क. सामान्य परिचय
मङ्सिर वर्षका बाह्रमध्ये आठौँ र हेमन्तऋतुको पहिलो महिना हो । यसमा दक्षिणायनस्थ मित्र नामका सूर्य वृश्चिक राशिमा हुन्छन् । यस महिनामा विष्णुको नाम केशव र देवीको नाम विशालाक्षी हुन्छ । यथार्थमा पूणर्चन्द्र मृगशिरा नक्षत्रमा पर्ने महिनालाई नै मङ्सिर भनिन्छ ।
ख. धार्मिक महत्त्व
१. निणर्यसिन्धुमा सूर्य वृश्चिकराशिमा जाने संक्राान्ति पूर्वका १६ घडीलाई पुण्यकाल मानिएको छ ।
२. ब्रह्मवैवर्तपुराणमा उग्ररूप रुद्रबाट कालभैरवको उत्पत्ति भएकोले मार्गकृष्ण अष्टमीलाई कालभैरवाष्टमी भनिन्छ । यसमा स्नान, तर्पण गरी कालभैरवको दर्शन तथा पूजन गर्नाले नरकमा परेका पितृहरूको उद्धार हुन्छ भनिएको छ ।
३. स्कन्दपुराणमा श्रावणशुक्ल नागपञ्चमीमा जस्तै मार्गशुक्ल पञ्चमीका दिन पनि विशेष पूजा गर्दा नागहरू प्रसन्न हुन्छन् भनिएको छ ।
४. महाराष्ट्रमा मार्गशुक्ल षष्ठीलाई चम्पाषष्ठी भनेर आफ्नू कल्याणार्थ देवताको उपासना गरिन्छ ।
५. दिवोदासले शिवपार्वतीको अग्निबाट मार्गशुक्ल षष्ठीका दिन कुमारको उत्पत्ति भएकाले त्यस दिनलाई कुमारषष्ठी अथवा स्कन्दषष्ठी हो भनेका छन् । साथै कुमारको चाँदीको प्रतिमा बनाएर यसैदिनदेखि प्रत्येक षष्ठीमा पूजा प्रार्थना गर्दै वर्षको अन्त्यमा ब्रह्मणलाई दान गरेमा आफ्नू कल्याण हुन्छ भनिएको छ ।
६. मार्गशुक्ल चतुर्दशीलाई पिसाचमोचन चतुर्दशी भनी पञ्चाङ्गमा नै लेखिएको छ । यसै दिनमा काशीको पिचासमोचन घाटमा स्नान, तर्पण र श्राद्ध गर्नाले पिचासयोनिमा प्राप्त भएका पितृहरू समेतको उद्धार हुन्छ भन्ने कुरा निणर्यसिन्धुमा नै उल्लेख भएको छ ।
७. मार्गशुक्ल पूणर्िमाको दिन दत्तात्रेयको उत्पत्ति भएको कुरा स्कन्दपुराणको सध्याद्रिखण्डमा उल्लेख भएको छ भने उनले चौबीस गुरुहरूबाट पाएको ज्ञान भागवत एकादशस्कन्धको अध्याय सातदेखि नौसम्म वणर्न भएको छ ।
८. धर्मसिन्धुमा मङ्सिर महिनाको पहिलो आइतबारदेखि सुरु गरेर एक वर्षसम्म सूर्यको काम्यव्रत विधिसमेत उल्लेख भएको छ । उनै दत्तात्रेयको मन्दिर भक्तपुरमा अद्यापि छँदै छ ।
९. गोकुलका कन्याहरूले पनि श्रीकृष्णलाई आफ्ना पतिरूपमा प्राप्त गर्ने इच्छाले हेमन्ते प्रथमे मासे अर्थात् यही मङ्सिर महिनामा नै हविष्यभोजन गरेर भगवती कात्यायनीको व्रत गर्दा कृष्णको दर्शन र इच्छापूणर्ार्थ वर प्राप्त गरेका कथा भा.१०।२२ अध्यायमा वणर्न गरिएको छ ।
१०. मार्गकृष्ण प्रतिपदामा त्रिजटालाई मन्त्रसहित अर्घदिनुपर्ने कुरा पञ्चाङ्गमा उल्लेख छ ।
११. मार्गकृष्ण चतुर्दशीलाई बालाचतुर्दशी भनिन्छ । यसैदिन गुह्येश्वरी, मृगस्थली घुमेर शतबीज छर्दा प्रतिदाना एकरती सुवणर्दान गरे बराबर पुण्य प्राप्त भई पुनर्जन्म हुँदैन भनी हेमाद्रीमा उल्लेख छ ।
१२. मार्गशुक्ल पूणर्िमालाई धान्यपूणर्िमा भनिन्छ । यस दिन धान्यपर्वत दान गर्नु उत्तम छ, साथै पशुधन वृध्यर्थ गैडुपूजा गर्नुपर्ने कुरा पञ्चाङ्गमा नै उल्लेख भएको छ । इत्यादि ।
ग. साँस्कृतिक महत्त्व
१. मार्गकृष्ण प्रतिपदामा थानकोटमा महालक्ष्मी जात्रा हुन्छ ।
२. मार्गकृष्ण दशमीमा गुह्येश्वरी जात्रा हुन्छ ।
३. मार्गकृष्ण त्रयोदशीमा पशुपतिनाथ मेला, त्रिवेणीहरूमा मेला, हलेसी महादेव मेला, झापाशताक्षीधाम तथा अर्जुन धारा मेला र धादिङ लामाचिरा मेला लाग्छ ।
४. मार्गकृष्ण चतुर्दशीमा पशुपति र अन्य शिवालयहरूमा पनि शतबीज छर्ने मेला लाग्छ ।
५. मार्गशुक्ल पञ्चमीमा जनकपुरमा सीता विवाहपञ्चमी मेला लाग्छ ।
६. मार्गशुक्ल नवमीमा धनगडी दुर्गाजाँत, डोटी पोखरीजाँत र पाङ्गामा वैष्णवीदेवी जात्रा लाग्छ ।
७. मार्गशुक्ल एकादशीमा गीताजयन्ती मनाइन्छ ।
८. मार्गशुक्ल पूणर्िमामा दत्तात्रेय जयन्ती र उँधौली पर्वसमेत मनाइन्छ । इत्यादि ।
घ. आर्थिक महत्त्व
हुनेखानेभन्दा हुँदा खाने हाम्रोजस्तो विकासोन्मुख देशमा आर्थिक दृष्टिकोणले पनि यो मङ्सिर महिनाको विशेष महत्त्व छ किनभने वर्षदिनसम्म घामपानी सहेर खाई नखाई लगाएको मुख्यबाली धान पाक्ने हँुनाले काट्ने, झाट्ने, थन्क्याउने चटारो परे पनि घरमा भकारी भरिने हुँदा कसैले भोको बस्नुपर्दैन । कोदो पनि यसै बेलामा पाक्छ । सबै हाँसी खुशी आआफ्ना बाली भित्र्याउन व्यस्त हुन्छन् । त्यसैले ‘मङ्सिरमा त मुसाले पनि सातआटी ल्याउँछ’ भन्ने गरिन्छ ।
ङ. प्राकृतिक महत्त्व
हेमन्तऋतु अर्थात् मङ्सिर पुसमा उत्तरदिशाबाट हावा चल्छ । प्रायः बिहान १०/११ बजेसम्म कुहिरो लागेर सूर्य र दिशालाई ढाकेको देखिन्छ । जलाशयहरू तुषारो र हिउँले ढाकिन्छन् । गैंडा, हात्ती आदि पशुहरू र कौवाहरू प्रसन्न देखिन्छन् । लोध, प्रियङ्गु, धुरसिल आदि प्रशस्त फुलेका देखिन्छन् । अत्यधिक जाडो बढ्नाले (लुक्छन् माछा मजाले हिमऋतुतिर ती पानीको बीचजाई ।) माछाहरू पनि सतहमा नआई पानीभित्रै लुक्ने हुनाले ‘मङ्सिर २० गतेदेखि माघ १० गतेसम्मका ५० दिनलाई मीनपचास’ भनिन्छ । घरका पाञ्चायन देवताहरूलाई पनि जाडो हुन्छ भनेर मीनपचासभरि गाईको घिउमा डुबाएर राखी बाहिरबाटै पूजा (नित्य स्नान नगराईकन) गर्ने चलन थियो । साथै उपत्यकाका विद्यालयमा पनि जाडो बिदा हुन्थ्यो । इत्यादि ।
च. आयुर्वेदिक महत्त्व
आयुर्वेद त्रिदोष (वात, पित्त र कफ) वादमा आधारित चिकित्सा विज्ञान भएकोले छ प्रकारका रस (अमिलो, पिरो, तितो, टर्रो, गुलियो र नुनिलो) युक्त द्रव्यद्वारा उक्त त्रिदोषको उपचार गरिन्छ । ंंंदोष सञ्चय, प्रकोप र प्रशमनार्थ षड्ऋतु (हेमन्त, शिशिर, वसन्त, ग्रीष्म, वर्षा र शरद्) को आधार लिइन्छ । एकऋतुमा दुई महिना र एक अयनमा तीन ऋतु हुन्छन् । उत्तरायणलाई आदान र दक्षिणायनलाई विसर्गकाल भनिन्छ ।
मङ्सिर महिना हेमन्त ऋतुमा पर्छ । हेमन्त ऋतु शीतल, स्निग्ध गुणयुक्त, गुलियो रस उत्पन्न गर्ने र अग्निदीपक पनि हुन्छ । त्यसैले हेमन्त ऋतुमा शरीरमा उत्तम बल हुन्छ । जडराग्नि ज्यादै तीव्र हुन्छ । त्यसैले स्निग्ध, गुरुगुणयुक्त आहार पनि सजिलै पच्नसक्छ । खाना रुच्ने र पच्ने भएपछि बलवृद्धि हुने नै भयो । त्यसैले होला ‘जाडोमा खाएर गर्मीमा बाँच्नुपर्छ’ भनेको ।
छ. आहार/विहार
हेमन्तऋतु (मङ्सिर/पुस) मा औदक (पानीमा बस्ने माछा आदि) र आनूप देशका सिमसारमा हँुने (गैंडा आदि) मोटाघाटा जीवजन्तुको चिल्लो र नुनिलो मांसरस, दूध पिउनु, विलेशय (दुलोमा बस्ने) र प्रसहप्राणीको शूलपक्व (सेकुवा) मासुसँग मदिरा, मह पिउनु, तिल, गहुँ, नयाँ चामल, उखुबाट बनेका खाद्य पदार्थ, तेल, घिउ खानेगर्नु, तातो पानीले नुहाउनु, मृग वा बाघको छाला, राडी, डसना, गलैँचा ओच्छ्याउनु, सिरक पाखी, कम्बल आदि ओढ्नु, जमिनमुनि खनेर बनाएको वा ईंटाले बनाएको र खर, परालले छाएको घरमा बस्नु, घाम ताप्नु, तेल घस्नु, अगरु लेपन गर्नु, उनी सुती रेशमी कपडा प्रशस्त लगाउनु, मद्यपान गर्नु र सोरशृङ्गारले सजिएकी सुन्दरी स्त्रीसँग सहवास गर्नु पनि हितकर नै हुन्छ । तर वातवद्र्धक, हलुका अन्नपान, अल्पाहार, सातुले समेत फाइदा गर्दैन । बिहानै खाना खाएर खुब परिश्रम गर्नुपर्दछ ।
हेमन्तऋतुमा रात लामो हुनेहुँदा बिहान उठ्नेबित्तिकै भोकलाग्छ । त्यसैले नित्यकर्म सक्ने बित्तिकै पाएसम्म पुग्छ भने गुलिया, मीठा र चिल्ला पदार्थहरू खानुपर्दछ नत्र तीक्ष्ण जठराग्निले वायुको बल पाएर रसादि शारीरिकधातुलाई नै नाश गर्छ । त्यसैले बिहानै उष्ण, स्निग्ध र मधुर पदार्थ खाएमा पचाउन पनि सकिन्छ र शरीर बलियो पनि हुन्छ । तर अम्लपित्त छ भने बढी चिल्लो र मधुमेहीले शुद्ध महबाहेक अरू गुलियो पदार्थ खानुहुँदैन ।
जाडोको ओखती रुई, फुई र दुई नै हुन् । त्यसैले बाक्लो ओढ्ने ओछ्याउने, आगो ताप्ने दम्पतीसँगै सुत्ने, तातो पानीले नुहाउने, वातनाशक तेल लगाएर शिरमा मर्दन र शरीरमा मालिस गर्ने, हातगोडा पनि तातो पानीले नै धुने, जुत्तामोजा लगाइराख्ने, ज्वानाको झोल, मासुको रस, तातोदूध, उत्तम रक्सी पिउने, खुदो, खीर, मासको बारा, फुरौला, पुरी, जेरीस्वारी, खुवा, पेंडा आदि खाएर परिश्रम गर्नु पनि उचित हुन्छ ।
अन्त्यमा गीता १०।३५ मा श्रीकृष्णले अर्जुनसित आफ्ना विभूतिहरू वणर्न गर्ने क्रममा ‘मासानां मार्गशीर्षोकहम्’ अर्थात् महिनाहरूमा मङ्सिर महिना म हुँ, भन्नुभएको हुँदा अरूभन्दा विशेष महत्त्व मङ्सिर महिनाकै छ भन्दा अत्यक्ति नहोला । अस्तु ।
प्रतिक्रिया दिनुहोस्: