कुनै पदहरू चुनी स्वर जमाउनै मस्त छन्
कुनै पद विना पनि श्रम समाउनै व्यस्त छन्
असङ्ख्य कविवर्गमा अनि अनेक सन्मित्रमा
दिऊँ म शुभकामना-सुमन दीपको पर्वमा ॥१॥
फुलून् मखमली जुही भवन-बागमा मग्मगी
झुलून् भ्रमर मच्चिँदै मधुर-गन्ध टाढा लगी
समीर अनुकूल होस् प्रकृति-सुन्दरी-साथमा
शरद्-समयको खुलोस् मधुरता दिवा रातमा ॥२॥
कमाइ सुपुनीत होस् सकल चित्तका हून् धनी
हरेक घरमा रहून् स्थिर भएर लक्ष्मी पनि
तिहार परिवारले सहित सप्त-रङ्गीन होस्
रहून् कुशलतासितै जन, न ता कुनै दीन होस् ॥३॥
सदैव बहने हिमाल-तलका नदी झैँ बनी
चलोस् सहज रीतिले मधुर भाइटीका पनि
दिदी र बहिनीसितै रहिरहेर आत्मीयता
चरा, पशु, मनुष्यमा पनि रहोस् उही एकता ॥४॥
विभेद कटुतासितै अब फुटाइऊन् ओखर
यमी र यम तुल्य सम्मिलन होस् सबैका घर
फुटून् गगनतर्फ नै बरु अहं पटाकाहरू
पिँडीतिर बसून् सुखानुभव भन्न पाकाहरू ॥५॥
फुलेर शतपत्रिका दश दिशा अझै गम्किऊन्
दिवा अझ उज्यालिऊन् अनि निशा अझै चम्किऊन्
भई सबजना तरङ्गित र दङ्ग कौतूहली
भरोस् सरस देउसीसँग उमङ्ग दीपावली ॥६॥
दुवार झलमल्ल होस् छवि झरेर वर्षा बनी
तयार गरिऊन् अचार र फिनी अनर्सा पनि
परम्परित सभ्यता पछि-परन्तुसम्मन् रही
सुसंस्कृत बनोस् तिहार शुभकामना होस् यही ॥७॥
(छन्द : पृथ्वी)
कैलासकुञ्ज, भसन्थली
बूढानीलकण्ठ-४, काठमाडौं
प्रतिक्रिया दिनुहोस्: