काठमाडौं युरो स्कुलको प्लाष्टिकमुक्त शनिबार अभियान शुभारम्भ

१० फाल्गुन २०८१

काठमाडौ, फागुन १० गते शनिबार । काठमाडौं युरो स्कुल गोंगबुँ, काठमाडौंले टोखा नगरपालिका र डोको फोहोर प्रशोधन व्यवस्थापनको सहकार्यमा ‘प्लाष्टिक मुक्त शनिबार अभियान – २०८१’ को शुभारम्भ गरेको छ ।

टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीको प्रमुख उपस्थितिमा उक्त अभियानको शुभारम्भ भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर अधिकारीले स्वच्छ, सफा, हरियाली, हराभरा टोखा बनाउन नगरपालिकाले निरन्तर प्रयास गरिरहेको र त्यसैको प्रयास स्वरूप नगरपालिका भित्रका नदीनालाहरूको सरसफाईलाई विगत एकवर्षदेखि निरन्तरता दिँदै आएको बताउँदै अबका दिनमा पनि सम्बन्धित संघसंस्थाहरूसँगको सहकार्यमा वातावरण सरसफाई र प्रदूषणमुक्त टोखा नगरपालिका बनाउन हरसम्भवको प्रयास गरिने कुरा बताउनुभयो ।

कार्यक्रमको समापन गर्दै काठमाडौं युरो स्कुल गोंगबुँका अध्यक्ष तथा कार्यक्रमका संयोजक प्रमोद पाण्डेले यस युरो स्कुलले आयोजना गरेको ‘प्लाष्टिक मुक्त शनिबार अभियान’ वातारणको सुरक्षा र पृथिवीको रक्षाको लागि हो, भन्नुहुँदै हाम्रो यो अभियान वातावरणको सुरक्षा र गाउँटोलको सफाईको लागि कोशेढुङ्गा सावित हुन्छ भन्ने हामीले आशा लिएका छौँ, भन्ने बताउनुभयो । ‘समुदायका हरेक व्यक्तिले यस अभियानलाई सहयोग गरिदिनुहुनेछ भन्ने लागेको छ’, पाण्डेले भन्नुभयो, ‘प्लाष्टिकको कारणबाट हुने मानवीय क्षति, प्राणीहरूको हानिनोक्सानी, रोगव्याधी र वातावरण प्रदूषणको रोकथामको लागि प्लाष्टिकको प्रयोगमा रोक लगाउँदै प्लाष्टिकमुक्त गाउँटोल बनाउनुपर्छ भन्ने हाम्रो अभियान ।’ हामीले प्रयोग गरी हाम्रा वरिपरि फालेका प्लाष्टिकजन्य पदार्थले हामीलाई हानि पुर्‍याउँछ भन्ने आजको यो साङ्केतिक कार्यक्रम भएपनि यस कार्यक्रमलाई सरोकारवाला विभिन्न संघसंस्थाहरूसँगको सहकार्यमा हरेक शनिबार बिहान निरन्तरता दिँदै जाने पनि संयोजक पाण्डेले बताउनुभयो ।

बानियाँटार पुलदेखि सुरु गरी गोंगबुँचोकसम्म आई समापन गरिएको प्लाष्टिकजन्य फोहोरहरूको सफाई अभियानमा काठमाडौं युरो स्कुल गोंगबुँका शिक्षक, विद्यार्थी, अभिभावक, कर्मचारी, व्यवस्थापन समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । अबको कार्यक्रममा भने समुदायका व्यक्तिहरू, विभिन्न सामाजिक संघसंस्थाका सदस्यहरू, नगरपालिका र वडाहरूको सहयोग र सहभागिता रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्: