गोधूलिबाट
छिरबिरे बादलहरू
निस्कियो
र एकछिन हस्तिनापुर माथिको
घाम छोपिदियो
त्यसपछि
अर्जुनको अग्नि समाधिको
आशामा
जयद्रथहरू खुशीले उफ्रिए
गान्धारबाट बैशाखी टेकेर
हस्तिनापुर छिरेका
शकुनिहरूले उत्सव मनाए
द्रौपदीको चीर हरण गर्ने
दुशासनहरूको अट्टहासले
हस्तिनापुर कुरुप बन्यो फेरि एकपटक
धृतराष्ट्रहरू
कमा र फुलिष्टप नहटाउने भन्दै
पाण्डवहरूलाई
पाँच गाउँ पनि नदिने
सङ्कल्प लिएर फर्किए हस्तिनापुर
आफ्नै प्रतिज्ञाले थलिएका
निष्प्राण गङ्गापुत्र भीष्म
वाणहरूको शैयाबाट
हेरिरहेका थिए ताण्डव नृत्य
कृपाचार्य
द्रोणाचार्य
दुर्योधन
शकुनि
अश्वस्थामा
अनि कर्णहरू चक्रव्यूहभित्र
घोचिरहेका थिए
एक्लो अभिमन्युलाई
वाणका निर्दयी सुइराहरूले
नूनको भारिमा पुरिएका
द्रोणाचार्य अनि कृपाचार्य
रेट्दैथिए सत्यको घाँटी
दुर्योधनले अङ्गदका राजा बनाएपछि
आफ्नै भाइहरूमाथि कर्ण
प्रहार गरिरहेका थिए ब्रम्हास्त्र
दुर्योधनको ढिपीले
चर्कियो युद्ध
शान्तिदूत कृष्णहरू
बनाइए हाँसोका पात्र
जित कसैको भएन
दुर्योधनको जिद्दीले
भएको कुरूक्षेत्र
समग्रमा
रुपान्तरित भयो हस्तिनापुर
लासहरूको बगैँचामा….!!
(प्रेम राई परीक्षित इडन ब्रिज एकेडेमी, धापासी , काठमाडौंको संस्थापक प्रिन्सिपल हुनुहुन्छ।)
प्रतिक्रिया दिनुहोस्: