कविता

आकाशबल्ली

७ चैत्र २०८१
डा. सत्यराज थपलिया

स्वदेशै त हो लेक, बेँसी, तराई ।
सबै एक हौँ छैन कोही पराई ॥
निजै देह हो टाउको हातगोडा ।
कतै चोट लागे उही चित्त रोला ॥१॥

कतै शुद्ध सद्भावकै भो अभाव ।
कतै बुद्धको बुद्धिमा लाग्छ दाग ॥
कतै नागबेली परी बग्छ खोला ।
सुतेका कतै कुण्डमा शम्भुभोला ॥२॥

चरेका कतै जङ्गली जीव अर्ना ।
झरेका कतै देखिने दिब्य झर्ना ॥
लडे वृक्ष बूढो स्वयं हुन्छ जर्ना ।
डढे बादलै बन्छ रातो उपर्ना ॥३॥

कतै स्वच्छ आकाशमा मेघ कालो ।
कतै सम्म भूमि भिरालो उकालो ॥
कतै चन्द्र दायाँ, कतै भाग्य बायाँ ।
कतै घामछायाँ, कतै रामछायाँ ॥४॥

कतै भोगमा/योगमा मग्नमस्त ।
कतै रोगमा/शोकमा अस्तव्यस्त ॥
कतै मान/सम्मानका छन् सलामी ।
कतै लास बोकी हिँडेका मलामी ॥५॥

कतै मग्न छन् खेल्न साथी सहेली ।
कतै नग्न छन् ती भिजेका परेली ॥
छ संसार यस्तै भनी नित्य हल्ली ।
अझै झाङमा झुल्छ आकाशबल्ली ॥६॥

(छन्द : भुजङ्गप्रयात/२०७२।१२।२२)
लिखु–६, थानसिङ, नुवाकोट

प्रतिक्रिया दिनुहोस्: