फूलबारीमा फुलिरहेका कविताहरू

१३ कार्तिक २०८१

ब्यङ्ग्य कविताका प्रखर कवि डिल्लीप्रसाद मूलतिहुनको जन्म पिता नरनाथ दाहाल र माता यशोदा दाहालको कोखबाट मोलुङ-५, प्राप्चा दाहाल गाउँ, ओखलढुङ्गामा वि.सं.२०२६ साल भदौ १४ गते भएको हो ।
वि.सं. २०५८ सालबाट लेखन सुरु गर्नुभएको मूलतिहुनको लेखनको खास विधा भने हाँस्यब्यङ्ग्य कविता, मुक्तक र गीत आदि हुन् । उहाँ तिनै विधालाई आज पनि अघि बढाउँदै आउनुभएको छ । कवि डिल्लीप्रसाद मूलतिहुनका हालसम्म ‘विपत्ति गीत तथा कविता सङ्ग्रह- २०६०’, प्राप्चालीको चिनो- २०६३’, ‘विकृतिको थुप्रो- २०६९’ आदि कृतिहरू प्रकाशित भएका छन् ।

कवि मूलतिहुनले २०६४ बाट होटल ह्यायातमा रोजगार पाएपछि २०७० सम्म त्यहाँ काम गर्नुभयो भने त्यसपछि शुभम् नर्सरी धापासी, काठमाडौंमा आफ्नो कामलाई सार्नुभयो । ओशोतपोवन, ह्वाइट गुम्बा, गुरु निवास स्वयंभू, दूरसञ्चार आयोजना कार्यान्वयन विभाग गोङ्गबुँ, चावहिल तथा बबरमहलमा आफ्ना सिप, कला र जाँगरलाई पोख्दै कोभिड-१९ पछि भने उहाँ चाँगुनारायण नगरपालिका वडा नं.३ गेलाल गाउँमा केही जग्गा भाडामा लिएर आफ्नै लगानीमा फूल तथा तरकारी खेतीको काम गरिरहनुभएको छ ।

हालको बसोबास गर्दै आउनुभएको चाँगुनारायण न.पा.वडा नं.३ गेलाल गाउँ भक्तपुरमा फूल खेतीको साथमा तरकारी र तरकारीका बिरुवा उत्पादन र बेचबिखन पनि गर्दै आउनुभएको छ ।

आफ्नो लेखनलाई फूल खेतीबाट कुनै असर नभएको बरु सहयोग पुगेको छ, भन्नुहुने मूलतिहुन आफैले निर्माण गरेको रमणीय वातावरणले अझ सिर्जनात्मक जाँगरको सिर्जना भएको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘फूलका नर्सरी र बिरुवासँगै आफ्ना कविता कति फल्न, फुल्न सकेका छन् त्यो आफैले भन्न नसक्ने तर यहाँ बसेर केही सिर्जना भने गरिरहेकोछु, आशा छ ती सर्जनाहरू अवश्य सुगन्धित भने हुने छन् ।’

भविष्यमा फूल खेती कि कविता ? भन्ने हाम्रो प्रश्नमा कवि मूलतिहुनको जवाफ छ, ‘ भविष्यमा पनि फूल र कविता दुवै सँगसँगै लाने कोसिस रहन्छ, यदि रोज्नैपर्ने अवस्था आएमा कवितालाई अँगालो हाल्न छोडिन्न ।’

एउटा छुट्टै सुन्दर र रमणीय वातावरणमा बसेर फूलको संसारमा रमाइरहनुभएका कवि डिल्लीप्रसाद मूलतिहुन यो महान पर्व तिहारको अवसरमा हार्दिक शुभकामना अर्पण गर्दै भन्नुहुन्छ, ‘सम्पूणर् कवि तथा साहित्यकारहरूमा फूलसँग रमाउने वातावरण सिर्जना होस्, फूल जस्तै सिर्जना उमार्न सफलता मिलोस्, सबैको सफलताले जन्मभूमि नेपाल मग्मगाउन सकोस, मेरो शुभकामना छ ।’

प्रतिक्रिया दिनुहोस्: