माघेसंक्रान्ति र घिउ – चाकुको महत्त्व

२० पुष २०८१

धार्मिक, पौराणिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको माघेसंक्रान्ति पर्व नजिकिँदै गर्दा त्यसमा खाइने र खुवाइने विशेष परिकार चाकुको आवश्यकता र महत्त्व बढ्दै जानथालेको छ । आफ्ना इष्टमित्र, आफन्त, छोरी–ज्वाइँ, भाञ्जाभाञ्जी, दिदीबैनीलाई डाकेर मनाइने माघेसङ्क्रान्ति पर्वमा घिउ, चाकु, तिलौरी, तरुललगायतका परिकारहरूको विशेष महत्त्व रहिआएको छ । यस पर्वमा अरू कुरा छुटे पनि चाकु भने मुख्य रूपमा नछुटाइ खाने र ख्वाउने गरिन्छ । यो ऐतिहासिक रूपमा चल्दै आएको धार्मिक परम्परा हो । चाकु खानै पर्ने निश्चित कारण र आवश्यकता कतै उल्लेख नभए पनि यसलाई परम्परागत रूपमा धार्मिक मान्यताका साथ खाने चलन चल्दै आएको मानिन्छ ।

राम्रोसँग बनाइएको चाकुमा नरिवल, काजु, बदाम, दाखलगायतका मसलाहरू हालेर तयार पारिन्छ यसले चाकुलाई स्वादिलो र फाइदाजनक बनाउँछ । चाकुमा चिसो मौसमको लागि मानव शरीरमा आवश्यक पर्ने औषधीय गुणसमेत रहेकाले पनि माघे सङ्क्रान्तिमा घिउ–चाकु खानु सांस्कृतिक महत्त्वका साथै आयुर्वेद अनुसार फाइदाजनक पनि मानिन्छ । चाकुले शरीर कमजोर भएका बेला शरीरमा ताप, चाप र तागत पनि दिनेगर्छ पनि भनिन्छ । चाकुमा कुनै प्रकारको केमिकलको मिसावट नभएकाले चाकु खाँदा खासै कसैलाई पनि कुनै असर नगर्ने बताइन्छ । त्यसैले पनि यस पर्वमा चाकुको प्रयोग विशेष रहँदै आएको छ ।

माघेसङ्क्रान्तिमा खासगरी टोखा, भक्तपुर, पाटन, असन, इन्द्रचोक चाकुको लागि प्रसिद्ध छ । त्यसमा पनि काठमाडौंको उत्तरी क्षेत्रमा अवस्थित टोखाबजार चाकुको लागि अझ बढी प्रसिद्ध छ ।
टोखा नेवार समुदायको मुख्य बस्ती रहेको शहर पनि हो । यहाँ काठमाडौँका अन्यत्र ठाउँको तुलनामा माघेसङ्क्रान्तिका लागि चाकु बढी उत्पादन हुनेगर्छ । यतिखेर यहाँका उद्यमीलाई चाकु बनाउन भ्याइनभ्याइ छ । टोखामा मात्रै चाकु उत्पादन गर्ने एक दर्जन बढी उद्योगहरू छन् । ती उद्योगमा यतिबेला चाकु उत्पादनको विशेष चहलपहल बढेको पाइन्छ । टोखाबाट काठमाडौँका अधिकांश पसलेहरूका साथै कीर्तिपुर, भक्तपुर, पाटन र उपत्यका बाहिरका भैरहवा, पोखरा, नारायणघाट, बुटवल, जनकपुर, विराटनगर, झापालगायतका शहरहरूका लागि पनि चाकु बिक्री हुँदै आएको बताइन्छ ।

‘टु’ र ‘ख्यः’ भन्दाभन्दै उक्त शब्द अपभ्रंश हुँदै ‘टोखा’ हुन गएको मानिन्छ । नेवारीमा ‘टु’ को अर्थ उखु, ‘ख्यः’ को अर्थ ‘फल्ने ठाउँ’ हो । त्यसैले पनि टोखा उखुखेती तथा चाकु उत्पादनका लागि प्रसिद्ध ठाउँ मानिएको हो । टोखामा उखुबाट चाकुलगायत विभिन्न परिकार बनाइने भएकाले पनि टोखाको चाकुको महत्त्व देश, विदेशसम्म बढ्दै गएको छ । टोखाका चाकु उद्योगहरूले वार्षिक रूपमा लाखौँको चाकु र उखुबाट बन्ने विभिन्न परिकारहरूको कारोवार गर्दै आएका छन् ।

चाकु संरक्षण तथा उत्पादन वृद्धिको लागि टोखा नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा टोखाको चाकु अन्तर्राष्ट्रिय स्तरमा ‘ब्रान्डिङ’ गर्ने घोषणासमेत गरेको छ । हाल भने टोखामा उखु खेती हराउँदै गएकोले टोखामा उत्पादन हुने चाकुका लागि आवश्यक पर्ने सख्खर तराई लगायतका विभिन्न जिल्लाबाट आउने गरेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्: