खै केही गर्न सकिएन ! मन सधैं हिनताबोधले ग्रसित भएको छ । मन नै अमिलो भएपछि मह खाए पनि के ? चास्नि खाए पनि के ?
हरेक चिज वेस्वादको । हरेक दृष्य बिझाउने ।
दिदीबहिनी, साथीसङ्गीको फूर्तिफार्ति र रवाफ हेरिसाध्य छैन । माइती, मावली सबैलाई केही न केही उपहार लगिदिएका छन् । आफूसँग दिनलाई केही छैन !
माइती, मावली जानुभन्दा घरै बस्नु वेश भन्यो, चाडपर्वमा पनि नगयो । मन गह्रौं हुन्छ ।
नन्द आमाजूको हाँसो घरभरि गुञ्जन्छ । म काममै व्यस्त हुन्छु । चिया नास्ता, चाड अनुसारका खाना पकाउन मैले माइत जाँदा बुहारीलाई सघाएँ भनेर मेराले पनि सघाऊन् भन्ने कल्पनाले घरी घरी सताउँछ ।
कहिलेकाहीँ चाडपर्व मेरा पनि हुन् नि जस्तो लाग्छ । फेरि रोकिन्छ मन । रित्तो हात लिएर कसरी जाउँ भनेर । पोहोर दिदीबहिनीले दिएका साडी देखाएर आमा कति रोमाञ्चित हुनुभएको थियो !
म माइत जाँदा या मावल जाँदा मसँग कुनै रहर जाँदैन । कसैलाई पनि उत्साह भर्दैन ! अनि मेरो रहर, चाह ओइलिन्छ । उम्रन अघाबै मूर्झाउँछ ।
घरमा लागेका ठेस, मनमा लागेका चोट सबै सबैलाई मनभित्रै राखेर खाटा पार्न प्रयत्नशील हुन्छु । केही दिन नसके पनि कमसेकम आफ्नोतर्फको दुःख त नदिऊँ !
एक दिन मेरी साथी आएकी थिई । तँ त सारै ‘कन्जुस्’ छस् रे त !
म अक्क न बक्क परेँ ।
उसले नै भनी ‘तँ त बाबुआमालाई माखो दिन्नस् रे त ! अरूले के के दिँदा रै’छन् त !
म शून्य भएँ । रिल जसरी आफ्नै जीवन घुम्यो फनफनी ! ऊ बिदा भएर गै । तर उसले भनेको ‘कञ्जुस्’ शब्दले मेरो मनमा गहिरो गरी रोपिरह्यो ।
वनस्थली, काठमाडौं।
प्रतिक्रिया दिनुहोस्: