प्रगतिमा लम्किरहेका उदीयमान बालप्रतिभाहरू

१५ चैत्र २०८१

१. प्रगतिमा लम्किरहेकी बालप्रतिभा करुणा
करुणा थुलुङ राईको जन्म उदयपुर जिल्लाको गाईघाटमा बुबा लाल कुमार राई र आमा जीतमाया राईको कोखबाट भएको हो । इडन ब्रिज एकेडेमी, टोखा–४, धापासी, काठमाडौंमा कक्षा ९ मा अध्ययनरत राईले कक्षा १ देखि नै त्यसै विद्यालयमा अध्ययन गर्दै आइरहेकी छन् । पढाइमा मेधावी छात्रा रहेकी करुणा हरेक वर्ष उत्कृष्ट तीन विद्यार्थीभित्र पर्न सफल हुँदै आएकी छिन् । उनको खास रुचिको विषयहरूमा नृत्य, चित्रकला, पुस्तक पढ्ने रहेका छन् ।
उनले हालसम्म प्राप्त गरेका सम्मान तथा पुरस्कारमा–
१. प्याब्सन मिस लिटल आइडल :मिस कन्फिडेन्ट टाइटल अवार्ड जित्नुको साथै उत्कृष्ट ७ कन्टेस्टेन्ट मा पर्न सफल,
२. राइजिङ स्टार इभेन्टमा सेकेण्ड रनर–अप हुन सफल,
३. संसाक मासिक बाल प्रतिभा पुरस्कारबाट पुरस्कृत,
४. टोखा नगरपालिकाद्वारा आयोजित वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल,
५. चारुमती ओपन स्काउट ट्रुप एकल नृत्य, सामुहिक नृत्य र भेषभूषा प्रतियोगितामा प्रथम,
लगायत विद्यालबाट बेस्ट मनिटर अवार्ड, द मोष्ट पङ्चुअल स्टुडेन्ट अवार्ड लगायत अनेकौँ सम्मान तथा पुरस्कार प्राप्त गर्न सफल भएकी छिन् ।

२. प्रशंसनीय बालप्रतिभा सुरमस
पारामाउण्ट एकेडेमी, टोखा–८, गोङ्गबुँ, काठमाडौंमा कक्षा ६ मा अध्ययनरत छात्रा सुरमस तामाङ पिता सलुन तामाङ र माता देवीका तामाङको कोखबाट काठमाडौंमा जन्मिएकी हुन् । उनी यस विद्यालयमा नर्सरीदेखि अध्ययनरत छिन् । पढाइ लेखाइमा अत्यन्त उत्कृष्ट रहँदै आएकी सुरमस आन्तरिक तथा बाह्य प्रतियोगिताहरूको साथै कक्षागत परीक्षाहरूमा पनि प्रथम तथा द्वितीय स्थान हासिल गर्दै आएकी छिन् । पढाइ लेखाइको साथ साथै सुरमसको साहित्यप्रति पनि उत्तिकै रुचि भएको पाइन्छ । उनी सङ्गीतका विभिन्न प्रतियोगिताहरूमा पनि प्रथम तथा उत्कृष्ट स्थान हासिल गर्न सफल भएकी छिन् । कक्षा ६ मा अध्ययन गर्ने सुरमस तामाङले कराँतेमा गोल्ड मेडलसम्म प्राप्त गर्न सफल भएकी छिन् ।

३. उदीयमान बालप्रतिभा सुमिनेश
सुमित्रा पाण्डे र दिनेश पाण्डे दम्पतीका कान्छा छोराका रूपमा काठमाडौँमा सुमिनेश पाण्डेको जन्म भएको हो । उनको स्थायी ठेगाना नुवाकोटको लिखु–६, थानसिङ हो । सानैदेखि अध्ययनमा असाधारण रुचि देखाएका कारण उनी सधैँ उत्कृष्ट पहिचान बनाउन सफल भए । हाल उनी काठमाडौंको टोखा–१०, बानियाँटार, काठमाडौं युरो आईबी वर्ल्ड स्कुलमा कक्षा ९ मा अध्ययनरत छन् ।
कोरोनाकालको लकडाउनको समय सदुपयोगार्थ आफ्ना पिताले केही नयाँ प्रतिभाहरूलाई छन्दकविताको साधना गराउँदा सुमिनेश पनि दाजुसँगै बसी हेर्थे, सुन्थे । यसबाट कविताप्रति चाख बढी उनमा साहित्यको आधारशिला तयार भयो । तत्पश्चात् उनले आफ्ना भावनालाई कवितामा उतार्ने चेष्टा गर्न थाले । पिताजी साहित्यप्रेमी भएकाले उनमा पनि त्यसको छाप पर्नु स्वाभाविकै हो । पिताको प्रेरणासँगै आफ्नो मिहिनेत र अभ्यासले गर्दा उनी क्रमशः कविताको दुनियाँमा प्रवेश गर्दै छन्, सिक्दै छन् ।
घरमै छन्दको बाह्रखरी सिकेका सुमिनेशले विभिन्न कार्यक्रममा बुबासँग सहभागी हुँदा छन्दकविताको वाचन पनि गर्दै आएका छन् । उनका कवितावाचन सामाजिक सञ्जालतिर पनि भेटिन्छन् । केही समययता उनमा कविताको प्रस्फुटन हुन थालेको छ । भर्खरै मात्र संस्कृत मा.वि. रानीपोखरीले आयोजना गरेको काठमाडौँ जिल्लाव्यापी माध्यमिक विद्यालयस्तरीय कविता प्रतियोगितामा प्रथम स्थान हासिल गर्नु उनको महत्त्वपूर्ण उपलब्धि मानिएको छ । आफ्नो सृजना, अध्ययन र परिश्रमलाई निरन्तरता दिएमा सुमिनेश नेपाली साहित्याकाशका चम्किलो नक्षत्र बन्न सक्ने सम्भावना देखिन्छ ।

४. पढाइसँगै अतिरिक्त क्रियाकलापमा दौडिरहेकीे बिपसा
बुबा विजय सिटौला र आमा सारा खड्का सिटौलाको कोखबाट नुवाकोटको बिदुरमा जन्मिएकी बिपसा सिटौला काठमाडौंमा बस्दै आएकी छिन् । कक्षा ४ बाट दीपज्योति आ.मा.वि., गोङ्गबुँ, काठमाडौंमा भर्ना भएकी बिपसा सिटौला यतिबेला भने यस विद्यालयमा कक्षा ८ मा अध्ययनरत छिन् । पढाइमा पनि राम्रो स्तरमा रहेकी बिपसा पढाइको साथै आन्तरिक तथा बाह्य सञ्चालन हुने अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल हुँदै आएकी छिन् । खास गरी उनको रुचिको विषयहरूमा खेलकुद, चित्रकला, भ्रमण र कथा/कविताका नयाँ पुस्तकहरू पढ्ने रहेको छ । भविष्यमा नर्स पढेर दुःखी, गरिबको सेवा गर्ने लक्ष्य बोकेकी बिपसाले यस वर्ष दीपज्योतिको उत्कृष्ट बास्केटबल खेलाडीको मेडल उचालिन् भने फूटबलमा पनि उत्कृष्ट नै रहिन् । विद्यालयले आयोजना गर्ने विभिन्न दौड प्रतियोगिता बाहेक नै उनले टोखा नगरपालिकाले आयोजना गरेको यस वर्षको राष्ट्रिपति रनिङ्ग शिल्ड–२०८१ मा ३ हजार मिटरतर्फ प्रथम स्थान हासिल गरिन् भने ४ सय मिटर दौडमा चौथो बन्न सफल भइन् । राष्ट्रिय खेलाडी बनेर गाउँ, समाजको इज्जत राख्नुछ भन्ने बिपसा सिटौला पढाइको अतिरिक्त निरन्तर खेल अभ्यासमा पनि जुट्ने गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्: