आयो आयो चाड नौलो तिहार
भ्राता चेली साथ बाँडी पियार ।
बत्ती बल्दा जान्न अन्यत्र ध्यान
कालो औँसी लाग्छ पूर्णे समान ।१।
कौवा, गाई, श्वान पूजा गरिन्छ
लक्ष्मी पुज्दा पूर्ण भन्डार बन्छ ।
भन्ने आस्था आज ताजा छँदै छ
नेपालीको चाहना झल्किँदै छ ।२।
द्यौसी भैलो खेल्नु छुट्टै मजा छ
यस्तो मज्जा खोज अर्को कहाँ छ ।
तातोतातो सेलरोटी चपाई
दिन्छन् आशिष् दक्षिणा टन्न पाई ।३।
रङ्गीचङ्गी थाप्छ टीका निधार
शोभा बन्छन् कण्ठका पुष्पहार ।
राम्रा नाना मिष्ठ स्वादिष्ट खाना
बाँड्ने गर्छन् चाडको चाहनामा ।४।
फुल्छन् नाना फूल गोदावरीका
बास्ना चल्छन् बागमा बाबरीका ।
झुल्छन् बाला खेतमा धान पाकी
आयो आयो पर्व उत्साह डाकी ।५।
एकार्कामा राख्न सद्भाव आयो
नेपालीमा भाइचारा बढायो ।
आफ्नो आस्था भुल्नु हो पाप जान
मास्ने छैनौँ सभ्यताको मुहान ।६।
(शालिनी छन्द)
लिखु-६, थानसिङ, नुवाकोट
प्रतिक्रिया दिनुहोस्: