प्रधानको ‘प्रेमाश्रु’ उपन्यास लोकार्पित

६ पुष २०८१

 

२०८१ पुस ५, काठमाडौं । साहित्यिक पत्रकार संघले डालो रेस्टुरेन्ट, अनामनगरमा उपन्यासकार शिव प्रधानको ‘प्रेमाश्रु’ उपन्यासको लोकार्पण गर्‍यो ।

सो लोकार्पण कार्यक्रमका प्रमुख आतिथ्य वरिष्ठ कलाकार मदनदास श्रेष्ठले गर्नुभएको थियो । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित कार्यक्रममा लोकार्पित कृतिका सर्जक प्रधानलाई मायाको चिनोसहित सम्मान गरिएको थियो ।

लोकार्पित उपन्यास ‘प्रेमाश्रु’ बारे प्रा.डा.गोविन्दमान सिंह कार्कीले समीक्षा गर्नुभएको थियोे । कार्यक्रममा पुस्तकका सम्पादक विमल भौकाजीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि मदनदास श्रेष्ठ, अध्यक्ष राधेश्याम लेकाली, भुँडी पुराण प्रकाशनका केशव पराजुली र कृतिकार शिव प्रधानले आआफ्नो मन्तव्य राख्नुभएको थियो ।

उपन्यासकार शिव प्रधानको ‘प्रेमाश्रु’ चौथो कृति तथा दोस्रो उपन्यास हो । साहित्यिक पत्रकार प्रदीप सापकोटाले सञ्चालन गर्नुभएको कार्यक्रममा गीतकार शोभित उप्रेती, साहित्यकार पवन आलोक, डा. दामोदर पुडासैनी, ललिता दोषी, दुर्गा किरण तिवारी, दिव्य गिरी, राजबाबु श्रेष्ठ सागर, श्रीमती दुर्गा लिम्बू लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: