कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

३१ चैत्र २०८१

२०८१ चैत २९, काठमाडौं । साहित्यिक पत्रकार सङ्घको आयोजनामा आनन्द पशुपति होटल, तिलगंगा, काठमाडौंमा भएको एक भव्य कार्यक्रममा कवि एवम् कलाकार नरेन्द्रबहादुर श्रेष्ठ र उहाँकी धर्मपत्नी नीरू श्रेष्ठलाई हार्दिक अभिनन्दन गरियो ।

नेवारी परम्पराअनुसार जङ्कु हुन लागेको अवसर पारेर त्यसको पूर्वसन्ध्यामा आज उहाँहरूलाई अभिनन्दन गरिएको हो । अभिनन्दन गर्ने संस्थाहरूको सङ्ख्या ३८ थिए । सो अवसरमा प्रदान गरिएको अभिनन्दनपत्रको उचाइ अभिनन्दित व्यक्तित्व नरेन्द्रबहादुर श्रेष्ठकै उचाइ बराबर रहेको छ ।

कार्यक्रममा प्रमुख अतिथि पूर्व राजदूत केदारभक्त माथेमा र कार्यक्रम संयोजक एवम् साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली लगायतले श्रेष्ठलाई अभिनन्दनपत्र हस्तान्तरण गर्नुभएको थियो ।

सोही कार्यक्रममा नरेन्द्रबहादुर श्रेष्ठबारे विभिन्न व्यक्तिहरूद्वारा लेखिएका आलेख र उहाँका विभिन्न व्यक्तित्वबारे जानकारी दिने अभिलेख समावेश गरिएको “नरेन्द्रबहादुर श्रेष्ठ : आलेख र अभिलेख” पुस्तकको लोकार्पण पनि भयो । सो ग्रन्थको प्रधान सम्पादक प्रमोद प्रधान र सम्पादकहरूमा श्रीओम श्रेष्ठ “रोदन”, विमल भौकाजी र मुरारी सिग्देल रहनुभएको छ । ग्रन्थमा ८० लेखकका रचना समावेश छन् ।

सोही कार्यक्रममा नरेन्द्रबहादुर श्रेष्ठका जराकलाले सजिएको नयाँ वर्ष २०८२ को क्यालेन्डर पनि लोकार्पण गरिएको थियो ।

यसैगरी सर्वनामद्वारा नरेन्द्रबहादुर श्रेष्ठबारे तयार गरिएको वित्तचित्रको प्रदर्शन पनि गरिएको थियो । यस बित्तचित्रको निर्देशन वरिष्ठ नाट्यकर्मी एवं आख्यानकार अशेष मल्लले गर्नु भएको हो ।

सो अवसरमा प्रमुख अतिथि पूर्व राजदूत केदारभक्त माथेमाले समाजलाई बाटो देखाउने सिर्जनशील व्यक्तिहरूको अभिनन्दन आफैमा महत्त्वपूर्ण कार्य भएको बताउनुभयो । उहाँले श्री श्रेष्ठलाई बधाई ज्ञापन गर्दै उहाँको सिर्जनशील जीवनको कामना गर्नुभयो ।

अभिनन्दित व्यक्तितब नरेन्द्रबहादुर श्रेष्ठले आफ्नो साहित्यिक र कलायात्राको पृष्ठभूमि बताउँदै आजको दिन आफ्नो जीवनको अविस्मरणीय दिन भएको उल्लेख गर्नुभयो । उहाँले आफ्नो जीवनमा आमा र श्रीमती दुवैको महत्त्वपूर्ण योगदान भएको पनि बताउनुभयो ।

अध्यक्षको आसनबाट साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले श्री श्रेष्ठको व्यक्तित्व र योगदानबारे चर्चा गर्दै यो अभिनन्दन उहाँले समाज र देशलाई दिनुभएको योगदानको लागि भएको बताउनुभयो ।

कार्यक्रममा प्रमुख वक्ताका रूपमा रहनुभएका वरिष्ठ समालोचक प्रमोद प्रधानले नेपाली कविता, कला, समाजसेवा र अध्यात्म यी चार क्षेत्रमा नरेन्द्रबहादुर श्रेष्ठको योगदान अविस्मरणीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँलाई नरेन्द्रबहादुर बनाउनमा उहाँकी आमा र धर्मपत्नीको योगदानलाई हामीले बिर्सन हुँदैन ।”

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष कुशकुमार जोशीले आफूले सानोमा नरेन्द्रबहादुर श्रेष्ठबाट कविता सुनेको स्मरण गर्दै आफूले उहाँबाट प्राप्त गरेको प्रेरणाको चर्चा गर्नुभयो ।

वरिष्ठ हास्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठ, ॐ आदि फाउन्डेसनका प्रमुख सल्लाहकार लक्ष्मी प्रसाईंंले पनि अभिनन्दित व्यक्तित्वलाई शुभकामना दिनुभयो । कार्यक्रममा श्रेष्ठका जेठो सुपुत्र निश्चलबहादुर श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रममा सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलले अभिनन्दनपत्र पढेर सुनाउनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि र प्रमुख वक्तासहित सहभागी संस्थाहरू र लेखकहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कवि एवं चर्चित पत्रकार ठाकुर बेलवासेके सहजीकरण गर्नु भएको सो कार्यक्रममा ४०० बढीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: