आर्थिक र धार्मिक महत्त्व बोकेको महिना मङ्सिर

१ पुष २०८१

मङ्सिर वर्षको आठौँ महिना हो र हेमन्तऋतुको पहिलो महिना पनि हो । यस महिनामा सूर्य वृश्चिक राशिमा हुन्छन् । जाडो धेरै बढीसकेको हुँदैन भने शरद्ऋतुका प्राकृतिक सौन्दर्यहरूले पनि यति बेलासम्म केही शोभा दिइरहेका हुन्छन् । रमाइलो र घमाइलो वातावरणमा हाम्रा मुख्यबालीहरू धान, कोदो भित्र्याउने र गहुँ, आलु जस्ता नगदेबाली लगाउने बेला पनि यही मङ्सिर महिना हो । त्यसैले पनि यो महिनाको महत्व अझ बढी देखिन्छ ।

यहाँ किन पनि मङ्सिर महिनाको महत्त्व बढी देखिन्छ भने, गीता १०।३५ मा श्रीकृष्णले अर्जुनलाई आफ्ना विभूतिहरू वणर्न गर्ने क्रममा ‘मासानां मार्गशीर्षोकहम्’ अर्थात् म महिनाहरूमा मङ्सिर महिना हुँ, भन्नुभएको छ । किनभने अनेक रोगादिभययुक्त चतुर्मासापछि धन-धान्यपूणर्, निर्मल जलयुक्त, शीतोष्ण बाधारहित मार्गशीर्ष महिना बाह्रै महिनामा सर्वोपरि उत्तम मानिन्छ ।

पञ्चाङ्ग (पात्रो), निणर्यसिन्धु, धर्मसिन्धु, ब्रह्मवैवर्तपुराण, स्कन्दपुराण, गीता, भागवत आदिमा मङ्सिर महिनाको धार्मिक महत्त्व बताइएको पाइन्छ । त्यसैगरी यस महिनामा देशका विभिन्न स्थानमा लाग्ने मेला, जात्रामात्राले यसको साँस्कृतिक महत्त्वको उजागर गरेको पाइन्छ । एकातिर खेतिबाली भित्र्याउने र नगदेबाली लगाउने चटारो रहन्छ भने अर्कोतर्फ प्राकृतिक वातावरण पनि त्यत्तिकै सफा र सुन्दर देखिने हुनाले यो महिनाको आर्थिक र प्राकृतिक महत्त्व पनि उत्तिकै बलियो रूपमा रहेको देखिन्छ ।

हरियाली वातावरण, सुन्दर प्राकृतिक दृश्य, धार्मिक र साँस्कृतिक महत्त्व अनि आर्थिक समुन्नतिको महिना भएको हुनाले नै अरू बाह्र महिनाभन्दा यो मङ्सिर महिनाको आवश्यकता र महत्त्व बढ्न गएको हो भन्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्: