बालापनको चञ्चलतासँगै बिस्तारै बिदा हुन लागेको शरद् ऋतुले बारीभरि मखमली, गोदाबरी र सयपत्रीको मीठो सौन्दर्यपान गराउँदै तिहारको भव्य स्वागत गर्दथ्यो । नेपालीहरूका महान चाड दशैँले भर्खरै बिदा माग्दै घरआँगनबाट ओझेल परेको आभास हुन नपाइ फेरि तिहारको आगमनले मलाई फुरफुर पार्दै चङ्गाझैँ उडाउँथ्यो अनि मलगायत मेरा साथीहरू दशैँमा दक्षिणास्वरूप पाएका एक, दुई, पाँच र बीस रुपैयाँका नोट मुठ्ठीभरि बोकेर हिँड्थ्यौँ । कसको बढी दक्षिणा भनेर बारीमा लगाएका तीनचारवटा परालका कुन्युका अन्तरमा बस्दै पटकपटक गन्ने काम गर्थ्यौं र देउसीभैलोका दक्षिणा पाउने दिनको तीव्र प्रतिक्षा गर्थ्यौं । दशैँमा दिएको बिदाले एकैपटक तिहार धान्थ्यो । हामी स्वतन्त्र पन्छी जस्ता भएर चाडबाडका मजा लिन्थ्यौँ ।
प्रायः धान सबैतिर काटिसकिएको हुन्थ्यो । फाँटमा परालका मुठाहरू सुकाइएका हुन्थे । हामी बाख्रा चराउन फाँटमा जान्थ्यौँ । धान काटेपछि बाँकी रहेको ठोसामा उम्रेका नाबो खान पाउँदा बाख्राहरू दङ्ग पर्थे । महादेव खोलो बिस्तारै घट्दै जान्थ्यो । आनन्दलाग्दो पानीमा पौडी खेल्दा खुब मजा आउँथ्यो । हामीभन्दा ठूला दाइहरूले खोलामा माछा, गङ्गटा समाउनुहुन्थ्यो । तिनीहरूलाई पोल्नका लागि हामीलाई पराल चोरेर ल्याऊ भन्नुहुन्थ्यो । म साथीहरूका जमातमा सबैभन्दा डरछेरुवा भएकाले पराल चोर्न जान मान्दिनथेँ । त्यही भएर सबैका बाख्रा हेरिदिने भाग सधैँ मलाई पर्थ्यो । कहिले खोलाको छेउमा फलेका पानपातेका पात खाएर मुख रातै बनाउँथ्यौँ । कहिले तिनका पाकेका स्वादिला गेडा खाएर मख्ख पर्थ्यौं।
कहिलेकाहीँ अलि घाम चर्किँदा फाँटमा सुकाएका परालका मुठालाई टाँड पारेर त्यही भित्र छिर्थ्यौं र गर्मी छल्थ्यौँ । प्रायः हाम्रो काम नै बाख्रा चराउने हुन्थ्यो । हामी पाखा र खोलामा भएका रुखमा परालको डोरीको पिङ हाल्थ्यौँ । डोरी राम्रोसँग नबाटिएको भएर कतिपटक पछारिन्थ्यौँ तर दुख्नुभन्दा बढी मजा आउँथ्यो । खेतमा पराल बोक्ने, गहुँ छर्नका लागि खेत खन्ने काम धमाधम हुन्थ्यो । मान्छेको चहलपहल बढी हुने भएर होला, काँचो नरिवल खेतखेतमा डुलाएर आफ्नो व्यापार फस्टाउने एकाध व्यापारी पनि हुन्थे । मलाई काँचो नरिवल असाध्यै मीठो लाग्ने हुनाले दशैंमा टीका लगाएर जम्मा भएका सबै पैसा सक्थेँ ।
बारीमा फलेका अम्बा, केरा, सुन्तला खाँदै हामी आँगनीमा सुकाएको धानको बिस्कुन नजिकै बसेर गट्टा खेल्थ्यौँ । हजुरआमाले गट्टा नखेल, असिना आउँछ भन्नुहुन्थ्यो । म असिना आए लमिनी दिदीले हटाइदिइहाल्नुहुन्छ नि भन्थेँ । अरूहरू मेरा कुरामा हो मा हो मिलाउँथे ।
काग तिहारको दिन कहिले भात पाक्ला र कागलाई भात दिउँला भन्दै म कुरेर बस्थेँ । भात पाकेपछि हजुरआमाले दुनामा भात हालिदिनुहुन्थ्यो । म पर्खालमा भातको दुनो राखेर ‘काग काग’ भनेर कौलासिन्थेँ, काग आउँदै आउँदैनथ्यो । बल्लतल्ल आए पनि भातलाई हेरेर फरक्क फर्किन्थ्यो । कागलाई पूजा गर्नको लागि थालीमा पूजासामान बोकेर उभिएकी म ङिच्च हाँस्थेँ ।
काग तिहारकै दिनमा कुकुर तिहारको लागि माला गाँस्ने फूल टिप्नका लागि डालो र ढ्वाङ बोकेर बारीमा फूल टिप्न जान्थेँ । गाउँभरिका कुकुर गनेर कुकुरको लागि माला गाँस्थेँ । बुबाले अफिसबाट फर्किँदा सधैँ पापा भनेर थिन आरारोट बिस्कुट ल्याइदिनुहुन्थ्यो । त्यो बिस्कुट भाइ र म आधा आधा बाँडेर खान्थ्यौँ । काग तिहारको दिनमा ल्याइदिनुभएको बिस्कुट चाहिँ भोलि कुकुरलाई मीठो खुवाउनुपर्छ भनेर म फुटाउनै दिन्नथेँ । भाइ रुन्थ्यो तर म ज्यानजाला बिस्कुट फोर्दैनथेँ ।
कुकुर तिहारमा घरको झालेमाले कुकुरलगायत गाउँका अरू कुकुरको पनि पूजा गरेर माला लगाइदिन्थेँ ।
मनमा एकप्रकारको आनन्द आउँथ्यो । कुकुर तिहारकै दिनदेखि भैलोको तयारी हुन्थ्यो । त्यतिबेला गाउँमा भैलीको दिनमा केटीलाई मात्रै र देउसीको दिन केटालाई मात्रै रुपैयाँपैसा, धानचामल दिने चलन थियो । तर हामीले जुक्ति निकालेर दुवैमा सरिक हुन्थ्यौँ । भैलीको दिन केटाले पनि केटीको लुगा लगाएर र देउसीको दिन केटीले पनि केटाको लुगा लगाएर जान्थ्यौँ । अहिलेजस्तो टर्च बत्ती हुँदैनथ्यो । औँसीको निस्पट्ट अन्धकारमा भुइँ छामछाम छुमछुम गर्दै जान्थ्यौँ । कसैले मैनबत्ती बाल्थे तर हावाले निभाइदिन्थ्यो । धेरैले देउसे भैलोलाई जे सकेको दिन्थे तर कसैकसैले चाहिँ दिँदैनथे । त्यसरी नदिनेको घरमा उट्पट्याङ काम गर्न पनि पछि पर्दैनथ्यौँ । एकपटक एउटा घरमा कोही उठेनन् । जति भट्याउँदा पनि नउठेपछि रिसले चुर भयौँ र त्यस घरको बारीमा गएर राम्रोसँग गुदी पनि नपसेका भोगटे टिपेर धोक्रामा हाल्यौँ तर भोगटेको धोक्रै त्यसै घरको छिमेकीकहाँ छुटेछ । त्यतिबेला अहिलेजस्तो धोक्रो पाइँदैनथ्यो । मेरी एकजना साथीको घरबाट लगेको धोक्रो दिँदा उसकी आमाले धान हाल्ने धोक्रो नहराउनु नि भन्नुभएको थियो । भोलिपल्ट धोक्रो खोज्न जाँदा धोक्रो त फेला परेन, उल्टै भोगटे चोरेको घरको मान्छेको फेला पो परियो ।
जे जस्तो भए पनि देउसी भैलो खेलिन्थ्यो । जम्मा भएको पैसा भाग लगाइन्थ्यो धान बेचिन्थ्यो । चामलचाहिँ तिहारपछि वनभात खान भनेर राखिन्थ्यो । एउटाको भागमा जम्मा १५/१६ रुपैयाँ पर्दा पनि हाम्रो भुइँमा खुट्टा हुने थिएन । तिहारमा गाईपूजा गर्दा जनैपूर्णिमामा लगाएको डोरो फुकाएर गाईको पुच्छरमा बानिदिँदा र गाईको टाङमुनि छिर्दा स्वर्ग जान पाइने कुराले मलाई पनि राम्रोसँग छोएको थियो । म पनि सुरिएर गाईको टाङमुनि छिरेर निस्कन्थेँ । लक्ष्मीपूजाको साँझ आँगनमा हरियो गोबरमा रातो माटोको घेराभित्र बाटुलाकार बनाएर लिप्दा गोबर र रातो माटाको बास्नाले भित्री मनमा गएर म्वाइँ खान्थ्यो । चामलको पीठो, केशरी र अविर छुट्टाछुट्टै मुछेर सयपत्रीको थुँगाले तुलसीको मठबाट सुरु गरेर गोबरले लिपेको ठाउँ, मूल ढोका हुँदै भर्याङबाट पूजाकोठासम्म छाप लगाउँदै जाँदा अत्यन्तै आकर्षक देखिन्थ्यो । घरका झ्याल ढोका भर्याङ सबैतिर मैनबत्ती बालिन्थ्यो । धनकी देवी लक्ष्मीको धुमधामसँग पूजा गरेर प्रार्थना गरिन्थ्यो । भैलिनीहरूको मौलिक आवाजमा घन्किएको भैलीले छुट्टै प्रकारको आनन्द दिन्थ्यो । त्यसैगरी गोरुपुजाको दिन पनि उत्तिकै उल्लासपूणर् तरिकाले पूजा गरिन्थ्यो ।
भाइटीकाको दिन सप्तरङ्गी टीका भाइको निधारमा लगाइदिएपछि मसला दिनासाथ म भाइसँग दक्षिणा मागिहाल्थेँ । मेरो केटाकेटी बुद्धि देखेर दिदी मुसुमुसु हाँस्नुहुन्थ्यो । त्यस दिन बुबालाई फुपूहरूले ल्याइदिनुभएको भाइ मसला र मिठाइमा बुबाको भन्दा हामी केटाकेटीको रजाइँ हुन्थ्यो ।
तिहारका पाँचै दिन चौतारामा हालेको लिङ्गे पिङ खेल्नको लागि पनि हामीलाई त्यत्तिकै भ्याइनभ्याइ हुन्थ्यो । चङ्गा उडाउन टाढाटाढा पुगिन्थ्यो । घरघरमा पकाएका सेलको बास्नाले रौनक नै अर्कै हुन्थ्यो । बारीभरि फुलेका फूल, सुधारिएको मौसम, सेलरोटीका बास्ना, जनावर पूजा गर्ने परम्परा, देउसी र भैलोको रमाइलो, दिदीबहिनी र दाजुभाइबीचको सौहार्दता आदिले गर्दा मलाई दशैँभन्दा तिहार रमाइलो लाग्थ्यो । तिहार कहिल्यै नसकियोस् भन्दाभन्दै तिहार सकिन्थ्यो । अनि फेरि कहिले तिहार आउला भन्दै औँला भाँच्ने दिन सुरु हुन्थ्यो ।
बूढानीलकण्ठ, काठमाडौँ।
प्रतिक्रिया दिनुहोस्: