काठमाडौं, २०८१ पुस १ गते । राष्ट्रिय सुसेली फाउन्डेसन तिलकप्रसाद लुइटेल स्मृति कोषले विद्वान कवि, लेखक तथा साहित्यकारहरूका लेख, रचना रहेको ‘तिलकप्रसाद लुइटेल’ स्मृति ग्रन्थको लोकार्पण गरेको छ । चार वेदका अनुवादक तिलकप्रसाद लुइटेलको प्रथम वार्षिकीका अवसरमा उक्त कृति लोकार्पण भएको हो । १८० पृष्ठको यस ग्रन्थको संयोजन सुसेली फाउन्डेसनका अध्यक्ष दुर्गा अधिकारी भमरकोटेले गर्नुभएको थियो भने प्राज्ञ नरनाथ लुइटल र कवि चन्द्रा न्यौपानेले सम्पादन गर्नुभएको थियो ।
तिलक लुइटेल उपचार कोषबाट बचेको रकमलाई लुइटेल परिवारले सुसेली फाउन्डेसन अन्तरगत रहनेगरी लुइटेल परिवारको संरक्षकत्वमा तिलक लुइटेल स्मृति कोषको स्थापना गरेको थियो । सोही कोषको आम्दानीमा यस वर्ष परिवारका तर्फबाट केही रकम थप गरी यो स्मृति ग्रन्थ तयार भएको हो ।
स्व.लुइटेलको प्रथम वार्षिक तिथिमा भएको स्मृति ग्रन्थ लोकार्पण कार्यक्रममा अध्यक्ष दुर्गा अधिकारी भमरकोटेको सभापतित्व र नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्य सचिव प्रा.जगत्प्रसाद उपाध्याय प्रेक्षितको प्रमुख आतिथ्य रहेको थियो भने कार्यक्रमको संचालन साहित्यकार दामोदर ढकाल दिपकले गर्नुभएको थियो ।
स्व.लुइटेलका भाइ टीकाराम लुइटेलको स्वागत मन्तव्यबाट सुरु गरिएको कार्यक्रममा विशिष्ट आतिथिहरू डा.रामप्रसाद ज्ञवाली, डा. शैलेन्दुप्रकाश नेपाल, गङ्गा कर्माचार्य पौडेल, ईश्वरचन्द्र बानियाँ, नारायणाचार्य कौशिक, कलानिधि दाहालले अनुवादक तिलकप्रसाद लुइटेलको जीवनी र उहाँले गर्नुभएको चार वेदको नेपालीमा अनुवाद लगायत अन्य धेरै सुकर्मको वणर्न गर्नुभएको थियो । डा. रमेश शुभेच्छुकले स्मृति ग्रन्थका बारेमा टिप्पणी र चन्द्रा न्यौपानेले आफ्नो सम्पादकीय मन्तव्य राख्नुभएको थियो ।
तिलक लुइटेलको योगदान र वेद लगायत अन्य दर्जनौं ग्रन्थहरूको अनुवादको प्रसङ्गहरू सहितको समिक्षात्मक टिप्पणीको सारगर्भित मन्तव्य पश्चात् तिलक लुइटेलका सुपुत्र विभव लुइटेलले सहभागी र सहयोगी सबैमा धन्यवाद व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा तिलक लुइटेल पत्नी गीता लुइटेलसहित दर्जनौँ कवि, लेखक तथा आफन्त जनहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्: