संस्मरणात्मक निबन्ध

कस्ले राखिदियो यति सुन्दर नाम !

१३ मंसिर २०८१
तारा केसी

पहेँलै तोरी फुलेको फाँट देख्दा, स्कुल जाँदै-आउँदै गरेका विद्यार्थी भाइबहिनीहरू भेट्दा मन उडेर पनौती सेरोफेरोमा हराउँन पुग्छ र त्यसैबेला बाल्यकालको न्यानो सिरेटोको स्पर्शले छोएर गयो यो मन ।
फेरि फर्केर त्यहीँ धर्तीमा उँडूउँडू लाग्ने कति लोभलाग्दो सम्झनाका इन्द्रेणीहरू हगि ? आफैले आफैलाई बारम्बार प्रश्न सोधिरहँे स्मृतिको गगनमा उडेर ।
त्यो दिन, दिनभरि ऊ आइन । फुल्चोकी डाँडामा घाम अस्ताउन लागेपछि भने ऊ देखापरि हामी खेल्ने ठाउँमा ।
‘ओई ! तँ आज दिनभरि कहाँ गकी ?’
उसले भनी; ‘आजबाट म स्कुल गाको नि ।’
त्यो दिन उसले ‘स्कुल’ भन्ने शब्द मेरो मनमा रोपेर गई ।
ऊ मेरो बालसखा कमली । हामी एउटै वर्षका । महिनाले मात्र ऊ जेठी । म भदौको ऊ असारकी ।
भोलिपल्ट म पनि स्कुल गएँ । ऊ र म घरमा, स्कुलमा सँगै पढ्ने, खेल्ने साथी भयौँ । त्यतिबेला स्कुल भर्नाहुन सात वर्ष पुग्नुपथ्र्यो । हामी सात वर्ष पुगेका थियौँ । रामप्रसाद गुरूले मेरो महिन्द्रमाला नेपाली किताबको गातामा सुन्दर अक्षरमा मेरो नाम लेखिदिनुभयो, ‘तारा के.सी.’ ।
गाउँमा सबैले नाम बिगारेर बोलाउँथे । हामीलाई बोलाउनु पर्‍यो भने तारे, कमली भन्थे । हामी पनि यसै भन्थ्यौँ । यो नाम हामीलाई प्यारो लाग्थ्यो । स्कुलमा गुरु/गुरुआमाले बाहेक अरू कसैले पनि कसैलाई शुद्ध नामबाट बोलाउँदैनथे ।
तारे/कमली भनेर बोलाउने मान्छेहरू, हामीलाई माया गर्ने हाम्रो परिवेशका मान्छेहरू थिए । उनीहरूमा स्वार्थ थिएन । मायामात्र थियो । अहिले जी, तपाई, ज्यू, हजुर भनेर सम्बोधन गर्छन् मान्छेहरू तर पाइलैपिच्छे स्वार्थ राख्छन् ।
मलाई मेरो नाम असाध्यै मन पथ्र्यो । दुई अक्षरबाट बनेको ‘तारा’ । आकाशमा राति-राति देखिने ती ताराहरूको नाम चोरेर मलाई कसले राखिदियो होला मेरो नाम ‘तारा’ ? मेरो नामको जिज्ञासा मेटाउँदै एकदिन हजुरआमाले भन्नुभाको थियो, ‘तेरो नाम माख्ला घरकी ठुलीले राखिदिएकी ‘तारा’ भनेर । ठुली अर्थात् कमलीको फुपू । हामी सबैकी ठुली फुपू । त्यसपछि मलाई मेरो नाम राखिदिने ती ठुली फुपू असाध्यै मन पर्‍यो ।
स्कुलको पहिलो दिन म पढ्दापढ्दै निदाएछु । गुरूले गाली गरेपछि ब्यूँझिएको घटना अझै पनि याद आउँछ । स्कुलको आफ्नै भवन थिएन । एउटा सानो एक कोठाको भवन थियो । त्यसमा एक कक्षाका विद्यार्थीहरूलाई पढाइन्थ्यो । हामी पढ्ने त्यो घरलाई ‘सोडा’ घर भनिँदो रहेछ । पहिला जिम्मल र मुखियाले न्याय निसाफ गर्दा दोषीलाई थुन्ने र कसैको बाली चौपायाले खायो भने त्यहाँ लगेर चौपाया थुनिन्थ्यो रे ! पछि बिगो तिरेपछि छोड्ने चलन रहेछ । हामी त्यही कोठामा पढ्थ्यौँ । दुई/तीन कक्षाका विद्यार्थी भने पीपलबोट वरिपरि र गणेश मंन्दिर वरिपरि बसेर पढ्थे । त्यहाँ तीनसम्म पढाइ हुनेरहेछ । एक कक्षाका विद्यार्थीलाई बस्न सुकुल थियो भने अरू कक्षाका विद्यार्थी खाली भुइँमा बसेर पढ्थे । पानी आयो भने सबै एउटै कोठामा ।
एक वर्षपछि विद्यालयको आफ्नै भवन बन्यो । हामी दुई कक्षामा पुग्यौँ । हाम्रो विद्यालय गणेस्थानबाट भीमसेन डाँडामा सर्‍यो । सुकुलबाट काठको फ्ल्याकमा बस्ने भयौँ हामी । पाँचसम्म पढाइ हुने त्यस विद्यालयको नाम ‘श्री श्वेत प्रा.वि.’ थियो । हप्तैपिच्छे शुक्रबार रातोमाटो र गोबरले कक्षाकोठा लिप्नु पथ्र्यो पालैपालो । आफ्नो पालोमा घरबाटै माटो र गोबर बोकेर लानुपर्ने । विद्यालयमा दशबजेबाट चारबजेसम्म पढाइ हुन्थ्यो । शुक्रबार १ बजेसम्म पढाइ हुन्थ्यो भने शनिबार बिदा ।
विद्यालयमा खाने पानीको व्यवस्था थिएन न शौचालयको नै । पानी तिर्खा लाग्दा विद्यालय नजिकैको पँधेरो अथवा रामकृष्णको घरनजिकैको ढुङ्गेधारोमा जानुपथ्र्यो । शौचालय भने विद्यालय नजिकै वरिपरिको खालीठाउँको प्रयोग गर्थे । त्यसरी खुल्ला ठाउँमा दिसापिसाब गर्दा अप्ठ्यारो लाग्थ्यो हामी केटीहरूलाई । एउटा साथीलाई ‘मान्छे हेर है’ भनेर झाडीतिर पस्नुपर्ने बाध्यता थियो ।
तीन कक्षा पुगेपछि भने बेञ्चमा बसेर पढ्न पाइयो । चारकक्षा पुगेपछि भने इङ्ग्लिस पढ्ने भयौँ हामी । सुरूसुरूमा नयाँ भाषा रमाइलो लाग्यो । माई इङ्ग्लिस बुक १/माई इङ्ग्लिस बुक २ । हाम्रो दाइ (जनार्दन के.सी.) ले इङ्ग्लिस पढाउनुहुन्थ्यो । अझै पनि याद छ मलाई । उहाँले ब्ल्याकबोर्डमा लेखेका मिनिङहरू-
न्ययम – गुड – माने – राम्रो ।
ःयचलष्लन – मर्निङ – माने – बिहानको समय ।
ऋयmभ ष्ल – कम इन – माने – भित्र आऊ ।
यस्तै यस्तै मिनिङहरू दाइले ब्ल्याकबोर्डमा लेखिदिनुहुन्थ्यो । २०/२५ ओटा यस्ता मिनिङहरू कण्ठ गरेर आउनुपथ्र्यो । एउटा मिनिङ भन्न नसके १ लठ्ठी खानु पथ्र्यो । एउटा/दुईटा जति भन्न नसके त्यति नै लठ्ठीको भागेदार हुनुपथ्र्यो । हातमा त्यसरी लठ्ठी हान्दा कति दुख्थ्यो होला । साथीहरूले पिटाइ खाँदा म महसुस गर्थें ।
दाइको लठ्ठी खानुपर्ला भनेर म खुब इङ्ग्लिसका मिनिङहरू घोक्ने गर्थें घरमा । राति सुत्नुअघि म ती मिनिङहरू दोर्‍याएर सम्झिने गर्थीं । कण्ठ गरेका कुराहरू नबिर्सने रहेछ । आज पनि सम्झिराछु । त्यसरी पढ्दा मलाई इङ्ग्लिस पढ्न, बुझ्न सजिलो भयो । म इङ्ग्लिस विषयमा पहिलो हुन पुगेँ । दोस्रो कमली ।
नेपाली विषय खुब रमाइलो लाग्थ्यो ।
वर्षायाम एकदिन ठुलो पानी पर्‍यो
काला काला बादलले सेतिगेठी झार्‍यो ।

मेरो सानो खरायो
आज कता हरायो
हिजोसँगै सुतेथ्यो
को पहिला पुग्ने हो
भन्दै हामी कुँदेथ्यौँ ।

धेरै वर्षअघिको कथा नाला पानीको
सानो सानो नेपाल पूmल जस्तो कोमल ।
यस्ता कविताहरू पढ्दा खुब मज्जा लाग्थ्यो । रामप्रसाद गुरूले पढाउनुहुन्थ्यो नेपाली । ‘भुस र चामल’ भनेर छुटाउनुहुन्थ्यो । नेपाली राम्रोसँग पढ्न सक्ने चामतिर नसक्ने भुसतिर गएर बस्नुपथ्र्यो । भुस हुनेलाई साथीहरूले जिस्क्याउँथे ।
‘म चामल, तँ भुस’ भनेर ।
जीवनका यी रमाइला किस्साहरू । जति सुने पनि सुनिरहन मन लाग्ने ।
गणित अर्थात् म्याथ विषय सुन्ने बित्तिकै कि टाउको दुख्ने कि निन्द्रा लागिहाल्ने । म्याथ विषयले कुनै रुचिनै जगाएन । सधैं फेल । सायद गणित नबुझेरै होला ? जीवनका अङ्कगणितहरूले पनि मलाई सधैं तनाव दिइरह्यो ।
हप्ताको एकदिन रेडियो बोकेर कक्षामा आउनुहुन्थ्यो सर/मिस । कहिले अङ्ग्रेजी सिकाउँथ्यो रेडियोले कहिले सामाजिक शिक्षा । काखमा रेडियो राखेर मिस निदाउने । हामी भने केही नबुझेर जिल्ल परिरहन्थ्यौँ । रेडियोको सिकाइ गजज्बको लाग्थ्यो ।
हामी कक्षामा ‘वासना साँटी’ खेल्थ्यौँ । कुनै राम्रो चित्र भेट्यो भने काटेर किताबको पत्रमा राख्ने केही दिनपछि हरर मिठो वासना आउँथ्थो । अनि साथीसँग बास्ना साँटी खेल्थ्यौँ । साथीहरूसित खेल्ने हाम्रो आफ्नै खेल थियो । भीमसेन डाँडाको चौरमा भेला भएर टिफिन टायममा राजाप्रजा, कपर्दी, टु कराई, चुङ्गी आदि खेल्थ्यौँ हामी ।
माघ महिनामा सरस्वती पुजा हुन्थ्यो । स्कुलले पैसा उठाउँथ्यो । त्यही पैसाबाट सरस्वती पुजा गरेर भोज खाइन्थ्यो । हाल काठमाडौं विश्वविद्यालय नजिक रहेको त्यो ठाउँ आज पनि सम्झनामा आइरहन्छ ।

गोँगबुँ, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्: