लघुकथा

सम्बन्ध

२७ चैत्र २०८१
उमेश पाण्डे

वास्तवमा सम्पन्न जिद्दीवाल नै हो । विषय, प्रसङ्ग, घटना, अवस्था जेसुकै हुन् । कुन कारणले कुन घटना उत्पन्न भएको छ । काम र असरको सङ्गति के छ (?) उसलाई कुनै मतलव छैन । अरूलाई घोच्याउन, कसैलाई घृणा गर्न, कुनैको उपेच्छामा लाग्न र अरूको तिरस्कारमा ऊ प्रायः अगाडि नै हुन्छ । एकअर्थमा सम्पन्न दुराग्रही, ढिपीवाल र घमण्डी नै हो भन्थे साथीहरू !
विवाहको भोलिपल्ट बिहान आमाले भन्नुभयो, ‘बाबु ! नुवाइधुवाइ सफा भएर दुवैजना मन्दिरमा गएर पूजाआजा गरेर आओ ।’ ‘हस् आमा’ यत्ति मात्र भन्यो । आज उसले आमाको कुरामा कुनै प्रतिकृया जनाएन । सम्पन्न र समृद्धि मन्दिर जान तयार भए । भाञ्जी एलिना म पनि जान्छु भनेर साथै लागिन् ।
जम्माजम्मी बीस मिनेट जति लाग्ने बाटामा दुवैजानाको खासै कुराकानी भएन । एनिला अघि अघि हिँडिरही । आमाले हिँड्ने बेलामा ‘चतुर्थीको तयारी भैसक्यो छिटो आउनु है’ भनेको सम्झिए । दुवै जना पूजा सकेर छिटै फर्किए ।
‘सम्पन्न ! आज तिमीलाई एउटा कुरा सम्झाउनुछ, भनौ ! हुन्छ ?’ ‘हुन्छ भन, के भन्नुछ ?’ सम्पन्नले भन्यो । फर्किंदा समृद्धिले चप्प हात समाउँदै भनिन्, ‘सम्पन्न ! म तिम्रै जिद्दीले गर्दा आज विवाह गर्न बाध्य भएँ । मेरो डाक्टर बन्ने रहर तिम्रै लागि छोड्नुपर्‍यो । आजभन्दा अगाडि जे भयो, जे गर्‍यौ गर्‍यौ, अब पनि म मात्रै सबै हुँ । मैले जे भन्यो त्यही हुनैपर्छ भन्ने घमण्ड गर्‍यौ भने यो सम्बन्ध एक्लै चल्दैन भनेर सम्झ । निर्णय गर्ने, घमण्ड र जिद्दी गर्ने तिमी मात्र छैनौ, म पनि सँगै छु, अब तिमी एक हैन, हामी दुई छौँ ।’ उनी भन्दै गइन्, ‘एकहातले ताली बज्दैन’, ‘एकोरो रोटी पाक्दैन’, ‘एक रथका दुई पाङ्ग्रा हुन्छन्‌’ भन्ने बुझेका छौ नि ! ‘अँ ! बुझेको छु’, सम्पन्नले उत्तर दियो । ‘विवाहको चक्र र विजुलीको सर्क्युट उस्तै उस्तै हो, हेरन ! मिलाएर फ्युजन गर्न जाने विजुलीले ताप, चाप र प्रकाश दिन्छ, नजाने विष्फोट भएर सारा ध्वस्त हुन्छ । मिलाएर सम्बन्ध राख्नजाने विवाहले पनि हाँसो, खुशी, घरपरिवार, सम्पन्नता दिन्छ, वंश विस्तार गर्छ, नजाने सारा सखाप हुन्छ, सिद्धिन्छ’, समृद्धि भन्दै थिइन् ।
एलिनाले ‘माइजू ! अबेला भयो’ भनेपछि हो त नि ! आमाले ‘छिटो गर्नु’ भनेको सम्झिए र हतार हतार घरतिर लागे ।

शिवपुरी–८, थानापति, नुवाकोट। 
हाल : गोङ्गबुँ, काठमाडौं। 

प्रतिक्रिया दिनुहोस्: