तिहारको झिलिमिली र यसको महत्त्व

१३ कार्तिक २०८१

काग तिहारबाट सुरु भएर भाइटीकासम्म पाँच दिन मनाइने तिहार हाम्रो घरआँगनमा आइसकेको छ । कार्तिक कृष्ण त्रयोदशीका दिनबाट सुरुहुने तिहार यस वर्ष कात्तिक १४ गतेबाट सुरु भएर १८ गते भाइटीकाका दिन सकिने छ । यतिबेला लक्ष्मीको पूजा गरी घरघरमा दीपावली गर्नु, देउसीभैलो खेल्नु, झिलिमिली बत्ती बालेर रमाइलो गर्नु र भाइलाई टीका लगाउनु यस पर्वका मुख्य रमाइला पक्षहरू हुन् । यमपञ्चकको नामले पनि पुकारिने यस पर्वलाई दीपावली वा बत्तीको पर्व पनि भनिन्छ । यमराजले केही समय आफ्नो कामबाट विश्राम लिएर कात्तिक शुक्ल द्वितीयाका दिनदेखि बहिनी यमुना कहाँ गई पाँच दिन बसेको भन्ने हाम्रा पुराण र धर्मशास्त्रका आधारमा यमपञ्चक अर्थात तिहार मनाउन थालिएको हो भन्ने भनाइ पनि छ ।

तिहारको पहिलो दिन कागको पूजा गरिन्छ । तिहारको दोस्रो दिन कुकुरको पूजा गरिन्छ । तिहारको तेस्रो दिन लक्ष्मीको रूपमा गाईको पूजा हुन्छ । लक्ष्मीपूजाको दिन नेवारी समुदायले आफ्ना शरीरको पूजा अर्थात् म्हःपूजा गर्छन् । यस दिन देउसीभैलो पनि खेलिन्छ । तिहारको चौथो कार्तिकशुक्ल प्रतिपदाको दिनमा गोवद्र्धन पूजा गरिन्छ । यस दिन गोरुको पनि पूजा गरिन्छ । तिहारको अन्तिमदिन भाइटीका हो । यो तिहारको पाँचौं दिनमा पर्दछ । यसरी तिहारका पाँचदिनमा पाँच किसिमका पूजाआजा र विभिन्न उत्सवहरू गरिन्छ ।

कागले सबै प्रकारका सन्देशहरू प्रवाह गर्ने भएकाले यसलाई यमराजको दूतका रूपमा पनि पूजा गरिन्छ । कुकुरलाई इमानदार जनावर मानिन्छ र हाम्रो सुरक्षा गरेबापत कुकुरको पूजा गरिएको हो, भनिन्छ । परापूर्वकालदेखि नै गाईलाई पूजा गरिँदै आइएको छ । सम्पत्ति र सौभाग्यको प्रतीकका रूपमा लक्ष्मीको पूजा गरिन्छ । कृषि व्यवसायमा पुर्‍याएको योगदानको कदरस्वरूप गोरुको पूजा गरिएको हो । दिदीबहिनी र दाजुभाइका बीच प्रेम, सद्भावना र निकट सम्बन्ध स्थापित गर्न तिहार महत्त्वपूणर् दिन हो । यस दिन दिदीबहिनीहरूले यमराज, सूर्य तथा अष्टचिरञ्जीवीको पूजा गरेर त्यसको प्रसाद दाजुभाइलाई लगाइदिने गर्दछन् । भाइतिहारको दिन दियो, कलश र गणेशको पूजा गर्दै यमराजको आह्वान पनि गरिन्छ । दाजुभाइको जीवन बलियो, निरोगी, सुन्दर, दीर्घायु बनाउन यस दिनको पूजामा बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबो, कटुस आदिको प्रयोग गरिन्छ ।

तिहार प्रकृतिको पूजा हो । मानवीय पूजा हो । जनावर, पशुपन्छीको पूजा हो । आपसी प्रेम, सद्भाव र मायाममताको पूजा हो । तिहार हर्ष, उल्लास, मोजमस्ति र रमझमको प्रतीक हो । समग्रमा सुख, शान्ति र आनन्दको पर्व हो, चाड हो ।

शुभदीपावली, नेपाल संवत् (११४५), म्हःपूजा, छठ पर्वको पावन अवसरमा सम्पूणर् नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र शतायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्: