लघुकथा

सुरुवात

३ पुष २०८१
गङ्गा खड्का

‘तिहार पनि आइसक्यो । किनमेल किन्दै गर्नुपर्ने । आज त एकछिन बजार जाऊँ है हजुर ।’ रिमाले सन्देशलाई भनिन् ।
सन्देशले सहमतिको भावमा टाउको हल्लाए र मोबाइलमा केन्द्रित भए ।
नजिकै बसेर गृहकार्य गर्दै गरेकी ठुली छोरीले भनी, ‘मामुलाई त कति मज्जा ! तिहारमा हात खाली नि हुँदैन, निधार खाली नि हुँदैन ।’
कान्छी छोरीले पनि भनी, ‘हाम्रो त दाजुभाइ पनि छैनन् । तिहार नआए नि हुन्थ्यो जस्तो लाग्छ ।’
छोरीहरूका कुरामा सन्देशको ध्यान खिचियो । उनले रिमालाई भने, ‘रिमा ! यसपटक सामान किन्दा दुइटा मसला बढी किन्नुपर्छ है ।’
रिमाले सन्देशको भनाइको अर्थ बुझिनन् । उनले ट्वाल्ल परेर हेरिन् ।
‘लौ किन टोलाएकी ?’ सन्देशको सोधाइले रिमा झसङ्ग भइन् । उनले भनिन्, ‘मैले हजुरको कुरा बुझिनँ । के भन्न खोज्नुभएको ?’
सन्देशले भने, ‘यसपटकदेखि हाम्रा छोरीहरू पनि एकअर्कालाई टीका लाइदिएर भाइटीका मनाउँछन् ।’
‘त्यसो गर्‍यो भने त तिहारमा नि छोरीहरूले एकअर्कालाई टीका लाए भनेर दुनियाँले खिसी गर्दैनन् र !’
रिमाको कुरा सुनेपछि उनलाई सम्झाउँदै सन्देशले भने, ‘दुनियाँको पछि लागे त केके भन्छन्, भन्छन् । छोरी पनि छोरा जस्तै त हुन् नि ! तिहारमा निधार खाली राख्नुभन्दा त दिदीबहिनीले एकअर्कालाई टीका लाइदिएर नयाँ कामको सुरुवात गरेकै राम्रो हो नि ।’

बूढानीलकण्ठ, काठमाडौं

प्रतिक्रिया दिनुहोस्: