
नुवाकोट (लिखु–६) छहरे, माघ १० गते विहीवार । सेई बोर्डिङ्ग स्कूलले नेपाली भाषा साहित्यमा अतुलनीय योगदान दिनुहुने विद्वतरत्न प्रा.डा. गार्गी शर्माको अभिनन्दन तथा विद्यार्थीसँग साहित्यिक भलाकुसारी र पठनसंस्कृतिको विकासका लागि स्रष्टा र विद्यालयको समन्वय, कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । प्रमुख अतिथि डा.शैलेन्दुप्रकाश नेपाल, विद्यालयका प्राचार्य राजन खतिवडा, विशिष्ट अतिथि डा.सत्यराज थपलिया, शिक्षिका शान्ति सिलवालले टीका, माला, खादा, अभिन्दन–पत्र र नगद रकमसहित विद्वतरत्न गार्गीको सम्मान तथा अभिनन्दन गर्नुभएको थियो ।
विद्वतरत्न प्रा.डा. गार्गी शर्मा, डा.शैलेन्दुप्रकाश नेपाल, डा.सत्यराज थपलिया, डा.अम्बिका अर्याल, साहित्यकार/पत्रकार उमेश पाण्डे, साहित्यकार तारा के.सी., कवि गङ्गा आचार्य सेढाईलगायतको उपस्थिति र सेई बोर्डिङ्ग स्कूलको समन्वय तथा संयोजनमा साहित्यिक अन्तरक्रिया र अभिनन्दन तथा सम्मान कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा.नेपालले मलाई कसैकसैले तँ भाग्यमानी छस् भन्छन् तर किन हो थाहा छैन तर म भाग्यमानी छु भन्ने कुराचाहिँ यी घटनाहरूले पुष्टि गर्दै आएका छन् कि यसै वर्ष अत्यन्त आदरणीय व्यत्तित्त्व डा.सत्यराज थपलियालाई सम्मान तथा अभिनन्दन गर्ने कार्यक्रमको पनि म प्रमुख अतिथि बनेको थिएँ । आज पनि आदरणीय अग्रज दिदी डा.गार्गी शर्मा जो मेरो पिताजीकै पालादेखि पारिवारिक, आत्मीय र घनिष्ट सम्बन्ध रहेको छ, आज उहाँलाई सम्मान गर्ने यस महान कार्यक्रममा पनि घुमीफिरी म प्रमुख अतिथि हुनपुगेको छु, यो सानोतिनो भाग्यले प्राप्त हुने कुरा हैन भन्नुहुँदै त्यस अर्थमा म सबैभन्दा भाग्यमानी हुँ भन्ने लाग्छ, भन्नुभयो । उहाँले यो सम्मानको कार्य महान यज्ञ हो, त्यसको साथै जुन विद्यार्थी भाइबहिनीहरूसँगका अन्तरक्रिया कार्यक्रममा उनीहरूले आफ्ना जिज्ञासाहरू हामीसँग राखे हामीले आफ्ना उत्तरहरू दियौँ, यो विद्यालयको राम्रो काम हो, यसको लागि प्राचार्य राजन खतिवडालगायत विद्यालय परिवारप्रति शुभकामना व्यक्त गर्दछु, भन्नुभयो । साहित्य कला भनेको संसारको मेरुदण्ड हो, यी कुरा नभै संसार चल्दैन, अरू सबै कुरा साहित्य र कलाका पछाडि आउने विषय वस्तुहरू हुन् भन्ने उहाँको धारणा थियो । डा.नेपालले साहित्यकार जन्माउने विद्यालय हो र विद्यालयमा तिनैका साहित्य पढिन्छ अनि त्यसका माध्यमबाट शिक्षा प्राप्त हुन्छ, भन्नुहुँदै आफूभित्र रहेका अनन्त प्रतिभाहरूको पहिचान गर्न पढाइलाई पहिलो प्राथमिकतामा राखेर कला, साहित्य, खेलकुदलगायतका विविध कार्यक्रमहरूमा विद्यार्थी भाइबहिनीहरूले सहभागी हुनु अनिवार्य छ, भन्ने कुरामा जोडदिनुभयो ।
कार्यक्रमका सभापति तथा विद्यालयका प्रधानाध्यापक राजन खतिवडाले नेपाली भाषा साहित्यमा अतुलनीय योगदान दिनुहुने विद्वतरत्न प्रा.डा. गार्गी शर्माको अभिनन्दन तथा विद्यार्थीसँग साहित्यिक भलाकुसारी तथा अन्तरक्रिया गर्न र पठनसंस्कृतिको विकासका लागि स्रष्टा र विद्यालयको समन्वय, कार्यक्रम भव्य रूपमा आयोजना गर्न विद्यालयलाई जुन अवसर दिनुभयो त्यसको लागि विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछ, भन्नुहुँदै साहित्यिक र शैक्षिक क्षेत्रको पाटो फरक नहुने बताउनुभयो । प्राचार्य खतिवडाले आफू पनि धेरथोर साहित्यप्रति झुकाव राख्ने मान्छे भएकोले साहित्यकारहरूसँग सम्पर्क र सम्बन्ध राख्ने, उहाँहरूसँग सामाजिक सञ्जालमा जोडिएर उहाँहरूको गतिविधि बुझ्ने र उहाँहरूका सिर्जनाहरू प्ढने काम निरन्तर गरिरहेको छु, भन्नुभयो । उहाँले आज हामीसँग जोडिएर जुन यो अवसर प्रदान गर्नुभयो, हामीले हाम्रोतर्पmबाट सक्ने सेवा, सद्भाव यहाँहरूमा अर्पण गर्यौँ यो एउटा जोडिने जमर्को मात्र हो, तर भोलिका दिनमा साहित्य क्षेत्रलाई अझ विस्तार गरेर यो सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता पनि व्यक्त गर्दछु, भन्दै यस्ता सम्मान, छलफल र अन्तरक्रिया सिकाइको एउटा पाटो भएकोले विद्यार्थी भाइबहिनीहरूले यसबाट धेरै कुरा सिक्दैजाने पनि बताउनुभयो ।
उमेश पाण्डेले संयोजन गर्नुभएको कार्यक्रममा शिक्षिका शान्ति सिलवालले अतिथिहरूमा स्वागत मन्तव्य राख्नुभएको थियो भने डा.अम्बिका अर्यालले विद्वतरत्न प्रा.डा. गार्गी शर्माको परिचयसहित शुभकामना व्यक्त गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा डा.सत्यराज थपलिया, तारा के.सी. र गङ्गा आचार्य सेढाईले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।
आफ्नो सम्पूर्ण जीवन शिक्षा र साहित्यिक सेवामा समर्पित गर्नुभई अनवरत शिक्षा, साहित्य र सामाजिक सेवामा क्रियाशील रही आम नेपाली शिक्षक/शिक्षिकाहरू, लेखक/साहित्यकारहरू, विद्यार्थी/भाइबहिनीहरू र अझ खासगरी नारी स्रष्टा/सर्जकहरूका प्रेरणा, हौसला र उर्जाको स्रोत बन्नुको साथै सर्वोच्च प्राज्ञिक क्षमता, नेपाली भाषा, साहित्य र वाङ्मय जगत्मा पुर्याउनुभएको विशिष्ट योगदान र शैक्षिक तथा सामाजिक सेवाको क्षेत्रमा गर्नुभएको उदाहरणीय त्यागको उच्च सम्मान र आदर प्रकट गर्दै विद्वतरत्न प्रा.डा. गार्गी शर्मालाई ससम्मान यो अभिनन्दन–पत्र प्रदान गरिएको कुरा सेई बोर्डिङ्ग स्कुलले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्: