श्रीमतीको गहना बेचेर किताप त छापें । अब विमोचन कसरी गर्ने होला ? अक्षरप्रसाद ‘दुःखीले’ साथी शब्दप्रसाद ‘पीडितसँग’ गुनासो गरे ।
‘पीडित’, चिन्ता नगर प्रविधिको जमानामा जुमको माध्यमबाट गर्दा भै’हाल्छ । हलको पैसा तिर्न नपर्ने, निम्तालुहरूलाई खाजा ख्वाउन नि नपर्ने ।
‘दुःखी’, तिम्रो सुझाव एकदमै ठिक लाग्यो, उत्साहित हुँदै उनले भने, बरु लिङ्क पो कसरी लिने होला ?
‘पीडित’, त्यो त मेरो सालोको श्रीमतीको मितिनीको स्कूल छ । त्यहाँ जुमबाट पढाउने गर्छन् । मैले भनेपछि नाइँ भन्दैनन् ।
‘दुःखी’, त्यसो भए कुन समय उपयुक्त होला ? दिउँसो अफिस, घरको कामले फुर्सद हुँदैन । साँझ विशेषगरी नारी स्रष्टालाई खाना पकाउने, खाने गर्दा नौ बजिहाल्छ ।
‘पीडित’, राति १० बजे राख्दा ठिक्क हुन्छ । त्यसपछि साहित्यकारहरू फुर्सदमा हुन्छन् ।
‘दुःखी’, तिमीले ठिक भन्यौ । कार्यक्रम त भव्य गर्नुपर्छ । म सय जनालाई निम्ता गर्छु । तिमीले सय जना बोलाऊ । दुईसय जना भएपछि भन्या जस्तो कार्यक्रम भै’हाल्छ । बरु कहिले गर्ने होला ?
‘पीडित’, राम्रो कामको लागि ढिला किन ? पर्सि शनिबार नै हुन्छ ।
‘दुःखी’, शनिबार थुप्रै साहित्य कार्यक्रम हुन्छ । दिनभरि घरी यो, घरी त्यो, कार्यक्रममा धाउँदा सबै थाकिसकेका हुन्छन्, अनि राति पनि कार्यक्रममा को आउलान् र ?
‘पीडित’, त्यसको चिन्तै नगर न हाम्रो काम बोलाउने हो । आउनेको काम आउने हो ।
शनिबार राति निर्धारित समयमै ‘दुःखी’ र ‘पीडित’ जुममा उपस्थित भए तर निम्तालु कोही पनि देखिएनन् । राति १२ बजेसम्म पनि नआएपछि ‘दुःखी’ ले भने मचाँहिँ सबैको कार्यक्रममा गएँ । मेरोमा चाँहिँ कोही आएनन् ।
‘पीडित’, ‘दुःख नमान साथी, सय बराबर तिमी, सय बराबर म, दुईसय पुगिहाल्योे ।’
कपन, काठमाडौं।
प्रतिक्रिया दिनुहोस्: