कविता

दीपावलीको शुभकामना छ

१७ कार्तिक २०८१
कल्पना अधिकारी भट्टराई

आयो महान् चाड अहा ! तिहार ।
सजाउँदै छौं सपना हजार ।
होस् शान्ति चारैतिर चाहना छ ।
दीपावलीको शुभकामना छ ।१।

विदेशिएका पनि मिल्न आऊन् ।
स्वदेशमै स्वेद छरी कमाऊन् ।
होस् एकता आपसमा प्रगाढ ।
युवाविना देश नहोस् उजाड ।२।

सौहार्दको भाव बढोस् सबैमा ।
बेमेलको खेल नहोस् कसैमा ।
जुटून् सबैका अब हात हात ।
चम्कोस् सबैको गरिमा ललाट ।३।

धर्ती उज्याली अनि व्योम उस्तै ।
उल्लास भर्छन् मनमा प्रशस्तै ।
हटून् सबै दर्द तथा अभाव ।
दीपावलीको चुलियोस् प्रभाव ।४।

होऊन् उज्याला घर गाउँ गोठ ।
मुस्कान छाओस् हर ओठ ओठ ।
माता पिता आसिक साथ साथ ।
दरिद्र दुःखी नबनून् अनाथ ।५।

आनन्ददायी दिन मिल्न आऊन् ।
दया र माया मनमा पलाऊन् ।
कल्याणको भाकल मात्र भाक ।
ईष्र्या र विद्वेष कसै नराख ।६।

लिङ्गे र पिर्के पिङमा समाइ ।
द्यौसी र भैली सँगमा रमाइ ।
रमून् दिदीभाइसँगै खुलेर ।
पीडा तथा दर्द सबै भुलेर ।७।

तिहारको चाड रमाइलो छ ।
छैनन् घना मेघ घमाइलो छ ।
सर्वत्र नै निर्मल भावना छ ।
दीपावलीको शुभकामना छ । ८।

पुजिन्छ कौवा अनि श्वान गाई ।
नन्दी र लक्ष्मी प्रिय दाजुभाइ ।
टीका र माला उपहार साथ ।
अर्सा, फिनी, सेल, अचार चाख ।९।

होस् सप्त रङ्गी भरिलो निधार ।
चिरायु, आरोग्य छरोस् तिहार ।
होओस् सबै काम यथेष्ट सिध्दि ।
नेपालमा छाइरहोस् समृध्दि ।१०।

ऐश्वर्य होस् जीवन भाग्यशाली ।
नहोस् कसैको नि निधार खालि ।
म कल्पनाको यति चाहना छ ।
दीपावलीको शुभकामना छ ।११।
(छन्द : उपजाति)

टोखा-१०, गोँगबुँ, काठमाडौ

प्रतिक्रिया दिनुहोस्: