निश्चित उद्देश्यहरू छन्, यो पर्व आफ्ना मनभित्र भएका विचार, भावना, कमीकमजोरीलाई बाहिर ल्याउने अवसर पनि हो, भन्नुहुँदै हामीले आफ्नो धर्म, संस्कार र संस्कृतिलाई बङ्ग्याएर, त्यसलाई दोडेर हाम्रा पूर्वजहरूका इतिहास र परम्परालाई च्यातेर नयाँ नेपाल निर्माण गर्नसक्दैनौँ भन्ने बताउनुभयो । उहाँले यसैसँग भएका हाम्रा धर्म, संस्कार र संस्कृतिहरूलाई, त्यसमा देखिएका विकृतिहरूलाई हटाएर सुसंस्कृत बनाउन सकिन्छ, यो आन्दोलनमा हामी प्रत्येक महिला, युवकहरू हामी सबै लाग्नुपर्ने आवश्यक छ, भन्नुभयो । तीजलाई उपासनाको रूपमा, तपस्याको रूपमा समाज, परिवारको कल्याणको उद्देश्य लिएर आफूभित्र भएका सबै रिस, राग, द्वेष, घृणालाई बिर्सेर सबैलाई समान ढङ्गले हेर्ने चेतनाको विकास गर्ने पर्वको रूपमा लिनुपर्ने प्रमुख अतिथि के.सी.को धारणा थियो ।
कार्यक्रमको अध्यक्षता गरिरहनुभएका संविधान सभाका सदस्य जगदीश्वर नरसिंह के.सी.ले विगतमा तीजलाई हिन्दू नारीहरूको चाडको रूपमा मात्र लिइन्थ्यो तर आज यो पर्व आम नेपाली दिदीबहिनीहरूको साझा पर्वको रूपमा मनाउँन थालिएको छ, भन्नुभयो । अध्यक्ष के.सी.ले यसलाई रमाइलो गर्ने पर्वको रूपमा पनि लिइन्छ र अर्कोतर्फ यो चेलीबेटीहरूले खुशी र विलौना व्यक्त गर्ने अवसर पनि हो, भन्ने बताउनुभयो । उहाँले तीज हाम्रो संस्कार, संस्कृति र परम्परा हो, हाम्रा पूर्वजले सिकाएका यो परम्परा र संस्कारलाई नबिर्सी, नतोडीकन आउँदो पुस्तालाई सिकाउँदै लैजान पनि आग्रह गर्नुभयो । समय अनुसार केही फरक ढङ्गले यसलाई मनाए पनि हाम्रा धर्म, संस्कृति, इतिहास, परम्परालाई हामीले बिर्सन नहुने कुरा के.सी. ले बताउनुभयो ।
प्रिन्सिपल मुकुन्दप्रसाद पाण्डेले विद्यालयको शैक्षिक गतिविधिमाथि प्रकाश पार्दै विद्यालयले संस्कृति र साहित्यको महत्व बुझेर नै विविध सांस्कृतिक कार्यक्रमहरू गर्ने र त्यस अवसरमा एकजना विशिष्ट महिला साहित्य सर्जकलाई सम्मान तथा अभिनन्दन गर्दै आएको बताउनुभयो ।
कार्यक्रमलाई नुवाकोटका नेकाका नेता ध्रुव अधिकारीलगायत शिक्षक तथा अभिभावकहरूले पनि सम्बोधन गर्नुभएको थियो ।
तीज विशेष उक्त सांस्कृतिक कार्यक्रममा विद्यालयका छात्राहरूले एकल तथा सामूहिक गीत, नृत्य तथा सङ्गीतहरू प्रस्तुत गरेका थिए । त्यस अवसरमा अतिथि कलाकारहरूको पनि जोडदार प्रस्तुति रहेको थियो ।
कार्यक्रममा निरन्तर ५० वर्षभन्दा बढी साहित्य सेवामा पुर्याएको योदानको लागि सह-प्राध्यापक प्रभा भट्टराई आचार्य, सामाजिक सेवामा पुर्याएको योगदानको लागि बिमला खत्री र खेलकुदको क्षेत्रमा पुर्याएको योगदानको लागि सुमन तिमल्सिनालाई सम्मान गरिएको थियो ।
त्यस अवसरमा विद्यालयले रनोरञ्जन तथा समग्र सहभागिताको लागि आफ्ना अभिभावकहरूको बीचमा पनि नृत्यको कार्यक्रम राखेर उत्कृष्ट नृत्य प्रदर्शन गर्ने तीनजना अभिभावकहरूलाई पुरस्कृत गरेको थियो । तीन समूहमा गरेर २६ जनाले सहभागिता जनाएको उक्त नृत्यमा गङ्गा आचार्य, जमुना आचार्य, सरला थापा, अनिता धमला, सुष्मा पाण्डे, पारु तामाङ, मिना खड्का र सुनिता गुरुङसमेत ८ जना अन्तिम चरणमा पुगेका थिए । त्यसमा गङ्गा आचार्य, जमुना आचार्य र सरला थापाले उत्कृष्ट नृत्य प्रस्तुत गरी पुरस्कार प्राप्त गर्नुभएको थियो ।
त्यसैगरी महिला अतिथिहरू बिच भएको नृत्यमा इन्दिरा थापा, देवकी खनाल, उमा आचार्य र अप्सरा थापाले उत्कृष्ट नृत्य प्रसतुत गरेकोमा उहाँहरूलाई पुरस्कृत गरिएको थियो।
यी सबै नृत्यको निणर्य शिक्षिका द्वय लक्ष्मी आले मगर र सविना फुयालले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्: