संस्मरणात्मक निबन्ध

सांस्कृतिक चाड तिहार : एक चर्चा

१७ कार्तिक २०८१
Maya Devi Sharma
माया देवी शर्मा

तिहार हामी नेपालीको महान् चाड हो । यो दशैँपछि लगत्तै घरआँगनमा आउँछ । यो पर्व अनेक फूलसँगै भित्रिन्छ । गोदावरी, सयपत्री, मखमलीलगायत थुप्रै जातका पूmल शरद् ऋतुमा प्रशस्तै पाइन्छन् । यो पर्वलाई फूलको पर्व भने पनि अन्यथा नहोला ।

तिहारको छुट्टै महत्त्व छ । यो पर्व पाँच दिनसम्म मनाइन्छ ।
कागपूजा : यो दिनमा कौवालाई खान दिएर स्वागत गरिन्छ । घरको नजिकै कौवा करायो भने लौ कागले के खबर ल्यायो होला ! भनेर एउटा छेस्को टिपेर औलाले नापिन्छ । त्यसपछि हिसाव गरेर शकुन हेर्ने चलन छ । कौवालाई समाचारको वाहक पनि मानिन्छ । यो चतुर पन्छीमा गनिन्छ । यही काग नै काकभुशुण्डी भएको कथा रामायणमा पढ्न पाइन्छ ।

कुकुरपूजा : तिहारमै कुकुरलाई पूजा गरिन्छ । माला लगाइन्छ । कुकुर इमान्दार प्राणी हो । यसले गुन सम्झन्छ । कुकुरलाई एकपटक खान दिएपछि कहिल्यै टोक्दैन भनेको मैले सुनेकी छु । कुकुरमा सुँघेर चोर पत्ता लगाउने क्षमता नै अद्भुतको हुन्छ ।

गाईपूजा : गाईलाई राष्ट्रिय पशु मानिन्छ । धार्मिक दृष्टिले यो उत्तम पशु हो । यसको दूध अमृत समान हुन्छ । दही घिउ, मोही सबै पवित्र र स्वास्थ्यवर्धक हुन्छन् । गोवर, गहुँतसमेत शुद्ध मानिन्छन् । गाईलाई नाघ्न हुँदैन । गाईको दाम्लो पनि नाघ्न मनाही छ । यस्तो पवित्र प्राणी गाईलाई पूजा गर्ने प्रचलन हाम्रै समाजमा छ । साथै गोवर्धनपूजा पनि महत्त्वपूर्ण छ । गोपालको परम्परा यहाँ झल्कन्छ ।

म्हःपूजा, नरकचतुर्दशी र दीपमालिका पनि तिहारभित्र पर्दछन् । यी सबैको भिन्नाभिन्नै महिमा छ ।
लक्ष्मीपूजा : लक्ष्मीमाता धनकी देवी भनेर चिनिन्छिन् । यी माताको पूजा भव्यताका साथ गर्ने चलन छ । यो दिनमा घरआँगन सफा गरेर सयपत्री फूलले सजाइन्छ । रातिमा लक्ष्मी माताको पूजाआराधना गरिन्छ । देउसी, भैलो पनि यही दिनदेखि खेलिन्छ ।

यस पर्वको अन्तिम दिन तिहारमा बिहानै सर्वप्रथम मूलढोकामा तोरीको तेलका सातओटा धारा लगाइन्छ । टीका लगाउने बेलामा मूलढोकामा ओखर फोरिन्छ । अनि यम र यमुनाको पूजा गरिन्छ । यी दाजु र बहिनी हुन् । यही तिहारको अवसरमा बहिनी यमुना कहाँ दाजु यमराज पाँचदिन बस्न गएको आख्यान छ । त्यही पौराणिक आख्यान अनुसार दिदीबहिनी कहाँ दाजुभाइ गएर टीका लगाउने परम्परा छ । यस परम्परा अनुसार दिदीबहिनीले दाजुभाइलाई पानीको घेरा लगाएर घुम्छन् । उनीहरूको पूजा गर्छन् र तोरीको तेल सातवटा दुवाका टुप्पाले टाउकामा लगाइदिन्छन् । रातो, हरियो, पहेँलो आदि सप्तरङ्गी टीका र कहिल्यै नओइलाउने मखमली र सयपत्रीको माला लगाइदिन्छन् । दाजुभाइले पनि दिदी बहिनीलाई टीका लगाउँछन् र खुसी साट्तै भोजन गर्छन् । दशैँमा बनाइएका रुइँटे पिङ, चमच्चा, लठाबाट तिहारका दिनमा पनि मनोरञ्जन गरिन्छ । अनि तिहारलाई बिदा गरिन्छ ।

हाम्रो देश संस्कृति, सभ्यताले भरिएको देश हो । यो अनेक जातजातिको साझा पूmलबारी हो । यहाँ सबै जातजातिले आआफ्ना धर्म, संस्कृति मान्दै आएका छन् । यो साह्रै गौरवको कुरा हो । बाह्रै महिना केही न केही पर्व पर्दछन् । हामी नेपालीले भगवान् राम, कृष्ण, शिव, देवी, गुरुपूणर्िमा, ऋषितर्पणी, तीज, सोह्रश्राद्ध, दशैँ, तिहार छठ, उँधौली, उँभौली आदि पर्वलाई पूजाको माध्यम वा चाडपर्वको माध्यमबाट मनाउँदै आएका छौँ । यी हाम्रा परम्परा हुन् । यिनलाई जोगाउँदै पुस्तान्तरण गर्ने दायित्व पनि हाम्रो हो । यी हाम्रा पहिचानलाई भड्किलो नगराइ मनाऔँ । यस्ता गौरवपूर्ण पर्वमा विकृति छिर्न नदिऔँ ।

तिहारमा कतिपय व्यक्तिले जूवा खेलेर ठूलो धनराशि हारेका खबर पनि सुन्नमा आउँछन् । यस्तै अन्य दुर्व्यसनमा पनि मान्छे फँसेको सुनिन्छ । यो महत्त्वपूर्ण चाड हो । यसमा कोही पनि जूवाको खालमा अनि दुर्व्यसनमा नलागोस् । घरघरका अभिभावक जिम्मेवार भएर हाम्रा पहिचानका पर्व तिहारलगायत सबै सांस्कृतिक, धार्मिक चाडलाई सरल र सहज तरीकाले मनाउँदै आफ्ना सन्ततिलाई हस्तान्तरण गर्नुपर्छ । यही हामी सबैको कर्तव्य पनि हो ।

कैलासकुञ्ज, भसन्थली
बूढानीलकण्ठ-४, काठमाडौं

प्रतिक्रिया दिनुहोस्: