सरकार हामीले कहिले पाउने हो सुख, शान्त र आनन्दको पोज !

२८ श्रावण २०८१

सधैंको वेथिति
सधैंको अराजकता
सधैंको दुःख र हैरानी
सधैंको कष्ट र वेचैनी
काम गर्नलाई रोजगारी छैन
काम नगरी खान पाइन्न ।
कसैलाई सम्पत्तिमाथि सम्पत्ति
कसैलाई विपत्तिमाथि विपत्ति
जिम्मेवार पद र स्थानमा बस्नेहरू
आफ्नालाई ख्वाउन, फकाउनमै व्यस्त
आफन्तलाई डुलाउन, घुमाउनमै मस्त
गफ र भाषणमा ठूला ठूला कुरा छन्
आश्वासन र फकाइमा चिप्ला कुरा झन् ।
आफ्ना र भरौटे, कुरौटेले जे भन्यो पत्याको छ
सोझासाझा र निमुखालाई नियम कानुनमा लत्याको छ ।
कसैले कसैको कुरा सुन्नु नपर्ने
कसैले कसैलाई मान्नु र भन्नु नपर्ने
सबै मै जान्ने, मै सुन्ने
योजना र कागजी रूपमा गाउँ समाज स्वर्ग छ
करोडौँका योजना सम्पन्न भएका छन्
लाखौँका कामकाज भएका छन्
अब गर्न बाँकी केही छैन
र गर्ने ठाउँ पनि छैन
व्यवहारमा हिड्न सकिने अवस्था छैन
जता जाउँ उतै हिलोधूलो, फोहोर मैला
अशान्त, चोरी, लुटपाट छन्
समाजमा सभ्यता, संस्कार छैन
धर्म, मान्यता र आदर छैन ।
विकास भनेको-
बाटोमा ईंटा छाप्नु
पिच भत्काएर फेरि पिच थप्नु
पिच भत्काएर ढुङ्गा छाप्नु
ढुङ्गा उप्काएर ढलान गर्नु
भवन बनाउनु र पर्खाल लाउनु
पाइप बिछ्याउनु, पाइप झिक्नु
पोल गाड्नु, पोल सार्नु
यस्तै यस्तै आदि आदि छन् ।
विकासको नाउँमा विनाश भित्रिएको छ भने हुन्छ समाजमा
मानवीय व्यवहार, संस्कार र चेतनामा कुनै सुधार छैन
भाषा, साहित्य र कलामा कुनै उदार छैन
शिक्षा र स्वास्थ्यमा लुट छ
देख्ता सबै ठाउँमा छुट छ
गरिब, दुःखीलाई जहाँ पनि भुट छ
पद, पैसा र पहुँचलाई जहाँ पनि मोज
सोझा, सिधा र निमुखालाई सधैंको शोच
सरकार हामीले कहिले पाउने हो
सुख, शान्त र आनन्दको पोज !

प्रतिक्रिया दिनुहोस्: