काठमाडौं जाने बसको प्रतिक्षामा म दोलनघाटमा थिएँ ।
बेलाबखत मेरा आँखाहरू त्यो झोलुङ्गे पुल र नीलो नदीको दोभानमा दौडिरहन्थ्यो । काठमाडौंबाट बस आयो र एकैछिनमा भरियो । एउटा खाली सिट देखाउँदै खलासी भाइले भन्यो;
‘ऊ त्यहाँ गएर बस्नुस् दिदी ! यहाँ एकजना मात्र हुनुहुन्छ ।’
म खलासी भाइले देखाएको सिटमा गएर बसेँ । झ्यालपट्टिको सिटमा एकजना युवक थिए । बस अरनिको राजमार्ग हुँदै काठमाडौंतर्फ अगाडि बड्यो ।
बसको झ्यालबाट ओझेल पर्दै गएका दृश्यहरू हेर्न मलाई खुब रमाइलो लागिरहेको थियो । बसमा सबैजना आ-आफ्ना सुरमा गफ गर्न, पत्रिका हेर्नमा व्यस्त देखिन्थे भने कोही बसमा बजेको गीतमा आनन्द लिइरहेका थिए ।
मसँगै बसेको युवकले चुरोट सल्कायो । चुरोटको धूवाँले मलाई खोकी लाग्न थाल्यो । मैले उसलाई चुरोट निभाउन आग्रह गरेँ । उसले चुपचाप मेरो कुरा सुन्यो र चुरोट निभायो । धेरै बेरपछि मौनता भङ्ग गर्दै त्यो युवकले सोध्यो;
‘तपाईं कहाँ ओर्लनुहुन्छ ?’
मैले काठमाडौं ओर्लन्छु भनेपछि परिचित झैँ ठानेर अनेकौं कुराहरू सोध्यो । मैले पनि उसका प्रश्नका उत्तरहरू दिने प्रयास गरिरहेँ । ऊ त्यस्तै पच्चीस/छब्बीस वर्षको झैँ देखिन्थ्यो । ऊ बीचबीचमा हँसाउने खालका कुरा गरेर यात्रालाई रमाइलो पारिरहेको थियो । स्टेसनपिच्छे मान्छे झर्ने र चढ्ने गर्दै बस रोकिँदै, कुद्दै गयो ।
पाँचखाल, तिनपिप्ले, खावा, धुलिखेल, बनेपा हुँदै काभ्रे जिल्लालाई छोड्दै बस भक्तपुर हुदै कुँदिरहेको थियो । एकैछिनमा बसले काठमाडौं जिल्लालाई छोयो । नयाँ बानेश्वर पुगेपछि त्यो युवक सिटबाट उठ्यो । हातमा आफ्नो परिचय र ठेगाना भएको कार्डदिँदै बसबाट झर्यो । म पनि रत्नपार्क पुगेर बसबाट झरेँ र फुपूको घरतर्फ लागेँ ।
समय बित्दै गयो । म कलेज पढ्ने सिलसिलामा काठमाडौं आएको थिएँ । बी.ए.को पढाइ क्रमशः अन्त अन्त हुन आँटिसकेको थियो । परीक्षा सकेर म घर जाऊँ कि यतै जागिर खोजेर बसौँको दोधारमा थिएँ । एकदिन फुुपूले भन्नुभयो; ‘कुन्ता ! तँलाई मैले मेरो हस्पिटलमा जागिरको लागि भनेको छु । तेरो टाइपिङ्ग पनि राम्रो छ । के छ तेरो विचार ?’
फुपूले मेरो मनकै कुरा गर्नुभयो । म खुशी भएँ । नभन्दै मैले हस्पिटलमा रेकर्ड शाखामा टाइपिस्टको जागिर पाएँ । मैले त्यस दिन बसमा परिचित भएको र मलाई नाम ठेगाना दिएर जाने युवकलाई पनि त्यहाँ भेटेँ । उनी पनि त्यही हस्पिटलमा म नियुक्ति भएको शाखामा काम गर्दा रहेछन् । मलाई उनले नजानेका काम सिकाएर ठूलो सहयोग गरे । हाँसमुख स्वभावमा सदा आफ्नो काममा देखिन्थे उनी । उनको नाम शिव अधिकारी रहेछ । त्यसै दिनदेखि मैले उनलाई ‘शिवदाइ’ भनेर सम्बोधन गर्न थालेँ । हस्पिटल छिरेपछि आफ्नो कार्यकक्ष अगाडि लेखिएको श्लोगानमा आँखा ठोकिन्थ्यो ।
‘रोग निको हुन्छ । भगवान्ले रक्षा गर्नुहुने छ ।’
एकदिन टिफिन समयमा अलि निराश अनुहारमा शिवदाइलाई भेटेँ र सोधेँ;
‘किन आज निराश देख्छु नि शिवदाइ के भयो ?’
उनले कुरा छल्दै भने, ‘त्यस्तो केही भाको छैन ।’
मेरो प्रश्नको उत्तर पूरा आए झैँ लागेन मलाई । मैले कर गरेँ । हस्पिटलको क्यान्टिनमा चिया पिउँदै शिव दाइले भन्नुभयो; ‘मभित्र एउटा बलिरहने पीडाको ज्वाला छ । त्यो ज्वाला म न कसैलाई भन्न सक्छु न देखाउन नै सक्छु । त्यही पीडा भुल्न कहिलेकाहीँ पिउने गर्छु । हिजो अलि बढी पिएछु । त्यसैले आज मेरो मुड ठिक छैन कुन्ता बहिनी !’
‘त्यो पीडाको समाधान पनि त होला नि ! त्यो बाटो पो खोज्नु पर्छ त न कि रक्सी ?’
‘छ एउटै बाटो मृत्यु ।’
‘मृत्यु’ म झस्किएँ । तपाईं जस्तो व्यक्तिले यस्तो कायर कुरा गर्ने ?’
प्रतिउत्तरमा उनले भने; ‘म पनि त मान्छे हुँ । मेरो पनि व्यक्तिगत जीवन छ, पीडा छ ।’
उनभित्रको पीडा छचल्किएर मेरा आँखा रसाए । म दुःखी भएँ । थाहाँ छैन किन ?
केही दिनदेखि शिवदाइ हस्पिटल आएका थिएनन् । उनको अनुपस्थित बिझ्न थालेको थियो मलाई । किन ? के ? भन्ने प्रश्नहरू मनमा खेल्न छाडेनन् । उनको घर देखेको थिइन । फोन गर्दा उठ्दैनथ्यो ।
एक दिन बिहान हस्पिटलतर्फ जाँदै थिएँ । बाटोमा एकजना स्टापसँग भेट भयो । उनले भने; ‘शिवदाइ बित्नुभयो रे !’
म त छागाँबाट खसे झैँ भएँ । कसरी विश्वास गर्नु र ! कसरी स्वीकार्नु त्यो सत्य ? मेरो हात खुट्टा पानी जस्तै भएर गल्न थाल्यो । म त्यहीँ थुचुक्क बसेँ । मेरो आँखाभरि शिवदाइको अनुहार आइरहेको थियो ।
शिवदाइको अन्तिम बिदाइको लागि श्रद्धाञ्जलि अर्पण गर्न अफिसबाट जाने क्रममा साथीहरूसँग म पनि उनको घरमा पुगेँ । उनको लास आँगनमा लडिरहेको थियो । केही मान्छेहरू सुँक्क सुँक्क गर्दै थिए । कोही भन्दै थिए, ‘कठैवर ! शिव अल्पायुमै मर्यो । ऊ कति मिजाशिलो थियो । जसलाई जे परे पनि पुग्थ्यो ।’
माथि कोठामा एउटा बच्चा रोइरहेको थियो । उसलाई मान्छेहरू फकाउँदै थिए । ‘नरो बाबु ! एकचोटि सबैले मर्नुपर्छ ।’ ऊ सम्झिरहेको थिएन । झन् बेसरी रून्थ्यो ।
‘बाबा ! अब म कोसँग बसौँ ? मलाई छोडेर नजानुस् बाबा ! आमा पनि छैन । बाबा पनि छैन ।’
बच्चाको बिलौनाले सबैको आँखा रसाएको थियो । एउटी अधबैँसे महिलाले उसलाई अँगालो हाल्दै भनिन्; ‘नरो बाबु ! तँ पनि मेरो छोरा जस्तै होस्, मसँगै बस्लास्, नरो ।’
मेरो आँखाबाट आँसु बग्नेक्रम रोकिएन । शिवदाइको कोठाभरि रक्सीका सिसिहरू छरिएका थिए । रक्सीले निल्यो शिवदाइलाई ।
हेर्दाहेर्दै शिवदाइको शव अन्तिम संस्कारको लागि घाटतर्फ लगे । उनको दस/एघार वर्षको छोरालाई समाएर मान्छेहरूले लगिरहेका थिए । ऊ रुँदारुँदै कम्जोर भैसकेको थियो ।
‘स्वास्नी मरेदेखि नै पिउन थालेको थियो । दुई वर्ष नपुग्दै ऊ पनि गयो । अब छोराको के हालत होला ? मान्छेहरू कुरा गर्दै थिए ।’
एउटा पीडादायी घटनाले बारम्बार अशान्त भइरह्यो मन । मलाई शिवदाइको सम्झना र यादले बिथोलिरहन्थ्यो । उनको छोराको आँसु पनि म सम्झिरहन्थेँ । केही दिनपछि शिवदाइको छोरालाई भेट्न जाँदा ऊ घरमा थिएन । घरमा नयाँ मान्छेहरू थिए । उनका काकाले घर बेचेर शिवदाइको छोरालाई अनाथालयमा राखेको कुरा थाहा पाएँ र गह्रौं मन बोकेर फर्किएँ ।
गोँगबुँ, काठमाडौं
मिति ः २०५१ श्रावण २८ गते ।
प्रतिक्रिया दिनुहोस्: