काठमाडौं, पौष ६ गते शनिबार । सूचक प्रकाशनद्वारा नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभाकक्षमा आयोजित कवि सपना लामिछानेको कवितासङ्ग्रह ‘जिन्दगी एक यात्रा’ दोस्रो संस्करण सार्वजनीकरण तथा क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कार समर्पण समारोह भव्य र सभ्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रमको सभापतिमा साहित्यकार हरिप्रसाद पाण्डे र प्रमुख अतिथि वरिष्ठ गीतकार प्रा.डा.कृष्णहरि बराल, विशेष अतिथि वरिष्ठ समालोचक डा. दामोदर पुडासैनी किशोर, कवि जगदीश्वर पोख्रेल, सूचक प्रकाशनका संरक्षक कृष्णबहादुर श्रेष्ठ लगायत रहनुभएको थियो ।
लोकार्पण समारोहमा कवि लामिछानेको कवितासङ्ग्रह ‘जिन्दगी एक यात्रा’ को बारेमा साहित्यकार डा. दामोदर पुडासैनी किशोरले समीक्ष्यात्मक मन्तव्य राख्नुभएको थियो । त्यस अवसरमा स्रष्टा सपना लामिछाने र पुरस्कृत व्यक्तित्व केदारनाथ श्रेष्ठले पनि आफ्ना धारणाहरू राख्नुभएको थियो ।
कार्यक्रममा सूचक प्रकाशनका अध्यक्ष दीपक भेटुवालले क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कारबाट सम्मानित वरिष्ठ शिक्षासेवी केदारनाथ श्रेष्ठको बारेमा प्रकाश पार्नुको साथै कवि सपना लामिछानेले पुस्तक प्रकाशनको सम्पूर्ण जिम्मेवारी दिएर हामीलाई विश्वास गर्नुभएकोमा हामीप्रतिको यो विश्वास र भरोसाको लागि उहाँलाई हार्दिक आभार ! भन्दै भाषा, साहित्य र बौद्ध शिक्षा प्रचारमा समर्पित सूचक प्रकाशनलाई आगामी दिनमा पनि यसरी नै साथ र हौसला दिनुहुने छ भन्ने अपेक्षासहित उपस्थित अतिथिहरूमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा लेखक, साहित्यकार, पत्रकार, विभिन्न संघ-संस्थाका प्रतिनिधि एवं शुभचिन्तक र आत्मीयजनहरूको गौरवमय उपस्थिति रहेको थियो । कवि एवं पत्रकार माधव घिमिरे अटल सहजीकरण गर्नुभएको कार्यक्रममा कवि तथा पत्रकार उमेश पाण्डे, जयराम बिडारी, माइण्ड प्लसका अध्यक्ष नवीन पल्लव, कवि पार्वती पुडासैनी, कवि उत्तम विचार भेटुवाललगायत दर्जनौको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्: