कविता

काभ्रेको पीडा

५ पुष २०८१
शान्तमुरारि रिजाल

बाढी पैरोले
एकासी आश्विन त
कालो महिना ।

धर्ती डरायो
त्यो वर्षाले ताण्डव
नृत्य गरायो ।

त्यही रोसीले
जमिन हराभरा
कहिले स्वाहा ।

बस्ती ढलायो
धानखेत बगायो
होसै उडायो ।

दुःख गहिरो
आएर त्यो निर्दयी
बाढी पहिरो ।

रोसीले गर्‍यो
सर्वस्व नै विनाश
कस्तो निसाफ ?

धर्तीमा कष्ट
उग्र रोसीले सारा
बस्ती नै नष्ट ।

थ्यो हिजोअस्ति
बाटो पुल र बस्ती
आज त अस्थि ।

काभ्रे रुवायो
रोसीले काभ्रेलीको
चित्त दुखायो ।

रोसीको लात
काभ्रेलीको मुटुमा
भो वज्रपात ।

रोसी बौलायो
सुनकोसीलाई नि
रोग सल्कायो ।

प्रभुको लीला
घाती बाढी पहिरोले
मुटुमा किला ।

वर्षा भो अति
बाढी पैरोले भयो
काभ्रेको खती ।

उड्यो रहर
बाढीले आज खेत
बन्यो बगर ।

भयो जहर
काभ्रेको लागि बाढी
भयो कहर ।

भो कस्तो कृत्य
रोसीले गर्‍यो उग्र
ताण्डव नृत्य ।

कस्तो सनक ?
रोसीले काभ्रेलाई
दियो दनक ।

रोसी भो क्रोधी
सोझा ती काभ्रेलीको
रोसी भो द्रोही ।

कस्तो विपत्ति ?
निभे यो महिनामा
खुसीका बत्ती ।

एकासी साल
असोज बन्यो किन
काभ्रेको काल ?

चन्द्रागिरि-८, मातातीर्थ, काठमाडौं

प्रतिक्रिया दिनुहोस्: