विजयादशमी तथा शुभदीपावलीको हार्दिक मङ्गलमय शुभकामना !

२१ आश्विन २०८१

 

२०८१ सालको विजयादशमी हाम्रो घर-दैलोमा आइसकेको छ । हाम्रो शास्त्रमा आश्विनशुक्ल दशमीको सन्ध्याकालमा केही ताराहरू उदाउन लागेको समयलाई सबै कार्यमा सिद्धि प्रदान गर्ने विजयकाल भनिन्छ । अथवा आश्विनशुक्ल पक्षमा सूर्योदयको समयमा यदि दशमी देखिन्छ भने विद्वानहरूले त्यसलाई विजया भन्दछन् । रामायण अनुसार श्रीरामले रावण मारी लङ्का विजय गरेको दिन भएर आविश्नशुक्ल दशमीलाई विजयादशमी भनिएको हो ।

हामीभित्रको चेतनाको जागरण र विषयको त्याग नै दशैंको मुख्य सन्देश हो । आज हामी विषयको जालमा यसरी अल्झिएका छौँ कि आफूभित्रको चेतना र उर्जालाई सही दिशा दिनैसक्दैनौं । रावणरूपी खराब आचरण र व्यवहारबाट समाजलाई मुक्त गरेर आफूभित्रको चेतना र उर्जाको ज्योति बाल्ने रामरूपी सत् व्यवहारको पर्व हो दशैं । विजयादशमी पर्वले हामीलाई दस महापापबाट बच्ने, बचाउने सन्देश दिएको छ । विजयादशमीले हामीलाई काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, अहंकार, आलस्य, चोरी र हिंसा जस्ता खराब आचरण र व्यवहारबाट बच्ने प्रेरणा र ऊर्जा र दिन्छ । यतिबेला मनोरञ्जन, रामरमिता र हाँसोखुशीका सत्य सन्देशलाई प्रत्येक व्यक्तिमा पुर्‍याउनु पनि यस पर्वको मुख्य लक्ष्य हो ।

यो दशैं, यो चाड, यो उत्सवलाई भनौ विजयादशमीलाई राम-रावणको युद्धको रूपमा मात्र हेरिनुहुन्न । यो पर्वले त खराबमाथि असलको विजय, असत्यमाथि सत्यको विजय जस्ता भित्री रूपमा लुकेका प्रतीकात्मक सन्देश दिएर समाजलाई सकारात्मक दिशा निर्देशित गरिरहेको छ, अर्थात् उज्यालोतिर डोर्‍याइरहेको छ, भन्ने कुरा पनि बुझ्नुपर्छ । विद्वान तथा बलवान् रावणलाई उसको घमण्ड र अहम्ले  उसलाई पतनको बाटोमा लग्यो र आखिर मृत्युको मुखसम्म पुर्‍यायो । हामीले विजयादशमी मनाइरहँदा आफूभित्रको यस्तै खराबी र अहंकारलाई त्याग्ने तत्परता देखाउनुपर्दछ । नत्र त हाम्रो पनि त पतन र विनाशको यात्रा यसैगरी सुरु हुन्छ, भन्ने शोच्नुपर्छ ।

विजयादशमी मनाउने मुख्य कारण नै आफ्नो धर्म, संस्कृति, परम्परा अनुसार सद्व्यवहार गर्नु र आफूभित्र रहेको अहम् र घमण्डको त्याग गर्दै जीवन जिउनु हो । आफ्नो मन, मस्तिष्कका खराब सोच, विचारलाई हटाउँदै विजयादशमी हर्षोल्लासका साथ मनाउँन सबैमा हार्दिक अनुरोध छ ।

विजयादशमी तथा शुभदीपावली २०८१ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ !

प्रतिक्रिया दिनुहोस्: