कुनै पनि स्रष्टाले गर्ने सिर्जना संसारभन्दा बाहिरको हुँदैन

४ पुष २०८१

डा. दामोदर पुडासैनी ‘किशोर’

सुपरिचित साहित्यकार डा.दामोदर पुडासैनी र साहित्यकारहरू उमेश पाण्डे, तारा के.सी. र पार्वती पुडासैनीलाई नुवाकोट, लिखु-६, थानसिङ, कालिमाटी स्थित ज्योतिकुञ्ज एकेडेमीले २०८१ मङ्सिर १० गते विद्यालय प्राङ्गणमै उपस्थित गरायो । सो अवसरमा ‘लेखकसँग विद्यार्थीको भेटघाट र अन्तरकृया कार्यक्रम’ सञ्चालन गरी वरिष्ठ साहित्यकार डा. दामोदर पुडासैनीसँग उक्त एकेडेमीमा कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रछात्रा क्रमशः कीर्तन पाठक, डिप्लभ नगर्जी, रिहाना गोतम र कृतिशा पाठकले अन्तर्वार्ता लिएका थिए । उक्त कार्यक्रमको आयोजना ज्योतिकुञ्ज एकेडेमीले गरेको थियो भने कार्यक्रमको संयोजन संसाक मासिकका प्रधान सम्पादक उमेश पाण्डेले गर्नुभएको थियो । प्रस्तुत छ डा.पुडासैनीसँग गरिएको उक्त अन्तर्वार्ताको सार सङ्क्षेप ।

प्रश्न नं. १ : साहित्य के हो ? हजुरको धारणा या परिभाषा के छ ?
उत्तर : जीवन र जगत्को हितको लागि सिर्जना गरिएको लिखित वा अलिखित गद्य वा पद्य कृति नै साहित्य हो । साहित्य भनेको जीवन र जगत्सँग सम्बन्धित अनेकौं विषयमा सौन्दर्य, गुण, भावुकता, रूप आदिका दृष्टिले अभिव्यक्त गर्ने पद्य वा गद्य रचना पनि हो ।

प्रश्न नं. २ : हजुरलाई साहित्यमा लाग्ने प्रेरणा कोबाट प्राप्त भयो ? तपाईं जस्तै अग्रज साहित्यकारहरू साहित्यमा किन प्रेरित हुन्छन् ?

उत्तर : मलाई मेरो बुबा हरिप्रसाद पुडासैनी र घरायसी वातावरणले साहित्यमा लाग्ने प्रेरणा मिलेको हो । म सानो छँदा हाम्रो घरमा साधुसन्तको आवतजावत भइरहन्थ्यो । बुबा आफैं हिन्दी, उर्दू, मैथिली, भोजपुरी र नेपाली साहित्यका पुस्तकहरू पढ्नुहुन्थ्यो र हामीलाई त्यस्ता साहित्यको मूल मर्म सुनाउनु हुन्थ्यो । घरमा आएका साधुसन्तसँग पनि उहाँको छलफल र शास्त्रार्थ खुवै चल्दथ्यो । त्यसैबेलादेखि साहित्य सिर्जना र अध्ययन गर्नु राम्रो काम हो भन्ने लाग्यो र विविध सिर्जनाहरू रच्न थालेँ ।
साहित्य सिर्जना गर्नु भनेको यो संसार र मान्छेलाई बुझेर समाजको लागि केही दिनसक्नु हो । साहित्यमा लाग्नाले अध्ययनको बानी बढ्दछ, संसारका धेरै कुरा बुझ्न सकिन्छ । आपूmले संसार र समाजबाट ग्रहण गरेका कुराहरूका आधारमा नवीन सिर्जनाहरू समाजलाई प्रदान गर्नाले समाज सुध्रन सक्तछ, संसार सुखद र सभ्य बाटोतिर अघि बढ्न सक्तछ । त्यसैले साहित्यमा लाग्नु साँच्चै सुन्दर र असल काम हो ।

प्रश्न नं. ३ : हजुरले कहिलेदेखि साहित्य लेख्न शुरु गर्नुभयो ? हालसम्म प्रकाशित पुस्तकहरू कति वटा छन् ?
उत्तर : मैले सानै उमेरदेखि कविता लेख्न शुरु गरेको हुँ । नौ वर्षको उमेरमा मैले ‘वसन्त’ शीर्षकको कविता रचेँ । त्यो रेडियो नेपालको बाल कार्यक्रमबाट प्रसार भएपछि लेख्न झन् जाँगर चल्यो । पछि वि.सं. २०३४ सालमा ‘जन जागृति’ पत्रिकामा ‘शहीद’ शीर्षकको कविता छापिएपछि लेखन यात्राले तीव्रता लिन थाल्यो । मेरा हालसम्म १९ वटा कृतिहरू प्रकाशित छन्, ती मध्ये ११ वटा कवितासङ्ग्रह, ७ वटा नियात्रासङ्ग्रह र एउटा दर्शन कृति छन् ।

प्रश्न नं. ४ : अध्ययनमा लाग्ने मान्छेहरू नै बढी मात्रामा साहित्यमा लाग्नुभएको देखिन्छ । तपाईं पनि जीवन र जगत्लाई विभिन्न कोणबाट निरन्तर अध्ययन गर्ने साहित्यकार हुनुहुन्छ । लेखनको लागि अध्ययन कतिको जरुरी छ ?
उत्तर : कुनैपनि सिर्जना संसारभन्दा बाहिरको कुरा होइन । सिर्जना भनेको संसारलाई र जीवनलाई राम्रोसँग बुझेर संसारकै कुराहरू परिमार्जित रूपमा पस्किनु हो । संसार र जीवन बुझ्न अध्ययन अति जरुरी कुरा हो । त्यसैले जसले हरेक विषयमा गहिरो अध्ययन गर्दछ र सही विश्लेषण गर्दछ, उसले नै राम्रो साहित्य सिर्जना गर्न सक्तछ ।

प्रश्न नं. ५ : नेपाली साहित्यको वर्तमान अवस्था कस्तो छ ? बताइदिनुहोस् न ।
उत्तर : वर्तमान समयमा संचार माध्यमहरूको अभूतपूर्व प्रगतिको कारण संसार बुझ्न र बुझाउन निकै सजिलो भएको छ । विज्ञान र प्रगतिले मानव जगत् र संसार भित्रका कयौं रहस्यहरू उजागर हुन थालेका छन् । यस परिप्रेक्ष्यमा नेपाली साहित्यकारहरूको पनि ज्ञान, सीप र क्षमतामा अभिवृद्धि भएको छ । जीवन र जगत्लाई सही ढङ्गले बुझ्ने वातावरण नजिकै भएको कारण हाम्रो साहित्य पनि बढी यथार्थपरक र गुणस्तरयुक्त बन्न थालेको छ । यसले नेपाली साहित्य यतिखेर बढी आशावादी बन्न थालेको छ ।

प्रश्न नं. ६ : नेपाली साहित्यमा कृतिहरू गुणात्मकभन्दा संख्यात्मक बढी छन् भन्ने सुनिन्छ नि हो ?
उत्तर : त्यो विलकुल सही हो । नेपालमा मात्र नभई संसारमै जे जति कृति प्रकाशित हुन्छन्, ती सबै गुणस्तरीय हुँदैनन् । कतिपय कृतिहरू गुणस्तरीय कसैको लागि लाग्न सक्तछ कसैलाई नलाग्न सक्तछ । सबै साहित्यकारका रहरहरू साहित्य बन्न सक्तैनन् ।

प्रश्न नं. ७ : एउटा स्थापित साहित्यकार बन्न के गर्नुपर्छ ? भनौ, कसरी बन्न सकिन्छ ?
उत्तर : निरन्तर अध्ययन, निरन्तर साहित्य सिर्जना र निरन्तर प्रकाशन यिनै तत्वहरूले साहित्यकारलाई स्थापित गराउँछन् । स्तरीय साहित्य सिर्जना र आफैँसँग प्रतिस्पर्धा गर्दै हरेक रचना अघिल्लोभन्दा स्तरीय र गुणकारी बनाउँन सके स्थापित हुन सकिन्छ ।

प्रश्न नं. ८ : साहित्यले एउटा व्यक्तिको जीवनमा खास के कुरा दिन्छ ?
उत्तर : साहित्यले एउटा व्यक्तिलाई सुसंस्कृत बन्न मद्दत पुर्‍याउँछ, जीवनका धेरै संभावनाहरू भेट्न मद्दत गर्दछ ।

प्रश्न नं. ९  :आज हाम्रो समाजले खोजेको साहित्य चाहिं कस्तो हो त ?
उत्तर : समाजको चाहना समृद्धितिर अघि बढ्नु हो । समृद्धिको लागि एकातिर भौतिक पूर्वाधार जुटाउन जरुरी छ, अर्कातिर सुसंस्कृत बनाउँदै अघि बढ्न आवश्यक छ । त्यसैले हामीले समाजलाई सकारात्मक परिवर्तन गर्ने खालका र विज्ञानसम्मत रचनाहरू रच्नसक्यौं भने समाजमा अरू उज्यालो छाउन सक्तछ ।

प्रश्न नं. १० : साहित्य सर्जकलाई घरपरिवारको सहयोग आवश्यक हुन्छ भन्छन्, हजुरलाई कस्तो सहयोग प्राप्त छ ?
उत्तर : नेपाल जस्तो स्थानमा घर परिवारको सहयोगविना साहित्यकार बन्न गाह्रो छ । समाज, पेशा, संस्कारजस्ता क्षेत्रहरूका कारण साहित्य सिर्जनामा अवरोध आइरहन्छन् । घर परिवारले अनेकौं बाधाहरू ओगटिदियो भने लेखकले राम्रा रचना रच्न सक्तछ । मेरो घर परिवारको राम्रो सहयोग प्राप्त नभएको भए मलाई साहित्यकार बन्न गाह्रो पर्ने थियो । बालक उमेरमा बुबा, आमा, दाजुहरू, दिदीबहिनीबाट सहयोग मिल्यो । अहिले मेरी पत्नी पार्वती, छोराबुहारी, छोरीज्वाइँ, नातिनी र नातिको न्यानो माया र मलाई सहयोग गरिरहेकै कारण मेरो साहित्य सिर्जनामा निरन्तरता आएको छ ।

प्रश्न नं. ११ : सिर्जनामा लेखिए अनुसार हामी व्यवहारमा पनि लागु गर्छौं त ? एउटा लेखकले आदर्शका कुरा लेख्छ तर व्यवहारमा लागु गर्दैन भन्ने आरोप छ नि ! तपाईं लेखाई र गराईमा एकरूपता ल्याउनु हुन्छ ?
उत्तर : सबै सिर्जना व्यवहारिक प्रयोगमै आउँछन् भन्ने छैन । कतिपय सिर्जना कसैको लागि उपयोगी हुन्छन् कसैको लागि हुँदैनन् । हो, लेखकले समाजलाई अँध्यारोबाट उज्यालोतिर डोर्‍याउने सिर्जना गर्नुपर्दछ । तर, राम्रा कुराहरू लेख्ने, अनेकौं आदर्शका कुराहरू लेख्ने तर व्यवहारमा ठीक उल्टो गर्ने लेखक वास्तविक लेखक होइन । आपूmले लेखेका राम्रा बाटाहरूमा स्पष्ट, सफा, सुन्दर र समृद्ध ढङ्गमा अघि बढ्नुपर्दछ भन्ने पक्षमा म छु, र, त्यसै अनुरूप अघि बढिरहेको छु ।

प्रश्न नं. १२ : तपाईंको लागि साहित्य सिर्जनाको उपयुक्त समय, अवस्था र वातावरण कुन हो ?
उत्तर : साहित्य सिर्जनाको लागि मलाई यही समय, अवस्था र वातावरण पर्याप्त भन्ने छैन । जुनसुकै समय वा वातावरणमा पनि समाज र संसारको कुनै न कुनै संवेदनाले छोएपछि म केही न केही सिर्जना गरिहाल्छु । मूख्यतः साहित्य सिर्जनाको लागि छोएको घटना नै प्रमुख रूपमा आउँदछ । बिहानको सुन्दर परिवेशले मलाई लेख्न धेरै घच्घच्याउँछ । घटनाले छोयो र समय मिल्यो भने जुनसुकै समयमा पनि म केही न केही लेख्दछु ।

प्रश्न नं. १३ : हाम्रा यी नदी-नाला, खोला-खोल्सा, पाखा-पखेरा, वन-जङ्गल, यी फाँट, गरा पनि साहित्य लेखनको लागि सिर्जनाका स्रोतहरू बन्न सक्तछन् ? के लाग्छ हजुरलाई ?
उत्तर : संसारमा मान्छे एक्लै बाँचेको छैन । रुख, पात, बिरुवा, माटो, हावा पानी, घाम, जून, जीवनजन्तु, चराचुरुङ्गी सबै सबै हाम्रा साथीहरू मात्र होइन, हाम्रो बचाइ नै उनीहरूमा निर्भर छ । त्यसैले उनीहरूसँग प्रत्यक्ष वा परोक्ष रूपमा नजोडिएको साहित्य, साहित्य बन्न सक्तैन । त्यसैले यी सबै सिर्जनाका स्रोतहरू हुन् ।

प्रश्न नं. १४ : एउटा असल साहित्यकार बन्न प्रतिभा र निरन्तर अभ्यास मध्ये कुन महत्वपूणर् छ ?
उत्तर : निरन्तर अध्ययन, अभ्यास, भ्रमण र सम्पर्कले समाज र संसार बुझ्न सजिलो पर्दछ । प्रतिभा आफैं बन्ने होइन, अध्ययन, वातावरण, मिहिनेत र अभ्यासले प्रतिभा बन्न सजिलो पर्दछ । त्यसैले लेखकको ज्ञान, सीप र क्षमताको कारण राम्रो साहित्य सिर्जना हुन सक्तछ । यसको लागि निरन्तर अभ्यास र अध्ययन बढी जरुरी हुन्छ ।

प्रश्न नं. १५ : हामी साना विद्यार्थीहरूले राम्रो साहित्यकार बन्न के गर्नुपर्दछ ?
उत्तर : जीवन र जगत्बारे गहिरो अध्ययन, निरन्तर सिर्जनात्मक अभ्यास, निरन्तर लेखन र प्रकाशन कर्ममा लाग्ने गरेमा हरेक विद्यार्थी सफल साहित्यकार बन्न सक्तछ ।

प्रश्न नं. १६ : साहित्यको अध्ययन तथा लेखनले हाम्रो शैक्षिक अध्ययन, अध्यापनमा के कस्तो सहयोग पुर्‍याउँछ त ?
उत्तर : शिक्षा भनेको साहित्यको एक अङ्ग हो । साहित्यको क्षेत्र अत्यन्त फराक छ । यसमा सारा संसार र सारा जीवन अटाउँछ । त्यसैले साहित्यको राम्रो अध्ययन र सिर्जना हुनु भनेको शिक्षाको स्तर माथि उठाउँनु हो ।

प्रश्न नं. १७ : सामाजिक सञ्जाल र डिजिटल मिडियाको कारण ससाना बालबालिका र विद्यार्थीहरूको घट्दै गएको पुस्तक पढ्ने बानीमा कसरी सुधार ल्याउँन सकिएला ?
उत्तर : वर्तमान युग डिजिटल वा विद्युतीय तरङ्गको युग हो । यस अवस्थामा विद्युतीय तरङ्ग वा डिजिटल प्रविधिभन्दा टाढा रहेर कसैको उन्नति रहँदैन । तर कुनै पनि कुरामा लट्ठ परेर लागिरहनु उपयुक्त होइन । डिजिटल माध्यमबाट थोरै समयमा धेरै जानकारी प्राप्त गर्न सकिन्छ जुन पुस्तकभन्दा धेरै मात्रामा बढी हो । त्यसैले पुस्तकमा मात्र केन्द्रीत हुनुभन्दा डिजिटल प्रविधिलाई बढी सदुपयोग गरी बढी उपयोगी बनाउँन जरुरी छ ।

प्रश्न नं. १८ : अन्त्यमा, हजुरलाई भन्न मन लागेका कुनै कुरा छन्, जुन हामीले सोध्न बिर्सियौँ ?
उत्तर : यो छोटो समयमा सबै कुरा सोध्न र बताउँन सम्भव छैन । तैपनि तपाईं हामीले धेरै छलफल गर्‍यौँ । समय मिले फेरि गरौँला । मुख्य कुरा तपाईंको विद्यालय व्यवस्थापनले हामीलाई निम्ता गरेर विद्यालयमा आयौँ । शिक्षक, शिक्षिका र तपाईं विद्यार्थीहरूसँग भेटघाट र छलफलको अवसर मिल्यो । यसको लागि विद्यालय प्रशासनलाई हार्दिक धन्यवाद छ ।

प्रतिक्रिया दिनुहोस्: