लघुकथा

चिन्तन

२१ चैत्र २०८१
भूमिका गैरे तिमिल्सिना

‘कहिले नदेखेको त्यो अल्लारे ठिटो को होला ?’ दर्शकतिर नियालेर कार्यक्रम सञ्चालकले आफैंलाई प्रश्न गरे अनि कार्यक्रम सुरू गरे ।
सधैझैँ यसपालि पनि साहित्यकार आफैंले खर्च बेहोरेर कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रममा राम्रै उपस्थिति थियो । साहित्यिक विषयमा गहन चर्चा परिचर्चापछि रचना वाचनको कार्यक्रम सुरू भयो ।
सबैले केही न केही सुनाए । सबैको कला र गलाले वातावरण रोचक बनेको थियो । उद्घोषकले अबको पालो छवि शर्माको भनेर बोलाए । ऊ जुरूक्क उठ्यो र मञ्चतिर लाग्यो । सबैले मनमनै सोचे, ‘नयाँ अनुहार रहेछ ।’
उसको वाचन कलाले उपस्थित सबैको ध्यान खिच्यो । प्रस्तुति दमदार थियो । सबैले मुक्तकण्ठले प्रशंसा गरे । उसको मुहारमा चमक आयो ।
त्यसपछि उसले साहित्यिक साधना र अभ्यासलाई आत्मसात गर्न थाल्यो । छोटो समयमा उसले अलग पहिचान बनाउन सफल भयो । उसमा आएको परिवर्तन देखेर उसका साथीहरू खिसीट्युरी गर्न थाले ।
एउटा साथीले हाँस्दै भन्यो, ‘बूढाहरूको बीचमा बसेछ, सेल्फी खिँचेछ । के के नै प्रगति गरेझैँ गर्छ ? तात्तो न भुत्लो, माखो मार्ने होइन । जतिखेर नि घोप्टिएर लेख्या छ, लेख्या छ ।’
अर्कोले थप्यो, ‘अचेल त न फोन छ, न खबर छ । के साह्रो बिजी भएको हो, कुन्नि ? रमाइलो गर्ने बेलामा साहित्यको भूत चढेको छ । यो पनि एउटा नशा नै रहेछ कि क्या हो ?’
पहिलोले खिल्ली उडाउँदै भन्यो, ‘साहित्यकारको ट्याग लगाइस् क्यारे ! अब हामी किन चाहियो र ? तिनै बूढाहरूको माझ बस् ।’
छवि गम्भीर भयो र भन्यो, ‘मलाई बाँचुन्जेल मात्र होइन यार, मरेपछि पनि बाँच्नु छ ।’

गैंडाकोट–४, नवलपुर। 

प्रतिक्रिया दिनुहोस्: