कविता

तिहार गीत

१४ कार्तिक २०८१
डा. सत्यराज थपलिया

हिलो, मैलो, वर्ष हट्यो, गर्मी पनि गयो ।
ज्यादा जाडो आ’कै छैन, मौसम सफा भयो ॥
सयपत्री, मखमली, पूmल गोदावरी ।
फुल्नथाले जताततै सुन्दरता छरी ॥ १ ॥

धान पाकी पहेँलपुर धर्ती हराभरा ।
भइन्, फुर्की चिरीबिरी गर्नथाले चरा ॥
घुम्दैफिर्दै पोहोर जस्तै रामरमाइलो ।
गर्नुपर्ने ऐले पनि त्यै तिहार आयो ॥ २ ॥

संस्कृतमा तिथिबार, तिहार नेपालीमा ।
अर्थ्याउँदै वर्षैपिच्छे यही कार्तिकमा ॥
कृष्णपक्ष त्रयोदशी धन्वन्तरिपूजा ।
गर्दै, दिन्छन् कागलाई तेल, टीका, भुजा ॥ ३ ॥

अपामार्ग घुमाउँदै तिलको तेल घसी ।
प्रातस्नान गर्नुपर्ने नरकचतुर्दशी ॥
कुकुरको तिहार हो, गर्दै श्वानपूजा ।
टीका, माला लगाएर दिन्छन् रोटी, भुजा ॥ ४ ॥

कार्तिककृष्ण औंसीमा त सुगन्धित धूप ।
सल्काएर गौमाता नै सम्झी लक्ष्मीरूप ॥
पिंडो दिई रङ्गीचङ्गी छाप, टीका लगाई ।
आज तिम्रो तिहार हो भन्दै पुज्छन् गाई ॥ ५ ॥

त्यसै दिन फूलमालाले घरै सजाएर ।
साँझ गर्दै लक्ष्मीपूजा घन्टी बजाएर ॥
सेल, पुरी, अनरसा, लड्डु, खुवा, खीर ।
नैबेद्य नै चढाउँछन् छैन केही पीर ॥ ६ ॥

जय जय हे लच्छिमी ! अन्यत्र नजाऊ ।
हाम्रै घर ढुकुटीमा स्थिर गर पाउ ॥
भन्दै गर्छन् दीपावली, झिलिमिली बत्ती ।
बाल्छन्, हुन्छ जताततै रमाइलो कत्ति ! ॥ ७ ॥

‘हामी त्यसै आएनौं है बलिराजाले नै ।
पठाएर आएका हौं’ भैलो खेल्न रम्दै ॥
भैलिनी र भैलेहरू पुगी दैलोदैलो ।
भन्छन् ‘औंसीबारो’ साथै ‘गाईतिहारो भैलो’ ॥ ८ ॥

घिन्ताङ् घिन्ताङ् मादलुको घन्काउँदै स्वर ।
नाच्दै, गाउँदै, रमाउँदै पुगी घरघर ॥
रङ्गीचङ्गी बत्ती बल्यो ‘झिलिमिली झिल्का’ ।
भट्ट्याउँदै भैलो भन्छन् ‘तातो रोटी मिल्का’ ॥ ९ ॥

कार्तिकशुक्ल परेवामा गोरु, गोवर्धन ।
पूजा गर्छन् श्रीकृष्णमा लगाएर मन ॥
कोही पासा/तास खेल्छन्, कोही कौडा हान्छन् ।
कोही गाउँदै, बजाउँदै, द्यौसी खेल्न जान्छन् ॥ १० ॥

‘भनभन भाइ हो ! ए देउसीरे भन ।
स्वरमिलाई भन्यौभने दिन्छन् धेरै धन ॥
पैलो रोटी चोसेमोसे देउसेलाई पोसे’ ।
भन्दै नाच्ने देउसेले दिक्दारी नै खोसे ॥ ११ ॥

आकाशमा चमचम चम्किने ती तारा ।
धर्तीतिर दीपावली झिलिमिली सारा ॥
नारीहरू रमाउँदै ‘सररर साइत’ ।
भन्दै पिङ मच्चउँछन् ‘भोलि जाउँला माइत’ ॥ १२ ॥

तिहारको पाँचौंदिन यमद्वितीयामा ।
यमुना र यमको यै कथा सम्झी आमा ॥
मामाघर जानुहुन्थ्यो, कैले मामा आई ।
टीका, माला लगाई जानुहुन्थ्यो खाना खाई ॥ १३ ॥

वर्ष दिनको तिहारमा गर्न टिकोटालो ।
हाम्रा पनि दिदीबैनी आउँछन् बोकी डालो ॥
दही, पानी, तेल्ले छेकी कपालमा तेल ।
हाली टीका, माला लगाई भाग दिन्छन् सेल ॥ १४ ॥

हामी पनि यथाशक्ति वस्त्र आभूषण ।
दिदीबैनीलाई द्रव्य गर्छौं समर्पण ॥
सप्तरङ्गी टीका, माला लगाई खाना खाई ।
रमाउँदै जान्छौं फेरि देउसी खेल्नलाई ॥ १५ ॥

प्रत्यासन्न दीपावली सम्झनामा आई ।
यमपञ्चक/तिहारको मीठो गीत गाई ॥
दाजुभाइ, दिदीबैनी सम्पूणर्मा अझ ।
सुख, शान्ति, समृद्धि होस्, शुभकामना छ ॥ १६ ॥
(सवाई छन्द)

रचना : २०८१ कार्तिक ५ गते ।

प्रतिक्रिया दिनुहोस्: